बीबीसी । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन्। आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन्।
यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो। उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ।
सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका थिए। सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। उनको पदावधि २०२१ सम्म थियो।
उनलाई किशोरावस्थादेखि आन्द्रा सुन्निने रोग छ। एकै साता दुई चोटि अस्पताल गएपछि आबेको स्वास्थ्यस्थिति बिग्रिन थालेको हो कि भनेर प्रश्न उठ्यो। उनले आफू किन अस्पताल गएको हो भनेर बताएका छैनन्। तर एक चोटि आठ घण्टा अस्पतालमा बसेको विवरण प्राप्त भएको छ।
यसअघि सत्तारूढ दल लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूले आबेले पदत्याग गर्ने अनुमानको खण्डन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य ठिक भएको दाबी गरेका थिए।
मङ्गलवार उनका एक सहयोगीले समाचारसंस्था रोएटर्सलाई आबेले आफ्नो पदावधि पूरा गर्ने आफूलाई लागेको बताएका थिए। संसद् भङ्ग हुने र मध्यावधि निर्वाचन गराइने अनुमानको खण्डन गर्दै आकिरा आमारीले प्रधानमन्त्रीले त्यसो नगर्ने दाबी गरेका थिए। अहिले कुनै मध्यावधि निर्वाचन हुँदैन, उनको भनाइ थियो।
प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जापानी कानुनअनुसार कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन्। कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्ने सीमा तोकिएको छैन।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा छन्। त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा छन्। कार्यवाहक प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्दैनन्। तर दलले नयाँ नेता र प्रधानमन्त्री नछानेसम्म अन्य काम गर्न सक्छन्।
प्रधानमन्त्रीले राजीनामा दिए वा दिने घोषणा गरे भने सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदात गराउनुपर्छ। त्यसपछि संसद्मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन्छ। त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्नेछन्।