काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि व्यापारीले फाइदा लिन सर्जिकल मास्कको कृत्रिम अभाव सिर्जना गर्न थालेका छन । अधिकांश पसलमा मास्क नपाइएको र पाइहाले पनि व्यापारीले मूल्य बढाएर बेच्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
बजारमा मास्क किन्न नै पाउन छाडेको घट्टेकुलोका श्याम थापाले जानकारी दिए । ‘अहिले मास्क नै पाउन गाह्रो भइसक्यो,मैले बल्लतल्ल बजार चाहारेर मुस्किलले किनेर ल्याएँ’ उनले भने ।
हुन त निषेधाज्ञापछि अधिकांश पसल बन्द छन् । बेच्न राखेका मास्क सकिएसकेकाले पनि अभाव हुन थालेको एक व्यापारीले बताए । मास्क अभाव हुन थालेपछि केही व्यापारीले भने मूल्य बढाएर बेच्ने गरेका छन । १० रुपैयाँमा किन्न पाइने मास्कलाई व्यापारीले ५० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ ।
यता, सर्जिकल गोल्ब्समा पनि व्यापारीले कालोबजारी गर्ने गरेको गुनासो वाणिज्य विभागमा आएको छ । ‘सर्जिकल गोल्ब्सको मूल्य बढ्यो भन्ने गुनासो आएको छ । व्यापारी मूल्य बढी लिए भन्ने गुनासो आएको छ’ विभागका निर्देशक रविन्द्र आचार्यले भने, ‘हामीले त्यसलाई फोकस गरेर बजारमा सर्जिकल गोल्ब्सको अनुगमन गर्छौ ।’
निषेधाज्ञाका कारण पर्याप्त अनुगमन गर्न नपाइएको आचार्यको तर्क छ । ‘निषेधाज्ञाले धेरै पसल बन्द छन् । अनुगमन नभएको होईन । त्यति बढी पनि गर्न सकेको छैनौं ।’ उनले भने ।
जब संकट पर्छ तब व्यापारीहरु नाफा कमाउने दाऊ कुरेका हुन्छन् । अहिले केही मेडिकल पसलले पनि ग्लब्स र मास्कको बढी मूल्य लिएको उपभोक्ताको गुनासो छ ।
सर्जिकल गोल्ब्स अहिले जुनसुकै पसलमा पनि बिक्री गर्ने र मनपरी मूल्य लिने गरेको गुनासो आएको हो । यतिसम्म कि, अहिले पान पसलले पनि मास्क र गोल्ब्सको बिक्री गर्न थालेका छन् ।
सरकारको अनुगमन कमजोर बन्दा व्यापारीले गलत मनसाय राखेर कार्टेलिङ गर्ने गरेको राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ताकर्मी माधव तिमल्सिना बताउँछन् ।
‘सरकारको प्रभावकारी अनुगमन नहुनु एउटा समस्या हो । त्यो माथि अनुगमन कमजोर हुँदा व्यापारीले गलत मनसाय राखेर कार्टेलिङ गर्ने गर्छन’ उनले भने, ‘त्यस्ता व्यवसायीलाई आर्थिक दण्डसँगै कानूनी कारबाही गर्नुपर्छ ।’