काठमाडौं । नेपालमा पछिल्लो समय इन्टरनेट सेवा गुणस्तरहीन भएको भन्दै चर्को विरोध भइरहेको छ । सधै एउटै सेवाप्रदायकको गुणस्तरहीन सेवाले आजित भएका ग्राहकले नयाँ इन्टरनेट प्लेयरको खोजी गरिरहेका छन् । नयाँ इन्टरनेट प्लेयरहरु आउने क्रमपनि जारी छ ।
हाल भइरकेको इन्टरनेट सेवाप्रदायक वल्र्डलिङ्क, भायानेट, क्लासिक टेक, सुविसु बाहेका ठूला प्लेयर पनि इन्टरनेट उद्योगमा सेवा दिनका लागी आतुर छन् ।
विशेषगरी डिटिएच सेवा दिइरहेको डिशहोम र प्रभु टिभी आक्रामक रुपमा इन्टरनेट सेवा विस्तारमा लागि परेका छन् । तर, भइरहेका सेवाप्रदायकको इन्टरनेट गुणस्तरहीन सेवाको विकल्प खोजिरहेका ग्राहकको सन्तुष्टि नयाँ प्लेयरले दिन सक्छन कि सक्दैनन भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
हाल प्रभु टिभी र डिशहोम आक्रामक रुपमा इन्टरनेट बजार विस्तार गर्न लागि परेको छ । यी सेवाप्रदायकको अनुसार, हाल सेवा दिइरहेका र इन्टरनेट सेवामा एकाधिकार जमाइरहेका सेवाप्रदायकको सेवाको तुलनामा सस्तो र गुणस्तरीय सेवा दिने प्रतिवद्धता जनाउँदै आएका छन् । गत फागुनबाट डिशहोमले पहिलोपटक उपत्यकामा इन्टरनेट सेवा दिन सुरु गर्यो ।
भैसेपाटीबाट इन्टरनेट विस्तार सुरु गरेको डिशहोमले अहिले दर्जन स्थानमा इन्टरनेट सेवा दिइसकेको छ । आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यका लगायत देशभर डिशहोमको इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको छ ।
खासगरी,डिशहोमले २५ मेगाबीट्स पर सेकेन्ड (एमबीपीएस) र ४० एमबीपीएसमा स्पीड क्षमताको इन्टरनेट सेवा दिइरहेको छ । जसका लागी दुई प्याकेजमा दिएको इन्टरनेट सेवामा २५ एमबीपीएस क्षमताको इन्टरनेटको लागि ग्राहकले एक बर्षभर इन्टरनेट चलाउन १० हजार मात्र तिर्नुपर्ने छ । त्यसैगरी ६ महिनाको लागि ५ हजार पाँच सय, तीन महिनाको लागि तीन हजार र एक महिनाको लागी एक हजार एक सय तोकिएको छ ।
त्यसैगरी, ४० एमबीपीएस क्षमताको इन्टरनेट सेवाका लागी ग्राहकले एक वर्षलाई १४ हजार पाँच सय मात्र तिरे पुग्ने भएको छ । कम्पनीको अनुसार अन्य सेवाप्रदायकको भन्दा सस्तो र गुणस्तरीय सेवा दिएको दाबी गरेको छ । हाल डिशहोमले दिएको इन्टरनेट अन्य पुराना सेवाप्रदायक वल्र्डलिङक, भायानेट, क्लासिक टेक, भन्दा निकै सस्तो रहेको छ ।
अन्य सेवाप्रदायकको भने नेट टेलिभिजनसहित इन्टरनेट सेवा प्याकेज दिइरहेका छन् । हाल डिसहोमले भैसेपाटी, तिनकुने बानेश्वर, कपन, जोरपाटी, पेप्सीकोला, गल्फुटारमा सेवा विस्तार गरिसकेको छ ।