कोरोना भाइरसका कारण विश्वभर महामारी फैलिएको छ । यसबाट कैयन ठूला सहरको आर्थिक गतिविधि बन्दप्रायः अवस्थामा पुगेको छ । कोरोनाका कारण संसारका आर्थिकरुपमा सम्पन्न देशदेखि गरिब र विकासोन्मुख देश समेत नराम्रोसँग प्रभावित भएका छन् ।
हालसम्म कोरोनाको महामारीका कारण विश्वबजार नराम्रोसँग प्रभावित भइसकेको छ । ब्लुमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वभरका कैयन अर्बपतिहरुको सम्पत्तिमा भारी गिरावट समेत आएको छ ।
यहाँ हामी पछिल्लो केही महिनामा विश्वभरका अर्बपतिहरुको सम्पत्ति कतिले घट्यो भन्नेबारेमा चर्चा गर्दैछौ ।
जेफ बेजोस, अमेजन
विश्वका सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलर कायम भएको छ । यसबीच बेजोसको ८.१४ बिलियन डलर नोक्सान भएको छ ।
बिल गेट्स, माइक्रोसफ्ट
माइक्रोसफ्टका मालिक बिल गेट्सको कुल सम्पत्ति ९८ बिलियन डलरमा सीमित भएको छ । यसबीच उनको सम्पत्ति ६.९८ बिलियन डलर घटेको छ ।
मार्क जुकरबर्ग, फेसबुक
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति कोरोनाका कारण ५.९८ बिलियन डलरले घटेर कुल ५९.५ बिलियन डलरमा सीमित भएको छ ।
लैरी पेज, गुगल
सर्च इन्जिन गुगलका संस्थापक लैरी पेजको सम्पत्ति कोरोनाका कारण ४.३४ बिलियन अमेरिकी डलर घटेको छ । हाल उनको कुल सम्पत्ति ५४.६ बिलियन डलरमा सीमित भएको छ ।
सर्गी ब्रिन, गुगल
गुगलका सह–संस्थापक सर्गी ब्रिनको सम्पत्ति पनि कोरोनाका कारण ४.२२ बिलियन अमेरिकी डलरले घटेको छ । हाल उनको सम्पत्ति ५३ बिलियन डलरमा सीमित भएको छ ।
ज्याक मा, अलिबाबा
इकमर्स प्लेटफर्म अलिबाबाका संस्थापक ज्याक माको सम्पत्ति यसबीच १.९४ बिलियन डलरले घटेको छ । हाल उनको कुल सम्पत्ति ४२.७ बिलियन डलरमा सीमित भएको छ ।
मुकेश अम्बानी, रिलायन्स
रिलायन्सका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति हालसम्म कोरोनाका कारण ३.३५ बिलियन नोक्सान भइसकेको छ । हाल उनको कुल सम्पत्ति ४० बिलियन आँकलन गरिएको छ ।
एलन मस्क, टेस्ला
इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक तथा अर्बपति एलन मस्कको सम्पत्ति कोरोना महामारकिा कारण हालसम्म २.८५ बिलियन डलर नोक्सान भइसकेको छ । हाल उनको सम्पत्ति ३२.२ बिलियन डलरमा सीमित भएको छ ।