काठमाडौं । चार्टर्ड उडानमा चर्को शुल्क लिएको भन्दै एयर अरेबियालाई कारबाही गरिएको छ । कारबाही स्वरुप १४२ जना यात्रुको रकम फिर्ता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् ।
२५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएको अरेबियाले १४२ जना पिसिआर गरेको, १८ जना आरडिटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले सवै यात्रुबाट होटल खर्च उठाएको तर, पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्न समेत चेतावनी दिएका छन् ।
बुधबार पर्यटन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा एयर अरेबियालाई कारबाही गर्ने निर्णय भएपनि अन्य गुनासा आएका एयरलायन्सहरु र ट्राभल एजेन्सीहरुलाई भने कुनै निर्णय गरिएको छैन ।
पर्यटन मन्त्रीकै निर्देशनमा मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा बनाएको छानविन समितिले रिपोर्ट बुझाएपनि हालसम्म सार्वजनिक गरिएको छैन । अहिलेपनि निश्चित एजेन्सीहरुले मात्र कार्टेलिङ गरी यात्रुहरुलाई महंगोमा टिकट बेचेको आरोपहरु आइरहँदा यससम्बन्धी पर्यटन मन्त्रालय र पर्यटन मन्त्री मौन देखिएका छन् ।
मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाईन्सहरुले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैर आवासीय नेपाली संघसँग (एनआएन)आग्रह मात्र गरेका छन् ।
बैठकले हवाई भाडादरमा कालोबजारी,अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्वन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने, नियमित उडानमा बजेट एयरले अन्य एयरलाईन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने,चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेका छ ।