भदौ १४, काठमाडौं । कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असंगठित क्षेत्रका मजदूर निषेधाज्ञा शुरु भएसँगै पुन : सडकमा आउन थालेका छन् ।
बजार सबै बन्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा आउनु परेको मजदूरको दुखेसो छ । काठमाडौंको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै ५०० देखि ७०० मजदूर खाना कै लागि भेला हुने गरेका छन् ।
ज्याला मजदूरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महीनादेखि बेकामे रहेका छन् । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाएनन् । बन्दाबन्दी हट्दा ज्याला मजदूरीले जेनतेन खानसम्म पुगेको थियो । निषेधाज्ञा भएपछि भने फेरि पहिले झैं भोकभोकै बस्नुपर्ने अबस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताए । उलने भने, ‘हामीलाई काम गर्न देउ, गरेर खान्छौं ।’
उनीहरुलाई हन्ड्रेड ग्रूपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदूर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन् । उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त ग्रूपका संस्थापक अंशु यादवले बताए ।
उनका अनुसार रत्नपार्कमा झण्डै ७०० जनालाई खाना खुवाउने गरिएको छ । ‘विगतमा २०० देखि ३०० आउँथे, अहिले बढेर ६०० देखि ७०० पुगेका छन्’, यादवले भने, ‘चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।’ विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उनले बताए ।
सडकमै भेटिएका होटल मजदूर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने (कुक) उनी होटल बन्द भएपछि कामविहिन भए । उनी पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउँछन् शनिवार खानाको लाइनमा बसेका पाण्डेले अन्य क्षेत्रमा पनि मजदूर भोकभोकै रहेको बताए । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् ।
त्यस्तै पीडा काठमाडौंमा १२ वर्षदेखि भारी बोक्दै आएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा काम विहिन रहेका छन् । कहिलेसम्म खानाको लागि सडकमा भौतारिनुपर्ने हो भनेर उनी पनि चिन्तित छन् ।
विगतमा सरकारले चैत ११ बाट बन्दाबन्दी लागू गरेको थियो । त्यसको अर्को हप्तामा असंगठित क्षेत्रका मजदूरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा विभिन्न संस्थाले समेत साथ दिए । ठाउँ-ठाउँमा भोजन गराएर भोकाहरुको पेट भर्ने वातावरण मिलेको थियो ।
बीचमा बन्दाबन्दी खुकुलो हुँदै आएपछि उनीहरुलाई सरकारले काम दिने निर्णय गरेको थियो । उक्त निर्णय कतिपय स्थानीय तहले लागू गरे पनि प्रभावकारी हुन सकेको थिएन । कोभिड–१९ को संक्रमण जोखिम भएको भन्दै उक्त खाना खुवाउने अभियानलाई सरकारले नै निरुत्साहित गर्यो ।
गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य हुँदा मजदूर कामको खोजीमा हिँडेपछि धेरै मजदूर सडकमा देखिएका थिएनन् । यही भदौ चार गते उपत्यकामा अत्यावश्यक काम बाहेकका गतिविधिमा पूर्ण रोक लगाउने गरी निषेधको आदेश जारी भएपछि भने मजदूर पुनः सडकमा आउन थालेका हुन् ।
त्यसरी सडकमा आएका मजदूरलाई विभिन्न संस्थामा आवद्ध युवाको सक्रियतामा खाना खुवाउँदै आइएको छ । खाना खुवाउने अभियान चलाएको हन्ड्रेड ग्रूपले संस्थाले गरेको काम फेसबुकमा हाल्ने गरेको छ । संस्थाका प्रतिनिधि आफैं पनि पैसा उठाएर मजदूरलाई खानाको जोहो गर्ने गरेका छन् ।
फेसबुकबाट थाहा पाएर कति मनकारीले सहयोग पनि गर्छन् । त्यही रकमबाट खाना खुवाउने अभियान सफल भइरहेको यादवले बताए । बानेश्वरमा खाना बनाउने र टेम्पुलाई दैनिक १ हजार तिरेर खाना ल्याउने गरिएको छ ।
अभियानमा लायन्स क्लवलगायत विभिन्न संस्थाले सहयोग गर्ने गरेको छ । लायन्स क्लवका प्रतिनिधि इन्द्रबहादुर कार्की सामाजिक उत्तरदायित्व अन्तरगत मजदूरको भोक मेटाउनका लागि आवश्यक सहयोग गर्न थालेको बताउँछन् ।
उनले मजदूरहरुलाई सरकारले उचित व्यवस्थापन गर्न सके प्रभावकारी हुने सुझाव दिए । यसरी सडकमा आइपुगेका मजदूरहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । उनीहरुमा प्रभावकारी चेतनासमेत पुग्न सकेको देखिएन ।
सडकका बेवारिसेमा समेत कोभिड–१९ देखिन थालेको वर्तमान अबस्थामा ति मजदूरले सामाजिक दूरी कायम गर्न नसक्दा जोखिम बढ्दो छ । महीनाैंदेखि प्रयोग भएको फोहर मास्क गोजीमा राखेर बसेका मजदूरले न त हात धुने गर्छन्, न त सेनिटाइज नै प्रयोग गर्न सक्छन् । रासस