काठमाडौं । मुलुक यतिबेला कोरोना भाइरस महामारी विरुद्ध लडिरहेको छ । महामारी कारण पूर्वाधार तथा विकास निर्माणका धेरै आयोजनाहरुका काम प्रभावित भइरहेका छन् । यसबीचमा कतिपय विकासे आयोजना तथा पुनर्निमाणका कामले गति लिइरहेका छन् । त्यसमध्ये एक हो, राजधानीको ऐतिहासिक धराहरा पुनर्निमाण ।
कोरोना नियन्त्रण गर्न गत चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दी(लकडाउन) भयो । त्यतिवेला धराहरा पुनर्निमाणमा कार्यरत धेरै कामदार गाउँ गए । सीमित जनशक्तिबाट धराहराका केही काम अघि बढे । बैशाखपछि सरकारले विकास निर्माण तथा पुनर्निमाणका काम सुरक्षा मापदण्ड अपनाएर अघि बढाउन निर्देशन दियो । त्यसपछि धराहरा पुनर्निमाणले गति लिएको हो ।
त्यसयता धरहराको पुननिर्माणको काम जारी छ । अरु पुननिर्माणका आयोजनाको तुलनामा धरहराको कामले गति लिएको छ ।
लकडाउनका बेला भन्दा पछिल्लो समय धेरै कामदार धराहरामा निर्माणमा परिचालन गरिएका छन् । अहिले धराहराको १३ औं तलासम्म ढलान पूरा भएको छ ।
मोटरसाइकल तथा कार पार्किङ, संग्राहलय लगायतका काम धमाधम भइरहेका छन् । धराहराको अहिलेसम्म समग्र भौतिक प्रगति ४२ प्रतिशत भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्वसहसचिव तथा इन्जिनियर राजुमान मानन्धरले बताए ।
लकडाउनमा ४० जनामा सीमित कामदारबाट धरहराको निर्माण अघि बढेपछि अहिले निषेधाज्ञाको समयमा ३०० जनाले धरहरा निर्माणको काम गरिरहेको मानन्धरले बताए ।
५ अर्ब रुपयाँ सुरुवाती लागत अनुमान गरिएको छ । लागत र समय बढ्न सक्ने प्राधिरकरणले जनाएको छ । स्थानीय विवाद, हुलाकको भवन हटाउनुपर्ने र अन्य कारणले लागत र समय केही बढ्ने मानन्धर बताउँछन् ।
सुनधारामा रहेको हुलाकको भवन पनि सार्दा थप लागत बढ्न गयो । सुरुमा हुलाक सजिलैसँग हट्छ भन्ने सोचे पनि त्यसअनुसार सजिलो भएन् ।
हुलाककोको जग्गा र भवन निर्मााणका लागि आयोजनाले नै खर्च व्यहोर्नु परेको छ । वाणिज्य विभाग रहेको परिररभित्र जग्गा लिएर हुलाकको कार्यालय व्यवस्थापन गर्दा ८ करोड रुपैयाँ थप खर्च भएको मानन्धर बताउँछन् ।
नेपाल औषधी लिमिटेडको भित्र टक्सारलाई सार्नुपर्यो, यो सबै खर्च पुनर्निमाण प्राधिकरणले नै गरेको छ । लकडाउन र अन्य कारणले तोकिएको समय सन् २०२० अक्टोबर ६ भित्र सम्पन्न हुन नसक्ने मानन्धर बताँछन् ।
धरहरा पुननिर्माण सम्पन्न गर्न केही समय थप लाग्ने देखिन्छ । निर्माण व्यवसायीले राष्ट्रिय पुननिर्माण प्राधिकरणमा एक वर्ष म्याद थपका लागि निवेदन दिइसकेका छन् । कति समय थप्ने भन्ने बारेमा निर्णय भइसकेको छैन् ।
धरहराको स्वरुप र प्राचीनशैलीलाई कायम राख्दै आधुनिक धरहरा बनाउन लागिएको छ । भूकम्प प्रतिरोधी, कलात्मक शैली, अग्लो र विभिन्न संरचनासहित आधुनिक धरहरा बन्ने विश्वास लिइएको छ । अन्तर्राष्ट्रिय कलात्मक ढंगले धरहरा निर्माण भइरहेको छ ।
गत २०७२ बैंशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भीमसेन थापाले बनाएको धरहरा बिनाश भएको थियो । यसअघि ९ तलेको धरहरा अहिले २२ तलामा निर्माण हुँदैछ ।