काठमाडौं । गत चैत ११ गतेदेखि मुलुक बन्दाबन्दी(लकडाउन सुरु भएदेखि अहिलेसम्म सार्वजनिक यातायात ठप्प छ । लामो दूरीको सार्वजनिक यातायात नचल्दा सवैभन्दा ठूलो पिर यातायात व्यवसायी परेको छ ।
विगत ५ महिनादेखि यातायात व्यवसायीका गाडी ग्यारेज थन्किएका छन् । यातायात खुलेपनि तत्काल सञ्चालन गर्न सक्ने वातावरण छैन । किनकी, लामो समयसम्म ग्यारेजमा थन्किएका गाडीमा खिँया लाग्ने, पार्टजपूर्जा बिग्रने, टुटफुट भएकाले ती गाडीको मर्मत सम्भार गर्नुपर्छ ।
एक व्यवसायीका अनुसार, ग्यारेजमा थन्किएको एउटा गाडी सञ्चालन गर्न मर्म खर्चबापत ५० हजार देखि १ लाख रुपैयाँसम्म हुन जान्छ । यतिमात्रै होइन, लामो समय गाडी सञ्चालन गर्न नसक्दा व्यवसायीलाई बैंकको ऋण, ब्याज, घरभाडा तथा आफ्नो खर्च समेत चलाउन सकेको छैनन् ।
बैंकले ऋणको साँवा र ब्याजका लागि तारन्तार फोन गरेर व्यवसायीलाई ‘फ्रस्टेड’ बनाइरहेको अवस्था छ । गाडी सञ्चालन नभएपछि यातायात व्यवसायीको अरु उपाय नै छैन् ।
बैंकले ऋण तिर्न आउन ताकेता गरेर तनाब दिन थालेपछि केही यातायात व्यवसायी फोन नै स्वीच अफ गरेर बसेका छन् । यातायात व्यवसायीले बैंकबाट ऋण लिएर गाडी किनेका हुन्छन् । उनीहरुले गाडी चलाएर प्राप्त आम्दानीबाट नै गाडीको किस्ता तिर्दै आएका थिए । कोरोना महामारीका कारण बन्दाबन्दी भएपनि न यातायात व्यवसायीले बैंकको किस्ता तिर्न सकेका छन्, न त घरभाडा नै तिर्न सकेका छन् ।
यातायात सञ्चालन नहुँदा लाखौं यातायात मजदूर तथा कर्मचारीको रोजीरोटी गुमेको छ । यसअघि राहत प्याकेजको आसा गरेका यातायात व्यवसायी सरकारदेखि नै निराश छन् ।
अहिले पनि यातायात व्यवसायीले यातायात क्षेत्रलाई पनि कोरोनाबाट अति प्रभावित क्षेत्रमा राख्न सरकारलाई दबाब दिइरहेका छन् । लामो समय गाडी ग्यारेजमा थन्किँदा अब मर्मत खर्च कहाँबाट जुटाएर गाडी पुनः सञ्चालन गर्ने अर्को पिरलो परेको छ यातायात व्यवसायीलाई ।
देशैभरी कोरोना संक्रमण बढेपछि तत्काल लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने मनस्थितिमा सरकार छैन् । निषेधाज्ञा हप्तैपिछे लम्बिदै जादाँ यातायात व्यवसायीलाई चिन्ता माथि चिन्ता थपिएको छ ।
सरकारले पटक पटक सार्वजनिक यातायात सञ्चालनको भाका सार्दै आएको छ । भदौ १६ बाट सञ्चालन हुने भनिएका सार्वजनिक यातायात असोज १ गतेबाट चल्न दिने सरकारको निर्णय छ । तर, व्यवसायी सरकारको निर्णयप्रति विश्वस्त छैनन।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला सार्वजनिक यातायातमा परेको असरलाई सरकारले गम्भीर रुपमा नहेरेको बताउँछन् ।
सार्वजनिक यातायात ठप्प हुँदा सवैभन्दा थलिएको क्षेत्र यातायात क्षेत्र रहेको उनी बताउँछन् । देशभर हजारौं गाडी ग्यारेजमा हुँदा यातायात व्यवसायीले बैंकको ब्याज, साँवा, घरभाडा र अन्य खर्च तिर्न निकै अप्ठ्यारो परेको दुखेसो उनको छ ।
‘स्वरोजगार मजदुरहरुको बाहुल्यता रहेको यो व्यवसाय ५ महिनासम्म बन्द छ, पुन संक्रमण बढेकै कारण उपत्यका लगायतै लामो दूरीका सार्वजनिक सवारी खुल्न असोज एक गतेसम्म कुनुपर्ने अवस्था छ,’ उनले भने, ‘राज्यले दिनसक्ने अधिकतम् सुविधा कोभिड—१९ प्रभावितका रुपमा हामीले पनि पाउनुपर्छ ।’
तस्विरहरूः नाजिया श्रेष्ठ