कुनै चलचित्रको कल्पना गरौं, जँहाको परिस्थिति भयकंर समस्यावाट गुज्रिरहेको हुन्छ परिस्थिति असामान्य बनिरहेको हुन्छ । सवै समस्यावाट अतालिरहेका हुन्छन् । त्यस्तो समयमा चलचित्र हेरिरहेका दर्शक दिर्घामा पनि सन्नाटा छाउँछ ।
उनीहरुको मुटुको धड्कन पनि बढ्दै जान्छ । अब के होला, कसो होला, समस्या समाधान होला कि नहोला यस्तै मनोवृत्तीवाट दर्शक दिर्घामा वस्नेहरु अतालिरहेका हुन्छन् । यसै विचमा चलचित्रमा जव एक व्यक्तिको प्रवेश हुन्छ र समस्याको समाधान गर्दै अगाडि बढ्छ तव सवैमा उत्साहको वातावरण सृजना हुन्छ । समस्या समाधान गर्ने व्यक्ति चलचित्रमा हिरो अर्थात नायकको रुपमा स्थापित हुन्छ ।
माथि उल्लेखित चलचित्रको परिवेशजस्तैः चार वर्ष अगाडी विद्युतको मामलामा नेपालको परिस्थिति भयावह थियो । नेपाली जनता १४ घन्टा सम्मको कहाली लाग्दो थियो । लोडसेडिङ खेप्दै थिए । विद्युत प्राधिकरण लगातार घाटामा थियो । तत्कालिन व्यवस्थापन थप लोडसेडिङ हुन सक्ने प्रक्षेपण गर्दै बसेको थियो । लोडसेडिङका कारण अमुक उद्योगबाहेक धेरै उद्योग धराशायी हुने अवस्थामा पुगेका थिए ।
देशमा उर्जा संकटको घोषणा भएको थियो । यस्तै परिवेशको बिचमा प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमानको आगमन हुन्छ । अनेकन समस्याले जकडिएको प्राधिकरणमा उनको आगमनलाई अस्वभाविक रुपमा लिँदै शुरुमा विरोध गरियो । उनले विरोधकै बिचमा समस्यासँग जुध्न शुरु गरे ।२०७३ कार्तिकको लक्ष्मी पुजाको दिन काठमांडौमा पुरा समय बिजुली दिएपछि जनता अचम्ममा परे । जनताले यो परिस्थितिको शायद अनुमान समेत गरेका थिएनन्। यो कामनै कुलमान र प्राधिकरणको लागि ठुलो टर्निङ पोइन्टको रुपमा रहेको थियो ।
यो कामको शुरुवातसँगै कुलमानलाई जनताले सम्भावित हिरोको रुपमा मनमा राखिरहे। काठमाडौमा लोडसेडिङको अन्त्यपछि जव यो कार्य देशव्यापी रुपमा सफल रुपमा सम्पन्न भयो । त्यसपछि जनताको सामु कुलमान एक हिरोको रुपमा स्थापित भए ।
जनताको अपार समर्थनसहित हिरोको रुपमा उदाएका कुलमानले समस्याको समाधानका लागि सवै समस्याग्रस्त क्षेत्रमा रणनीतिक हस्तक्षेप गरे । जसले देखिने गरि परिणाम प्राप्त भयो । देशमा लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रण र प्राधिकरण नाफामा जानु महत्वपुर्ण परिणामको रुपमा रहेका छन् ।
यी महत्वपुर्ण परिणाम प्राप्त हुँदा कुलमानले एक हिरोको रुपमा इमान्दार प्रयत्न गरेका छन् जुन प्रशंसायोग्य छ । एक इमानदार व्यक्तिको अथक प्रयासले प्राधिकरणको समग्र सुधार भएकोले संगठन सुधारका लागि एक व्यक्ति नै काफी होकि भन्ने आम धारणा जवर्जस्त विकाश भएको छ ।
हिरो ड्राइभिङ मोडेलले व्यक्तिलाई बढी शक्तिशाली वनाउने, नतिजा पनि देखिने तर संगठनको पद्दति सुधार हिरोको छाँयामा पर्न सक्ने हुनाले प्राप्त उपलव्धि संगठनमा हिरो रहुन्जेलमात्र रहन्छन् कि भन्ने त्रास रहन्छ । यदि संगठनको पद्दति सुधार संस्थागत भइसकेको छ भने जुनसुकै पात्र संगठनको नेतृत्वमा आएपनि प्राप्त उपलव्धि गुम्दैनन् । प्राप्त उपलव्धिको जगमा थप उपलव्धि प्राप्त गर्न सहज हुन्छ ।
प्राधिकरणमा हिरो ड्राइभिङ मोडेलले अपेक्षित नतिजा दिएको छ । तर सुधारहरुको आन्तरिकीकरण पुर्ण रुपमा भएको छैन । त्यसैले प्राप्त उपलव्धि हिरोको बर्हिगमन भएमा गुम्छन् की भन्ने त्रास आम नागरिकमा रहेको पाईन्छ जुन स्वभाविक हो ।
आम नागरिकको अपेक्षा पुरा गर्न, प्राप्त परिणामको रक्षा एवं पद्दतीको सुधार समेत गर्ने प्रयोजनका लागि प्राधिकरणमा अव हिरो ड्राइभिङ मोडेल र सिस्टम ड्राइभिङ दुवै मोडेलको प्रयोग गरिनुपर्छ । जसले परिणामहरु दिगो हुनुका साथै संस्था नतिजामुलक र प्रतिस्पर्धी हुन्छ । संगठन सिस्टममा चल्न थाल्यो भने व्यक्ति गौंड हुन्छ । जस्तो परिस्थितिमा पनि संगठन सहज र नतिजामुलक ढंगवाट चल्छ ,जुन आजको आवश्यकता हो ।
(केसी विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रका प्रशासकीय अधिकृत हुन् )