बीबीसी । भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतबार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन्।
यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो।भारतमा भएको झन्डै ६३ हजारजनाको मृत्यु करिब मेक्सिकोको बराबर हो।
तर भारतको ३५ लाख सङ्क्रमणको तुलनामा उक्त मध्य अमेरिकी राष्ट्रको सङ्क्रमण पाँच लाख ९१ हजार मात्र छ।
दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमशः हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो।
आइतवार विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड १९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४३ हजार पुगेको छ।
जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख सङ्क्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ। धेरै ग्रामिण क्षेत्रमा कोभिड१९ वृद्धिको क्रम देखिनु यतिखेर मुख्य सरोकार बनेको छ।
मुटुरोग विशेषज्ञ मनोज कुमारले समाचार संस्था रोयटर्सलाई भने, यस्तो उच्च वृद्धि देखिनुको कारण सङ्क्रमण ग्रामिण भेगमा फैलिनु हो। कोभिड(१९ को महामारी सुरु हुँदा भारतको अवस्था ठिकठिकै थियो। त्यसबेला कडा लकडाउन गरिएको थियो।
तर भाइरस साना सहर वा गाउँमा फैलनुअघि मुम्बई र दिल्लीजस्ता ठूला सहरमा देखिन थाले। अर्को महिनाबाट मास्क र सामाजिक दूरी कायम राख्दै एक सयजनासम्म भेला हुन पाइने सांस्कृतिक, मनोरञ्जन र खेलकुदका गतिविधि सञ्चालन हुने छन्।
मेदान्त डिभिजन अफ पेरिफेरल भास्कुलर एण्ड इन्डोभास्कुलर साइन्सेजका अध्यक्ष डा. राजिव परेखले रोयटर्सलाई भने, सङ्क्रमितको सङ्ख्या घट्दा, जुन घटेको पनि थियो, मानिसहरूले युद्ध जितेझैँ ठाने‘ सबैजना मास्क नलगाएर अनि सामाजिक दूरी कायम नराखी बाहिर आउन थालेका थिए। त्यसो गर्न दिइनु हुँदैनथ्यो।