बीबीसी । यो महिनाको सुरुतिर एउटा चिरपरिचित चिनियाँ व्यावसायिक घरानाको प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए।
स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए। त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दियो।
कोरोना भाइरस महामारी चीनमा सुरु भएर विश्वभरि फैलिएको हो। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।
विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य शर्त हो।
तर रमाइलो के छ भने चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन किनभने कोरोनाभाइरसलाई त्यहाँ सफलतापूर्वक नियन्त्रण गरिएको छ।
सबै खोप निर्माताहरू हजारौँ व्यक्तिमाथि गरिने तेस्रो चरणको परीक्षणका लागि कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेका छन्, हङ्कङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताए। उनी चिनियाँसहित अहिले विकास भइरहेका खोपप्रति सकारात्मक छन्।
चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन्।
नेसनल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन्। डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन्। तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन, प्राध्यापक काउलिङले भने।
उनको विचारका सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड१९ को खोप दिन सकिन्छ। चीनले अहिले यूएई, पेरु र र्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।
त्यो सरकार र औषधि कारखानाहरू बीचको विश्वव्यापी सहकार्यको अङ्ग रहेको छ। चीनको कोरोना भाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड १९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ।
चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत दिएको छ। एक वरिष्ठ युरोपेली कूटनीतिज्ञले सर्बिया र इटलीमा चीनले स्वास्थ्यसामग्री पठाएको सम्झिँदै चीनले आफ्नो प्रचारका लागि खोपको प्रयोग गर्न सक्ने बताए।