काठमाडौं । ग्रामिण दुरसञ्चार परियोजना अन्तर्गतको ब्रोडव्यान्ड इन्टरनेट विस्तार ७१ प्रतिशत सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको विवरण अनुसार कुल १६ हजार ६०० मध्ये देशभर ६ हजार साइटमा मात्र ब्रोडब्यान्ड विस्तार गर्न बाँकी छ ।
प्राधिकरणले दूरसञ्चार विकास कोषको करिब ४ अर्ब रुपैयाँ परिचालन गरी १८ ओटा प्याकेजमा विभाजन गरि प्रतिस्पर्धाबाट इन्टरनेट सेवाप्रदायकलाई परियोजनाको जिम्मा दिएको थियो ।
हाल चार ओटा प्याकेज अन्तर्गतका २० जिल्लाका तोकिए बमाजिमका स्थानमा नेटर्वक तथा ब्रोडब्यान्ड कनेक्टिभिटी जडानको लागी सेवाप्रदायकहरु छनोट भई निमार्ण कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
१८ ओटा प्याकेज अन्तर्गत ७०० एक स्थानीय निकाय, ५ हजार ९५२ वडा कार्यालय, ५ हजार ९०७ माध्यमिक विद्यालय र ४ हजार ३५१ स्वास्थ्य संस्थामा इन्टरनेट सेवा दिनुपर्ने छ ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले १० हजार ३६८ साइटमा इन्टरनेट सेवा विस्तार भइसकेको बताए । उनका अनुसार यो परियोजना चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने भनिए पनि कोरोना भाइरसका कारण केहि ढिलाई हुने उनको भनाई छ । हाल देशभर वल्र्डलिङ्क, भायानेट, सुविसु, मर्कन्टायल, नेपाल टेलिकम लगाएतका कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट विस्तार कार्य अघि बढाइरहेका छन् ।
हाल नेपालमा कुल ७२ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा छन् । चालु आर्थिक बर्ष भित्र नेपालको इन्टरनेट पहुँच सत प्रतिशत पुर्याउने प्राधिकरणको लक्ष्य छ ।
मोबाइल ब्रोडव्यान्डकै हिस्सा बढी
नेपालमा फाइबर इन्टरनेट भन्दा मोबाइल इन्टरनेटको पहूँच ५० प्रतिशत बढी छ । जसमा नेपाल टेलिकम र एनसेलको थ्रि जी र फोरजीको प्रयोग मार्फत नै बढी इन्टरनेट प्रयोग गर्ने दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै फाइबर टु दि होम (एफटिटिएच)ले २० प्रतिशत हिस्सा ओगटेको छ ।