काठमाडौं । डेढ वर्षअघि खानेपानीमन्त्री बिना मगरले नेपालको पानी कतारमा निर्यात गर्ने भन्दा धेरैतिरबाट आलोचना खेपिन् । सामाजिक सञ्जालदेखि प्रमुख प्रतिपक्ष दलका नेताले असंभव कुरा गरेको भनेर आलोचना गरे । सत्तापक्षका नेता तथा केहीले मन्त्रीको प्रशंसा पनि गरे ।
उनले आफ्ना हरेक कार्यक्रम र भाषणमा पानी निर्यातको योजना शायद छुटाइनन् । किनकी, वि.सं २०७५ चैत १९ मा कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपालको स्वच्छ पानी पिउन कतारी जनता आतुर रहेको भेटमा बताएका थिए । राजदूतसँगको भेटमा मन्त्री मगरले पनि पानीका स्रोतको खोजी गरेर स्प्रीङ वाटर कतार निर्यात गर्न इच्छुक रहेको बताएकी थिईन ।
त्यतिबेला नै पानी निर्यातका लागि छिट्टै विस्तृत अध्ययन अघि बढाउने र दुबै देशबीच सम्झौताको मस्यौता तयार पार्ने सहमति पनि भयो । त्यसयता पानी निर्यातका लागि न कुनै पहल भयो न कुनै उपलव्धि नै । पानी कतार निर्यात गर्ने मन्त्री मगरको योजना अहिले अलपत्र परेको छ ।
एक वर्षभित्रै विस्तृत अध्ययन र दुई देशबीच मस्यौदा बनाएर पानी निर्यात गर्ने लक्ष्य लिइए पनि डेढ वर्ष बित्दा पनि ठोस उपलव्धि हुन सकेको छैन् । पानी निर्यातका लागि मन्त्रालयले खानेपानी तथा सरसफाई ऐन संसदमा पेश गरेको छ । त्यो ऐन संसदमा विचाराधीन छ ।
त्यो स्वीकृत भएर आएमा मात्रै पानी निर्यातका लागि थप प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उक्त ऐनमा पानीको व्यवसाय गर्न सकिने व्यवस्था समेटिएको छ ।
अहिलेसम्म मन्त्रालयले पानी निर्यातका लागि समन्वयका काम गरेको उनी बताउँछन् । तर, पानी निर्यात गर्ने जिम्मेवारी उद्योग मन्त्रालय अन्र्तगत पर्ने भन्दै उनी पन्छिए । पानी निर्यात गर्न कम्पनी दर्ता भइ आउनुपर्ने हुन्छ । कम्पनी ऐन अन्र्तगत दर्ता भएर आएका जुनसुकै कम्पनीले नेपालको पानी विदेश निर्यात गर्न सक्छन् ।
‘खाडी मुलुकका केही राजदूत नेपाल आउनुभएको बेलामा मन्त्रीज्यूसँग भएको छलफल अनुसार हामीले त्यसलाई समन्वयन गरिदिएको अवस्था हो । ऐन स्वीकृत भएर आएपछि एउटा उपाय दिन्छ’ शाक्यले भने, ‘त्यसबाहेक अरु निकाय जिम्मेवारी पनि छन । खाली, मन्त्रालयले समन्वय मात्रै गर्ने हो ।’
यता, अन्तर मन्त्रालयलगत समन्वयन नहुँदा पानी निर्यातको प्रक्रिया अन्योलमा परेको छ । उद्योग मन्त्रालयले स्प्रीङ वाटर निर्यातका लागि के गरिरहेको छ भनेर उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई सोध्दा उनले यससम्वन्धी प्रक्रिया र तयारी भइरहेको बताए ।
‘हामी स्प्रीङ वाटर उत्पादन गर्ने उद्योगी वा लगानीकर्ता खोजिरहेका छौं । त्यो ठूलो लगानीको काम हो । स्प्रीङ वाटरको माग अन्तर्राष्ट्रिय देशमा धेरै ठूलो मात्रामा छ’ उनले भने, ‘हामीले ‘पोलिसी’ मा यो व्यवस्था राखेर स्प्रीङ वाटर निर्यात गर्न समन्यात्मक कामहरु पनि गर्दैछौं ।’
देशमा खेर गइरहेको पानीको स्रोतबाट स्पीङ वाटरमार्फत शुद्ध पिउने पानी प्रशोधन गरी निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको मन्त्री दुगडको भनाइ छ । अहिले कतारसहित अन्य धेरै देशहरुबाट पनि नेपालको पानी लिनका लागि प्रस्ताव आइरहेको उनको भनाइ छ ।
स्प्रीङ वाटर उत्पादन गर्ने लगानीकर्ता स्वदेशमै खोज्ने कि विदेशबाट ल्याउने भन्ने अन्योलता पनि देखिन्छ । किनकी, नेपालमा ठूला नदीमा अथाह पानी खेर गइरहेको छ ।
जलस्रोतको धनी देशकै हिसावले विदेशमा पानी निर्यात गर्ने योजना बनाउनु र निर्यात नै गर्नु नाजायज पक्कै छैन् । यसले नेपालको अर्थतन्त्रलाई माथि उकास्न पनि सहयोग नै पुर्याउने छ । तर, चर्चाका लागि मात्रै योजना घोषणा गर्ने र कार्यान्वयनमा इच्छाशक्ति नदेखाउने प्रवृत्तिले नजिता दिँदैन् ।
देशको मुख्य स्रोत पानी नै भएकाले मन्त्री मगर अघि सारेको योजना तदारुकताका साथ अघि बढाउनुपर्छ । यसका लागि नीति तथा ऐन छिट्टै बन्नुपर्छ । अन्तर मन्त्रालयगत समन्वयन हुनु जरुरी छ ।