नयाँ दिल्ली (भारत) । भारतको अर्थतन्त्रमा पुनर्बहाली आउने केही समय लाग्ने विशलेषकहरुले बताएका छन् । यस वर्षको दोस्रो त्रैमासमा अर्थतन्त्र यसअघि अनुमान गरिएभन्दा निकै धेरै खुम्चिएपछि पुनर्बहालीका लागि अनुमान गरिएभन्दा बढी समय लाग्ने बताइएको हो ।
सोमवार त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ)ले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल–जुन त्रैमासमा अर्थतन्त्र करीब २४ प्रतिशतले खुम्चिएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्धका उपभोक्ता खर्च, निजी लगानी र निर्यात लगायत सबै क्षेत्र ध्वस्त भएका थिए । पछिल्लो कमीसँगै अर्थतन्त्र सन् १९८० यता पहिलो वार्षिक संकुचनतर्फ उन्मुख भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा गत त्रैमासमा अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चिएको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणले भने सो अवधिमा अर्थतन्त्र १८ दशमलव ३ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको थियो ।
पछिल्लो तथ्यांकले यसले महामारीपछि अर्थतन्त्रको वास्तविक अवस्था उजागर गरेको छ । अर्थतन्त्रमा आएको यो कमी स्न १९९६ मा भारतले त्रैमासिक तथ्यांक राख्न थालेयताकै उच्च हो ।
भारतीय अर्थतन्त्रमा आएको यो कमी विश्वका प्रमुख अर्थतन्त्रमध्ये सबैभन्दा खराब हो । जुन त्रैमासमा अमेरिकी अर्थतन्त्र साढे ९ प्रतिशतले खुम्चिएको थियो भने जापानी अर्थतन्त्रमा ७ दशमलव ६ प्रतिशतको कमी आएको थियो ।
समीक्षा अवधिमा तीव्र कमी आउने क्षेत्रमा निर्माण, म्यानुफ्याक्चरिङ र यात्रा उद्योग रहेका छन् । महामारी शुरु हुनु अघि नै आर्थिक वृद्धिदर सुस्ताउन थालेको थियो ।
समीक्षा अवधिमा व्यापार, होटल र यातायात क्षेत्र ४७ प्रतिशतले खुम्चिएको छ । म्यानुफ्याक्चरिङ र निर्माण क्षेत्रमा पनि ३९ दशमलव ३ प्रतिशतको कमी आएको छ । समीक्षा अवधिमा कृषि क्षेत्र मात्रै उज्जवल देखिएको छ । दोस्रो त्रैमासमा कृषि क्षेत्र ३ दशमलव ४ प्रतिशतले बढेको छ ।
हालैका दिनमा कीर्तिमानी स्तरमा पुगेको दैनिक कोरोना संक्रमितको संख्याले आर्थिक पुनर्बहाली थप पछाडि धकेल्ने चिन्ता अर्थशास्त्रीहरुले गरेका छन् ।
भारतमा संक्रमितको मृत्यु दर न्यून रहेको भएपनि संक्रमितको संख्या भने दैनिक रुपमा विश्वभरमै सबैभन्दा उच्च संख्याले बढिरहेको छ । यद्यपि, भारतीय अर्थतन्त्रमा भी–आकारको पुनर्बहाली हुने अर्थमन्त्रालयका प्रमुख अर्थशास्त्री कृष्णमूर्ति सुब्रमन्यिनले बताएका छन् । रेल भाडा, ऊर्जा खपत र कर संकलनमा भएको वृद्धिसँगै आगामी त्रैमासमा अर्थतन्त्रले राम्रो प्रदर्शन गर्ने आशा समेत उनले व्यक्त गरेका छन् ।
यद्यपि, निजी क्षेत्रका केही अर्थशास्त्रीहरुले भने अप्रिलमा शुरु भएको चालू आर्थिक वर्षमा अर्थतन्त्र करीब १० प्रतिशतले खुम्चने बताएका छन् । यो संकुचन सन् १९४७ मा भारतले बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्रता हासिल गरेयताकै खराब हुनेछ ।
यसले लाखौं मानिसहरुलाई गरीबीको रेखामुनि धकेल्ने समेत उनीहरुको भनाइ छ । यस्तोमा थप स्टिमुलस र ब्याजदर कटौतीका लागि केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)माथि दबाब बढ्ने अनुमान गरिएको छ । एजेन्सी