काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञापछि काठमाडौं उपत्यकामा तरकारीजन्य वस्तुको भाउ बढेको छ । उपत्यकाको ठूलो तरकारी बजार कालीमाटीमा केहीको थोक मूल्य बढेको छ ।
कालीमाटी बजारमा निषेधाज्ञा हुन अघिको शनिबार(साउन ३१ गते) को तुलनामा यो साता गोलभेडा, प्याज बन्दा, बोडी, भटमासकोशा, परवर, हरियोफर्सी, भिण्डी, काँक्रो र कागती लगायतका तरकारीको मूल्य बढेको छ ।
अघिल्लो शनिबार ठूलो गोलभेडाको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ थियो । अहिले बढेर प्रतिकेजी ७८ रुपैयाँ पुगेको छ । २८ रुपैयाँमा पाइने सानो गोलभेडाको भाउ अहिले थोक बजारमै ६२ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
अघिल्लो हप्ता ३३ रुपैयाँ प्रतिकेजीमा पाइने सानो गोलभेडा(टनेल) को मूल्य दोब्बर भन्दा बढि बढेर ६८ रुपैयाँ पुगेको छ । ३१ रुपैयाँ प्रतिकेजीमा अघिल्लो हप्ता पाइने प्याजको मुल्य बढेर ३८ रुपैयाँ पुगेको छ । त्यस्तै, ३८ रुपैयाँ प्रतिकेजीमा पाइने बन्दाको मूल्य बढेर ४८ रुपैयाँ पुगेको छ ।
त्यस्तैगरी, ७० रुपैयाँ प्रतिकेजीमा पाइने तुने बोडीको थोकमूल्य बढेर ९५ रुपैयाँ पुगेको छ । ६५ रुपैयाँ प्रतिकेजी पर्ने भटमासकोशाको मुल्य बढेर प्रतिकेजी ९५ रुपैयाँ पुगेको छ । यसअघि ७५ रुपैँयामा पाइने परवरको मुल्य बढेर ९८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हरियोफर्सी, भिण्डी र कागती लगायतका तरकारी तथा फलफूलको पनि थोक मूल्य बढेको देखिन्छ । निषेधाज्ञापछि तरकारी तथा फलफूलजन्य वस्तुको ढुवानी र आपूर्तिमा समस्या हुँदा मूल्य बढेको व्यापारीहरुको भनाई छ । बिहान र बेलुका पनि तरकारी पसल नखुल्ने र आपूर्तिमै समस्या भएको तरकारी व्यवसायीहरु बताउँछन् ।
तरकारी तथा फलफूलको बढेपनि कुखुराको मासु ‘चिकेन’ को मूल्य भने घटेको छ । कोरोना भाइरस संक्रमणको जोखिम चिकेनमा पनि हुनसक्ने भन्दै उपभोक्ता सचेत हुँदा मागअनुसार मासु खपत हुन सकेको छैन् ।
खपत निकै कम हुँदा कुखुराको मासुको मूल्य घटेको व्यापारीले बताएका छन् ।यसअघि ४०० रुपैयाँसम्म पुगेको कुखुराको मासुको भाउ घटेर अहिले २५० देखि २८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।