काठमाडौं । मुलुक यतिबेला कोरोना भाइरस महामारीले प्रभावित छ । पर्यटन, उद्योग, यातायात, ढुवानी, कृषि लगायतका धेरै क्षेत्रहरु अहिले कोरोना भाइरस महामारीले प्रभावित हुन पुगेका छन ।
त्यतिमात्र होइन्, सानादेखि ठूला विकास निर्माणका काम पनि कोभिडकै कारण ठप्प हुन पुगेका छन् । सरकारले कोभिडविरुद्ध सुरक्षा मापदण्ड तथा स्वास्थ्य प्रोटोकल अपनाएर विकास निर्माणका काम गर्न भनेको छ । तर, अवस्था त्यस्तो छैन् ।
अहिले धेरै विकासे आयोजनाहरुमा मुख्यतया कामदार जनशक्ति र निर्माण सामग्रीको आपूर्तिमा नै मुख्य समस्या देखिन्छ । गत चैत ११ गते देशमा बन्दाबन्दी सुरु भएपछि धेरै विकास आयोजनामा कार्यरत कामदारहरु आफ्नो गाउँ र विदेशी कामदार स्वदेश फर्के ।
त्यसयता, कुनैपनि आवतजावत खुला भएको छैन । जसका कारण ती कामदार काममा नफर्कदा धेरै आयोजनाको काम प्रभावित भएका छन् ।
स्वदेशी कामदारलाई पनि खटाउन नसकेको आयोजना प्रमुखहरु बताउँदै आएका छन् । यातायात बन्द, निर्माण सामग्री ढुवानी ठप्प, उद्योग/कलकारखाना बन्द हुँदा निर्माण सामग्रीको सहज उपलव्धता नहुँदासमेत ती विकासे आयोजना प्रभावित छन् ।
विदेशबाट प्राविधिक जनशक्ति र निर्माण सामग्री आउन सक्ने अवस्था छैन् । मुलुकभर जारी लकडाउन(बन्दाबन्दी) र पछिल्लो समय काठमाडौं उपत्यका र विभिन्न जिल्लामा निषेधाज्ञाले विकासे आयोजना नराम्रोसँग थला परेका छन् ।
साना ठूला सबैखाले विकास निर्माणका कामहरु कोभिडले गर्दा रोकिएका छन् ।
खासगरी, सरकारले नै राष्ट्रिय गौरवका रुपमा अघि बढाएका विकास आयोजना बढी प्रभावित हुन पुगेका छन् । एकाधबाहेक अधिकांश राष्ट्रिय गौरवका आयोजना ठप्प छन् ।
कोभिडको कारणले नेपाली सेनाले अघि बढाइरहेको काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा कटिङ र फिलिङका काम अघि बढ्न सकेका छैनन् । झन्डै ४ किलोमिटरमा विभिन्न प्याकेजमा ठेकेदारले काम गरेका थिए । तर, लकडाउनयता ठेकेदार कम्पनी र कामदारले साइट छोडेपछि काम प्रभावित भएका छन् ।
फास्ट ट्रयाकको डीपीआर, परामर्शदाता छनौट गरी फिल्ड भिजिट र टेण्डर लगायतका काम भने भइरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । पहिला टेन्डर पाएका कम्पनी र निर्माणकर्ताले कोभिडका कारणले काम गर्न पाएका छैनन् ।
त्यस्तै, सेनाले नै निर्माण गरिरहेका उत्तर दक्षिण(कोशी) लोकमार्ग, उत्तर दक्षिण(कालीगण्डी करिडोर) लोकमार्ग र उत्तर दक्षिण(कर्णाली) लोकमार्गका अधिकांश काम कोभिडका कारण प्रभावित हुन पुगेको पौडेलले बताए । पूर्ण रुपले काम ठप्प नै नभएपनि तोकिएको लक्ष्यअनुसार काम अघि बढाउन समस्या भइरहेको पौडेलको भनाइ छ । गत आर्थिक वर्षमा यी आयोजनाको बार्षिक प्रगति ८० प्रतिशत थियो ।
