(अमेरिका) । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ घटेर एक हप्तायताकै न्यून विन्दुमा आएको छ । सुनसँग विपरित सह–सम्बन्ध रहेको अमेरिकी डलरको भाउमा आएको उच्च सुधार र अमेरिकी व्यवसायिक गतिविधिमा भएको वृद्धिले सुनप्रतिको आकर्षण घटाएसँगै भाउ दबाबमा आएको हो ।
शुक्रवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ १ प्रतिशतभन्दा धेरैले घटेर न्यूनतम् प्रतिऔंस १ हजार ९१० डलर ९९ सेन्टमा आएको थियो ।
यो एक हप्तायताकै न्यून हो । कारोबार बन्द हुँदा भने स्पटको भाउ शून्य दशमलव ३८ प्रतिशतले घटी प्रतिऔंस १ हजार ९४० डलर ९० सेन्टमा आएर बन्द भएको थियो । हप्ताभरिको कारोबारमा भने सुनको भाउ शून्य दशमलव ३ प्रतिशतले घटेको छ ।
हप्ताको शुरुमा भाउ प्रतिऔंस २ हजार डलरभन्दा माथि थियो । स्टिमुलस प्याकेज सम्झौतामा भएको ढिलाई, अमेरिकी डलर रियल इस्टेटमा आएको सुधारका कारण हप्ताभर नै सुनको भाउमा निकै उतारचढाव आएको स्ट्यान्डर्ड चार्टर्डका विश्लेषक सुकी कुपरले भने । शुक्रवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको भाउ शून्य दशमलव ६ प्रतिशतले बढ्दा अन्य मुद्रा बाहकका लागि सुन महँगो बन्यो ।
अमेरिकाको व्यवसायिक गतिविधि यो महीना सन् २०१९ को शुरुयताकै उच्च विन्दुमा पुगेको तथ्यांक सार्वजनिक भएपछि अमेरिकी शेयर बजार पनि वृद्धि भयो भने अमेरिकी ट्रेजरीको प्रतिफल पनि बढ्यो ।
‘केही पक्षहरुमा आर्थिक तथ्यांक अपेक्षा गरिएभन्दा राम्रो भएको हामीहरुले देखिरहेका छौं, यद्यपि, महामारी विशेषगरी रोजगारीको अवस्थाको सम्बन्धमा स्पष्ट रुपमा अझै पनि चिन्ताहरु छन्,’ हाइ रिज फ्यूचर्समा धातु ट्रेडिङ निर्देशक डेभिड मेगरले भने । एजेन्सी