काठमाडौं । सरकारी निकायहरुबीच नै विद्युत उत्पादन लक्ष्य फरक पाइएको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच चालु आर्थिक वर्षमा बिजुली उत्पादन लक्ष्य फरक पाइएको हो ।
सरकारले चालू आर्थिक वर्षमा १ हजार ५५५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य मन्त्रालयले राखेको भएपनि कोभिड–१९ महामारीका कारण घटाएर १ हजार २६८ मेगावाटको नयाँ लक्ष्य सार्वजनिक गरेको छ ।
उता, विद्युत् प्राधिकरणले भने चालू वर्ष १ हजार १५५ मेगावाट मात्रै विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । यद्यपी, सरकारका अधिकारीहरुले अहिले पनि चालू वर्ष १ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दावी गर्दै आएका छन् ।
बिद्युत प्राधिकरणबाट प्राप्त चालू आवको बिद्युत उत्पादन लक्ष्य–
ऊर्जासचिव दिनेशकुमार घिमिरेले क्यापिटल नेपालसँगको कुराकानीमा यो वर्ष १ हजार ५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य रहेको बताए । खासगरी गत आर्थिक वर्ष नै सम्पन्न गर्नुपर्ने आयोजनाहरुमा ढिलाई भएपछि प्राधिकरण र मन्त्रालय दुबैले चालू वर्षमा विद्युत उत्पादन उच्च गतिमा हुने प्रक्षेपण गरेका हुन् ।
ऊर्जाले सुरुमा चालू वर्ष ६८ ओटा आयोजना सम्पन्न हुने र त्यसबाट १ हजार ५५५ मेगावाट थप विद्युत उत्पादन भई असार मसान्तमा २ हजार ९८० मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । तर, कोभिड–१९ का कारण विभिन्न आयोजनाहरुको काम प्रभावित हुँदा पछिल्लो पटक ५२ ओटा आयोजनाबाट १ हजार २६८ मेगावाट विद्युत उत्पादन भई असारमा कुल जडित क्षमता २ हजार ६९३ मेगावाट पुग्ने संशोधित लक्ष्य अघि सारेको छ ।
उर्जा मन्त्रालयबाट प्राप्त चालू आवको बिद्युत उत्पादन लक्ष्य–
उता, प्राधिकरणले भने ४० आयोजनाबाट १ हजार १५५ मेगावाट मात्रै विद्युत उत्पादन हुने लक्ष्य अघि सारेको छ । प्राधिकरणको लक्ष्य सरकारी लक्ष्यभन्दा १२ आयोजनाबाट १ सय १३ मेगावाटले कम हो ।
सरकारका दुबै निकायबीच तथ्यांकमा मेल नहुनु गम्भिर त्रुटि हो । दुबै निकायको लक्ष्यमा सोलारबाट उत्पादन हुने २५ मेगावाट विद्युत् पनि समावेश छ ।
विभिन्न आयोजनाको कामको रफ्तारमा आएको संकुचन र बढ्दो कोभिड–१९ संक्रमणका कारण संशोधित लक्ष्य पनि प्रभावित हुने देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा पनि १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको सरकारले १५० मेगावाट मात्रै बिजुली ग्रीडमा जोडेको थियो ।
सरकार र प्राधिकरण दुबैले कोभिड–१९ संक्रमणका कारण आयोजनाहरु सम्पन्न हुन नसक्दा तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको दावी गर्दै आएका छन् ।
चालू वर्षमा पनि गत वर्ष नै सम्पन्न गर्ने भनी अघि सारिएका ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढीसहितका ठूला÷साना आयोजना अघि सारेर धेरै विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको हो ।
कोभिड–१९ संक्रमणका कारण अहिले पनि धेरै जलविद्युत् आयोजनाका काम प्रभावित भएका छन् । मजदूर र जनशक्तिको सहज व्यवस्थापन हुन सकिरहेको छैन ।
निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजना सम्पन्न (मेसिन जडान र फिनिसिङ पूरा) गर्न विदेशबाट नै प्राविधिकहरु आउनुपर्छ, तर, अवस्था सहज छैन । आयोजनाका लागि चाहिने मेसिन तथा उपकरण आयात पनि सहज ढंगले हुन सकिरहेको छैन ।
मन्त्रालयका प्रवक्ता प्रविनराज अर्यालले सरकारले पूर्ववत् विद्युत उत्पादन लक्ष्य संशोधन गरेको बताए । ‘कोभिड–१९ संक्रमण बढ्दै जाँदा लक्षित योजनामध्ये २८७ मेगावाटका १६ आयोजना चालू वर्षमा सम्पन्न हुन नसक्ने देखिन्छ’ प्रवक्ता अर्यालले भने, ‘४२.५० मेगावाटको सान्जेन, ५१.४० मेगावाटको लिखु–१, ३८.४६ मेगावाटको अपर कलाङ्गाड, ३३.४० मेगावाटको लिखु–२ लगायतका आयोजना चालू वर्ष सम्पन्न हुने सम्भावना छैन ।’
खासगरि जलविद्युत् आयोजना प्रवद्र्धकले प्रगति बढी देखाउन सम्पन्न हुन नसक्ने आयोजनाहरुको काम पनि सकिन्छ भनेर सरकार र प्राधिकरणलाई तथ्यांक उपलव्ध गराउँदा समस्या हुने गरेको छ ।
‘एक त लक्ष्य महत्वाकांक्षी लिइन्छ । अर्को, परियोजना कहिले र कसरी आउँछ भनेर सम्भावित मापदण्ड पनि छैन । प्रवद्र्धकले तथ्यांक दिँदा आयोजना छिटो ल्याउँछौं भनेर दिन्छन’ ऊर्जाउद्यमी सुर्य अधिकारीले भने, ‘लक्ष्य निर्धारण गर्ने कुनै मापदण्ड नहुँदा समस्या भएको छ ।’