सडक विभागअन्र्तगत अघि बढाइएको हुलाकी राजमार्गले पनि चैतदेखि सुस्ताएको छ । कोभिडका कारण निर्माणकर्मी, कामदार र निर्माण सामग्री ढुवानी हुन नसक्दा आयोजनाको काम सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन् । गत आवमा हुलाकी राजमार्गको भौतिक प्रगति ३० प्रतिशत हाराहारीमै खुम्चिएको छ ।
यता, मध्यपहाडी(पुष्पलाल) लोकमार्गको काम पनि प्रभावित बनेको छ । लकडाउन अघि नै कामदार गाउँ गएपछि फर्केका छैनन् । केही सीमित कामदार आयोजनामा खटिए पनि मुख्यतया आयोजना पूर्ण प्रभावित नै छ ।
लकडाउनकै अवधिमा सडक र पुल निर्माणका कामहरु धेरथोर भएकोमा साउनयता वा निषेधाज्ञा जारीपछि भने गौरवका आयोजना ठप्प हुन पुगेको सडक विभागका महानिर्देशक केशवकुमार शर्मा बताउँछन् ।
‘अहिले निर्माण सामग्री र कामदार ल्याउन पाएका छैनौं । सबै आयोजनामा यस्तै समस्या छ’ उनले भने, ‘निषेधाज्ञापछि २÷४ जना मान्छे राखेर मर्मतका काम भएपछि अरु पूर्णत ठप्प छन् ।’
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा पानी परीक्षण गरिए पनि त्यसयता थप उपलव्धि हुन सकेको छैन । लकडाउन हुनुअघि झन्डै ६०० निर्माणकर्मी खटिने आयोजनामा अहिले डेढ सय जनशक्तिकै भरमा आयोजनाको काम भइरहेको छ । त्यस्तै, दक्ष जनशक्ति तथा विज्ञहरु विदेशबाट आउनुपर्ने भएपनि महामारीले रोकिएको छ ।
अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशबाट दक्ष प्राविधिक आउन सकेका छैनन् । आवश्यक निर्माण सामग्री ढुवानी आपूर्तिमा पनि समस्या छ । कोभिडकै कारणले आयोजना थप ३ महिना ढिला हुने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्रीले बताए ।
यता, पोखरा विमानस्थल निर्माण भने कोभिडको असर नदेखिएको आयोजनाले जनाएको छ । कोभिड –१९ को महामारीका बीचमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम भने भइरहेको आयोजनाले जनाएको छ । कामले निरन्तरता पाइरहेकाले पोखरा विमानस्थलको काम निर्धारित समय सन् २०२१ को जुन भित्रै सम्पन्न गर्ने आयोजना पक्षको दाबी छ ।
गौतमबुद्ध विमानस्थल निर्माणमा भने प्राविधिक तथा निर्माणकर्मी र सामग्री आपूर्ति हुन नसक्दा काम प्रभावित हुन पुगेको छ । कोभिडका कारण आवश्यक निर्माण सामग्री तथा उपकरण तथा मेसिन जडान कार्य हुन सकेको छैन् । कोभिडका कारण काम प्रभावित हुँदा आयोजना सम्पन्न गर्ने लक्ष्य ६ महिना पर धकेलिन सक्ने देखिन्छ ।
कोभिड–१९ असर नपरेको अर्को गौरवको आयोजना हो, ४५६ मेगावाटको माथिल्लो तामाकोसी । आयोजनाको सबैभन्दा अप्ठ्यारो काम पेनस्टक पाइप जडान कार्य लकडाउनकै बीचमा भइरहेको र काम नरोकिएको आयोजनाले जनाएको छ । अब ठाडो सुरुङमा झन्डै २५ मिटर पेनस्टक पाइप जडान कार्य डेढ महिनामा सम्पन्न हुने आयोजनाको लक्ष्य छ ।
त्यसबाहेक सुरुङमा केमिकल ग्राउटिङ, वालुवा छान्ने डिसेन्डर वेसिनको पनि परीक्षण हुन बाँकी छ । पेनस्टक पाइपका केही सामान भारतको कोलकाता बन्दरगाहमा रहेकाले आउन ढिलाइ हुँदा काम सुस्त छ । आयोजनाले मंसिरसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
