काठमाडौं । नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अत्याधिक रुचाइएको र माग हुने निर्यात योग्य वस्तु हो । जति बढी कफीको माग छ त्यसअनुसार मूल्य पनि विदेशमा राम्रै छ । तर, त्यसबाट नेपालले सोचेजस्तो लाभ लिन भने सकेको छैन । कारण, कफीको उत्पादन न्युन हुनु हो ।
नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार, विश्व बजारमा नेपाली कफीको माग झण्डै ८ हजार मेट्रिक टन रहेको अनुमान छ । नेपालमा कफी उत्पादन भने निकै कम ५३० मेट्रिक टन मात्रै छ । जुन उत्पादनले स्वदेशमै पुग्दैन ।
बोर्डको पछिल्लो तथ्यांकअनुसार, उत्पादित कफीमध्ये ८४ मेट्रिक टन मात्रै निर्यात हुन्छ । विदेशमा नेपाली कफीको आकर्षण बढेको छ । कफीको मूल्य पनि बढी नै छ । विश्वबजारमा नेपाली कफी प्रति किलोग्राम १२ अमेरिकी डलर (करिब १४ सय नेपाली रुपैया) मा बिक्री हुने गरेको बोर्डले जनाएको छ ।
कफी निर्यातबाट आर्थिक वर्ष २०७५०७६ मा नेपालले झण्डै १० करोड रुपैयाँ मात्रै आम्दानी गर्यो । नेपालले विश्व बजारको माग अनुसार उत्पादन र निर्यात गर्न सकेमा झण्डै ९ अर्ब रुपैयाँ कफी निर्यातबाट मात्र आम्दानी गर्न सक्ने बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेल बताउँछन् ।
नेपाली बजारमा भने स्वदेशी अग्र्यानिक कफी भन्दा विदेशबाट आयात गरिएको प्रशोधित कफीको खपत बढी हुने उनको भनाई छ । आर्थिक बर्ष २०७५/०७६ मा विदेशबाट १ हजार २६२ मेट्रिक टन कफी आयात भएको देखिन्छ । यो स्वदेशी उत्पादनको खपतदर भन्दा झण्डै दोब्बर हो ।
नेपाली उत्पादन गुणस्तरीय र केही महंगो पनि हुने भएकाले विदेशमा बढी माग रहेको व्यवसायीहरु बताउछन् । उच्च भू भागमा उत्पादन हुने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा छुट्टै ब्राण्ड स्थापित छ । अन्तर्राष्ट्रिय माग अनुसार उत्पादन भने ज्यादै न्यून छ ।
बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/०७२ मा २ हजार ३८१ हेक्टर क्षेत्रफलमा ४६३ टन कफी उत्पादन भएको थियो । त्यस्तै, आव २०७२/०७३ मा कफी उत्पादनको क्षेत्रफल विस्तार भएर २ हजार ६१८ हेक्टर पुग्यो । उक्त अवधिमा ४३४ टन कफी उत्पादन भएको थियो ।
त्यसैगरी, आव २०७३/०७४ मा २ हजार ६४६ हेक्टर क्षेत्रफलमा ४६६ टन कफी उत्पादन भएको थियो । आव २०७४/०७५ मा उत्पादन बढेर ५१३ मेट्रिक टन पुगेको छ । उक्त बर्ष २ हजार ७६१ हेक्टर जमिनका कफी खेती गरिएको थियो ।
नेपालमा झन्डै १२ लाख हेक्टर क्षेत्रफलमा कफी खेती गर्न उत्तम देखिएको छ । अहिले त्यसको करिब एक तिहाई अर्थात २ हजार ७६१ हेक्टर जमिनमा मात्रै कफी खेती गरिएको छ । त्यसमध्ये ६५ हजार हेक्टरमा उच्च गुणस्तरको कफी उत्पादन हुने बोर्डले जानकारी दिएको छ ।
स–साना किसानले परम्परागत पद्धति र जमिनको सानो क्षेत्रफलमा कफी खेती गर्दा अपेक्षित उत्पादन हुन नसकेको बोर्डले जनाएको छ ।
स्वदेशी कफीको मूल्य राम्रो भएको कारण निर्यातबाट भएको कमाई बढी छ । तुलनात्मक रुपमा हेर्ने हो भने ८४ मेट्रिक टन कफीको निर्यातबाट झन्डै १० करोड रुपैयाँ आम्दानी हुन्छ । विदेशबाट १२ सय मेट्रिक टनभन्दा आयात गर्दा झन्डै ९ करोड खर्च हुने गर्छ । अर्थात विदेशबाट आयात हुने कफी निकै सस्तो छ ।
नेपालमा कफी उत्पादनयोग्य क्षेत्रको पहिचान र क्षेत्र विस्तार हुन नसक्दा किसानले स–सानो जग्गामा व्यक्तिगत तरिको उत्पादन गरिरहेका छन् । सोही कारण हरेक वर्ष कफी उत्पादन खुम्चिदै गएको छ ।
सरकारी चासो त्यति नहुनु, लगानीकर्ता नआउनु, क्षेत्र विस्तार हुन नसक्नु, परम्परागत खेती र सरोकारवालाको भूमिका व्यक्तिगत लाभका लागि मात्रै केन्द्रीत हुँदा कफी उत्पादनमा वृद्धि र प्रवद्र्धन हुन नसकेको बताउँछन्, उपनिर्देशक पोखरेल । कफी उत्पादन गर्ने तरिका, विधि, फाइदा, सम्भावना, तालिम लगायतका कुरामा पर्याप्त मात्रमा किसानमा जानकारी नहुँनु पनि अर्को समस्या रहेको पोखरेलले बताए ।
नेपाली कफी जर्मन, स्वीजरल्यान्ड र कोरियामा संस्थागत रुपमा निर्यात हुने गर्छ । त्यसबाहेक अमेरिका, क्यानडा र अष्ट्रेलियालगायतका देशमा समेत नेपाली कफी निर्यात हुने गर्छ ।
अहिले नेपालको १९ ओटा जिल्लामा कफीको व्यवसायीक उत्पादन हुँदै आइरहेको छ । समुन्द्री सतहदेखि ८०० देखि १६०० मिटरको उचाइमा कफी उत्पादन गर्न सकिन्छ ।