नेपालगञ्ज । नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालिम केन्द्रमा सिलाइकटाइसम्बन्धी तालिम लिइरहेकी छन् ।
‘तालिम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आफैले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’, सारुमगरले भनिन् ।
सारुमगर जस्तै केन्द्रबाट विभिन्न व्यवसायमूलक सीपको तालिम लिनेको सङ्ख्या यो वर्ष ६०० भन्दा बढी छ । नेपाल सरकारअन्तर्गत रहेकाे सो केन्द्रवाट पछाडि पारिएका, अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय तथा विपन्न परिवारका महिला र पुरुषले केश शृङ्गार, सिलाइकटाइ, विद्युत् जडान, कम्प्युटर, बेल्डिङ, इलेक्ट्रोनिक्स सामान मर्मत, कुक, पलम्बिङ, फेसन डिजाइन, सुरक्षा गार्ड, मोटरसाइकल मर्मतलगायत तालिम लिइरहेका छन् ।
‘विकासको मूलप्रवाहभन्दा बाहिर रहेका ती वर्ग एवं समुदायलाई प्राथमिकतामा राखेर सीपयुक्त व्यावसायिक तालिम दिने गरेका छौ,’ केन्द्रका प्रमुख जेन्टिल गौतमले भने, “तालीम लिएकामध्ये झण्डै ७० प्रतिशतले रोजगारमूलक व्यवसाय सञ्चालन गरेका छन्”, उनले भने, “२०४१ सालदेखि अहिलेसम्म केन्द्रले करिब १८ हजारलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेको छ । तीमध्ये महिलाको सङ्ख्या १० हजारको हाराहारी छ ।”
केन्द्रले सञ्चालन गर्ने तालिममा सहभागी हुन चाहनेले आठ कक्षा पास गरेको र १८ वर्ष भई ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको तालिम प्रशिक्षक अञ्जु खनालले बताइन् । केन्द्रले अहिले तीन महिने र ६ महिने तालिम सञ्चालन गर्दै आएको छ ।
अहिले नेपालगञ्ज उपमहानगरपालिकाले पनि नगर क्षेत्रका गरिब, विपन्न र पछाडि पारिएका समुदायलाई लक्षित गरी विभिन्न सीप विकासका तालिम सञ्चालन गरिरहेको छ । नगरका वडा वडामा सिलाइकटाइ, केश शृङ्गार, हस्तकला, ब्युटिसियन, ब्याग बनाउनेलगायतका तालिम सञ्चालन गर्दै आएको उपप्रमुख उमा थापामगरले बताइन् ।
उपमहानगरपालिकाले दिने तालिममा विशेषतः दलित, चिडिमार समुदाय र अतिविपन्न परिवारका सदस्यलाई प्राथमिकता दिने गरिएको उनले बताइन् । रासस