यता, भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय परियोजना पनि ‘फुल फेज’मा काम हुन नसकेको आयोजनाका सुचना अधिकारी कृष्णप्रसाद उपाध्याय बताउँछन । ‘लकडाउन हुनुअघि जस्तो गरी ‘फुल फेज’ मा काम हुन सकेको छैन । किनभने, कामदारहरु आउनुपर्यो । मुभमेन्ट बन्द छ । क्वारेन्टाइनमै राखेर खटाउनुपर्ने हुन्छ’ उनले भने, ‘केही कामदारलाई क्वारेन्टाइमै राखेर काम गरिरहेको अवस्था छ । तर, पूर्ण कार्य सञ्चालनमा भने समस्या छ ।’
सुरुङ निर्माणको ठेक्का अन्तिम चरणमा छ । बाँकी काम सीमित कामदारले गरिरहेका छन् । बाँध निर्माणको काम पनि अहिले सुस्त छ । लकडाउन अघि ३०० बढी कामदारले काम गरेपनि अहिले ५०÷६० जनाले मात्रै काम गरेको उपाध्यायले बताए । गत आवमा काम हुने मुख्य समय चैतदेखि नै लकडाउन भएपछि आयोजनाको लक्षित प्रगति हासिल गर्न कठिन भएको आयोजनाले जनाएको छ ।
यता, सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया र बबइ सिँचाई आयोजना पनि धीमा गतिमा अघि बढेका छन् । ती आयोजनामा पनि मुख्य समस्या ‘लेबर’ र ढुवानी समस्या छ ।
पूर्व—पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काममा पनि कोरोनाले असर गरेको छ । निकुञ्ज क्षेत्र पर्ने निजगढ—भरतपुर–बुटवल खण्डबाहेक आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) भएपनि अन्य काम अघि बढ्न सकेका छैनन् ।
खासगरी, जग्गा अधिग्रहण, रुख कटान, वातावरणीय अध्ययन लगायतका काम कोभिडका कारण हुन सकेका छैनन् । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दी खण्डमा ३५ किलोमिटर रेलमार्ग ट्रयाकबेडको काम लकडाउन हुनु अगावै सम्पन्न भयो । त्यसयता, कोभिडका कारण थप काम हुन सकेको छैन् ।
कोभिडका कारणले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाका स्थानीयलाई मुआव्जा वितरणमा समस्या भएको छ । आयोजना निर्माण सुरु गर्न जग्गा अधिग्रहण गर्नुपर्ने हुँदा हालसम्म ५८ हजार रोपनीमध्ये ४७ हजार रोपनीको जग्गा अधिग्रहण भएको छ । बाँकी ११ हजार रोपनी जग्गा अधिग्रहण गरी मुआव्जा वितरण गर्न छ ।
कोभिडका कारण यातायात ठप्प, भीडभाड हुन नहुने र कार्यालय बन्द हुँदा मुआब्जा वितरणमा समस्या देखिएको छ । आउँदो कात्तिकसम्म लगानीको खाका तयार पारेर अघि बढ्ने तयारी सरकारको छ ।
कोभिडका कारण निर्माणमा ढिलाई हुँदा अधिकांश आयोजनाको लागत बढेको छ भने आयोजना लम्बिने देखिन्छ । यसरी हेर्दा, कोभिड महामारीले स–साना विकास निर्माणका कामदेखि गौरवका ठूला आयोजनामा पनि प्रत्यक्ष असर पारेको छ ।
कोभिडका संक्रमणको जोखिम अझै बढ्दै गएकाले विकासे आयोजनाले कहिलेबाट गति लिन सक्लान भन्ने अन्यौलता अझै कायमै रहेको छ ।