काठमाडौं । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुपले नेपालमै टिभिएस मोटरसाइकल, स्कुटर तथा थ्री ह्वीलरको उत्पादन सुरु गरेको छ ।
नेपालमा टिभिएस बाइक तथा स्कुटर र थ्री ह्वीलरको मागर बजार बढ्दै गएपछि व्यावसायिक घराना शंकर ग्रुपले सिमरामा एसेम्बल्ड प्लान्ट राखेर उत्पादन सुरु गरेको हो । पछिल्ला केही वर्षयता टिभिएस मोटरसाइकल र स्कुटरमा युवा युवतीको ‘क्रेज’ अत्यधिक बढ्दै गएपछि नेपालमै एसेम्बल्ड फ्याक्ट्री खोलिएको ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए ।
‘हाम्रो प्लान्टबाट मोटरसाइकल उत्पादन सुरु भएको छ । त्यसैगरी, स्कुटर र थ्री ह्वीलरको पनि केही समयभित्रै उत्पादन सुरु गर्ने तयारी छ,’ उनले भने, ‘मोटरसाइकल, स्कुटर र थ्री ह्वीलर गरी हामीसँग तीन ओटा लाइन छ । त्यसमध्ये अहिले मोटरसाइकलको उत्पादन सुरु भइसकेको छ ।’
कम्पनीले १ अर्ब रुपैयाँ लगानीमा उक्त फ्याक्ट्री लगाएको हो । यदि देशका विभिन्न ठाउँमा निषेधाज्ञा नभएको भए कम्पनीले नेपालमै उत्पादित मोटरसाइकल आफ्नो डिलरमा पठाइसक्थ्यो । तर, अहिले आवत–जावतमा समस्या भएकाले उत्पादन गरेर फ्याक्ट्रीमै राखिएको अग्रवालले जानकारी दिए ।
उनका अनुसार, तीनओटा लाइनमध्ये अहिले मोटरसाइकलको लाइन पुनः सञ्चालन भएको छ । उद्योगले बार्षिक रुपमा एक लाख थान मोटरसाइकल तथा स्कुटर बनाउन सक्छ ।
त्यसैगरी, १० हजार थान थ्री ह्वीलर बनाउन सक्ने क्षमता उद्योगसँग छ । सरकारले मोटरसाइकल तथा स्कुटरको एसेम्बल्ड प्लान्ट लगाउनेलाई खासै सुविधा दिएको छैन । मोटरसाइकल तथा स्कुटरमा लाग्ने अन्तः शुल्कमा २५ प्रतिशत मात्रै छुट छ ।
त्यसैगरी, गाडी र थ्री ह्वीलरमा ५० प्रतिशत छुट दिएको छ । मूल्य अभिवृद्धि गरेपछि सरकारले २५ प्रतिशत छुट दिने भनेको छ । सरकारले दिएको सुविधाले बाइकको मूल्यमा खासै अन्तर पर्दैन । किनभने, बाइकको मूल्यमा डेढदेखि २ प्रतिशत मात्रै सस्तो पर्न आउँछ । तर, अगामी दिनमा यो सुविधालाई बढाउँदै लैजान्छ भन्ने आशमा उद्योग लगाएको अग्रवाल बताउँछन् ।
नेपालमा एसेम्बल्ड प्लान्ट लगाउँदा तत्कालै एक सय जनाभन्दा बढी इन्जिनियर तथा दक्ष जनशक्तिले रोजगारी पाउँछन् । गुणस्तरमा सम्झौता गर्न सकिने भएकै कारण एसेम्बल्ड प्लान्टमा दक्ष जनशक्ति चाहिने र त्यसका लागि कम्पनी आफैले तालिम समेत दिने गर्छ । कम्पनीले थ्री ह्वीलर र स्कुटर गरेर ५ सय जनालाई रोजगारी प्रदान गर्न सक्छ ।
बाइक तथा स्कुटरको गुणस्तर हेर्ने, प्रडक्सन लाइन हेर्ने, तालिम दिने व्यक्तिहरु टिभिएसमै काम गरेका छन् । त्यसबाहेक अन्य कामदारहरु नेपाली छन् । टिभिएस भारतको ‘गाइडेन्स’मा नेपालको उत्पादन भएको बाइकको गुणस्तर परीक्षण हुन्छ ।
सरकारले प्रोत्साहन गरेको अवस्थामा धेरै एसेम्बल्ड प्लान्ट लाग्न सक्छन् । भारतमा पनि सुरु—सुरुमा होण्डा, यामाहा लगायतका कम्पनीहरु कम्प्लिट नक्ड डाउन (सीकेडी)बाट आएका हुन् । त्यसपछि, उनीहरुले विस्तारै टेक्नोलोजी डेभलप हुँदै जान्छ र त्यही फ्याक्ट्री लगाए । यहाँ पनि त्यो सम्भावना छ ।
सरकारले टु ह्वीलर, थ्री ह्वीलर तथा फो ह्वीरलाई थप प्रोत्साहन गर्ने नीति लिएमा त्यसमा प्रयोग हुने प्लास्टिकका सम्पूर्ण पार्टहरु यही बनाउन सकिन्छ । टायरको उद्योग लाग्न सक्छ । त्यसैगरी, पेन्ट सप पनि यही लाग्न सक्छ ।
अग्रवालका अनुसार, विस्तारै एउटा बाईक बनाउन चाहिने सम्पूर्ण उद्योग यही लगाउन सकिन्छ । तर, यसमा सरकारले कसरी अघि लिएर जान्छ, त्यसैमा भर पर्ने उनको भनाइ छ ।