न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाको कच्चा तेल सञ्चिति घटेको खबरले बुधवार तेलको भाउलाई टेवा दिएको हो ।
सर्वेक्षणहरुले विश्वभर म्यानुफ्याक्चरिङ गतिविधिमा उच्च वृद्धि देखाएसँगै कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पुनर्बहाली भइरहेको संकेतले पनि बजारले टेवा पाएको हो । अमेरिकी पेट्रोलियम इन्ष्टिच्यूटले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको कच्चा तेल सञ्चिति ६४ लाख ब्यारेलले घटेको छ ।
यो कमी प्रक्षेपण गरिएभन्दा धेरै हो । सो अवधिमा तेल सञ्चिति १९ लाख ब्यारेलले मात्रै घट्ने अनुमान गरिएको थियो । हालै सार्वजनिक भएका सर्वेक्षणहरुले अगष्टमा विश्वभर म्यानुफाक्चरि गतिविधि बढेको देखाएका थिए ।
लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बुधवार ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव ७ प्रतिशतले बढेर ४५ डलर ८९ डलरमा उक्लिएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित ४३ डलर शून्य ४ सेन्टमा उक्लिएको थियो ।
‘लगानीकर्ताहरुमाझ आशाका केही किरण देखिएको छ, तर यो किरण कुनै पनि क्षण ध्वस्त हुन पनि सक्छ,’ तेल ब्रोकर कम्पनी पीभीएमका स्टेफन ब्रेनकले भने । हालैका दिनमा तेलको भाउमा सुधार आएको छ ।
अप्रिलमा २१ वर्षकै न्यून विन्दु प्रतिब्यारेल १६ डलरमा झरेको ब्रेन्ट क्रुडको भाउ पछिल्लो समय ४५ डलर आसपास रहेको छ । त्यति बेला अमेरिकी कच्चा तेलको भाउ ऋणात्मक रहेको थियो ।
यद्यपि, पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र रुस लगायत ओपेक बाहिरका अन्य प्रमुख तेल उत्पादकहरुले गरेको ऐतिहासिक उत्पादन कटौतीका कारण तेलको भाउले टेवा पाएको छ । एजेन्सी