काठमाडौं । झट्ट हेर्दा कफीसप जस्तो देखिने । सटरभित्र सजिएका टोकरीमा फलफूल, काठैकाठैले बनेको ¥याकमा मिलाएर राखिएको तरकारीहरु, सटर बाहिरै मेनु, प्रत्येक तरकारीको मूल्यसहितको जानकारी ।
कुनै मिनीमार्टकोे झल्को दिने गरी गैह्रीधारामा एक महिनाअघि मात्र खुलेको काठमाडौं फ्रेसले छोटो समयमै ताजा तरकारी र फलफूल ‘सर्भ’ गरिसकेको छ ।
लकडाउनका कारण धेरै व्यापार व्यवसायहरु चौपट भइरहेको छ । विषेश गरेर पर्यटन क्षेत्रसँग आबद्ध भएका व्यवसायहरुमा नराम्रोसँग असर गरिरहेको छ ।
कोरोना र त्यसपछिको लकडाउनले व्यापारमा मन्दी आएपछि धेरै अन्यौल भइरहेको समयमा पर्यटन क्षेत्रसँग आबद्ध पाँच जना युवाहरुले भने अहिलेको समयमा जुध्न नयाँ व्यवसायमा हात हालेका हुन् । पर्यटन व्यवसाय गर्दै आएका पाँच युवाहरुले बजारमा तत्कालै के के गर्न सकिन्छ भनेर बुझेपछि दैनिक आवश्यक पर्ने तरकारीमा लगानी गरेका हुन् ।
लकडाउनका कारण घर भित्रै थुनिनुको पीडालाई भुल्दै नयाँ आशा,जोश र जाँगरका साथ काठमाडौंभित्रै गरिरहेको भन्दा फरक किसिमको व्यवसाय गर्ने अठोट लिएर तरकारी पसलमा लगानी गरेको भिमसेन शर्माले बताए ।
मान्छेहरुलाई घरभित्रै बसिरहेको बेला अति आवश्यक भित्र पर्ने फलफूल र तरकारीलाई कसरी घर घरमै पुर्याएर सेवा दिन सकिन्छ भन्ने सोचका साथ उनिहरुले केही समय अनलाइन मार्फत बुकिङ लिने र आफ्नै गाडीलाई प्रयोग गरेर निःशुल्क रुपमा होम डेलिभरी गर्ने सोच बनाए ।
पर्यटन क्षेत्र भन्दा भिन्न काम भएकोले उनिहरुलाई सुरु सुरुमा केहि असहज भयो । तर, हार मानेन । खाद्यान्न, तरकारी र फलपूmलहरु त सामान्यतया बजारमा पाइरहेका थिए । त्यसमा केही नयाँ गर्नुपर्छ भन्ने सोच राखेर उनिहरुले अर्गानीक तरकारी र फलफूलहरु पनि डेलिभरी गर्न थाले ।
जुम्लामा उत्पादन भएको चामल, सिमी, ओखर, जिम्बु लगायत नुवाकोटको स्थानीय अण्डासहित स्थानीयस्तरमा उत्पादन गरिएको अचार, घ्यूहरुलाई घरघरमा पुरउने काम सुरु गरे ।
काठमाडौं फ्रेस नाम दिइएको उनिहरुको सो व्यवसाय १५ लाख रुपैयाँबाट सुरु गरिएको हो । सञ्चालक शर्माले अनलाइन मार्फत अर्डर लिने र घरघरमा पुर्याइरहदा ग्राहकहरुकै इच्छा र मागअनुसार एक महिना अघिबाट गैह्रीधारामा समेत एउटा सटर लिएर पसल सुरु गरेका छन् ।
आफै उपस्थित भएर सामान खरिद गर्न चाहनेहरुको ध्यानमा राखेर पसल सुरु गरिएको अर्का सञ्चालक महेश शर्माको भनाई छ । ‘लकडाउन भएसँगै व्यापार व्यवसाय सबै ठप्प भयो’, सञ्चालक शर्मा भन्छन्, ‘त्यसमा हामीले हार नखाएर नयाँ काम सुरु गरेका छौं र यहाँ सफल पनि भइरहेका छौं’ ।
लकडाउनको परिस्थितीमा घरबाहिर निस्कन समस्या भइरहेको बेला नयाँ आइडियाको साथमा यो व्यवसाय सुरु गरेको उनको भनाई छ । लकडाउनपछि घरमा त्यतिकै बसेर मात्र हुदैन भन्ने सोचका साथ ट्राभल एजेन्सीकै कार्यालय कमलादीबाट सुरु गरेको व्यवसाय अहिले काठमाडौं उपत्यकाको अधिकाशंको घरघरसम्म सामान पुर्याउन थालिएको छ ।
काठमाडौं फ्रेसमा ताजा फलफूलहरु, अर्गानीक तरकारीहरु र जुम्लामा उत्पादन भएका चामल, दाल, सिमि लगायतका खाद्यन्नहरु पाइन्छ । फापरको पिठो,च्याँखला, कोदाको पिठो लगायत लोकल अचार,लोकल घ्यु,मह लगायतका सामाग्रीहरु पाइन्छ । हेर्दा सानो स्टोर देखिए पनि आवश्यक सबै तरकारी र फलफूलहरु एकै ठाउँमा पाइन्छ ।
पाँचै जना विदेशमा अध्ययन गरी फर्किएका
काठमाडौं फ्रेस सञ्चालन गर्दै आएका पाँच जना युवाहरु विदेशमा अध्ययन गरेर नेपाल फर्किएका हुन् । स्वदेशमै केही नयाँ काम गर्नुपर्छ भन्न्ने सोचका साथ ट्राभल, टुरिजम र कन्सल्टेन्सी व्यवसाय गर्दै आएका थिए ।
उनिहरुले सन एण्ड फन होलिडेज नामक ट्राभल एजेन्सी र ब्रेनग्रेन कन्सल्टेन्सी सञ्चालनमा थियो । दुईओटै व्यवसाय धरासायी भएपछि नयाँ विकल्पको रुपमा तरकारी पसल सञ्चालन गरिएको बताइएको छ ।
सञ्चालकहरु मध्ये भिमसेन शर्मा अस्ट्रेलिया, आलोक न्यौपाने अमेरिका, महेश शर्मा युके, सन्तोष खतिवडा अस्ट्रेलिया, रुपक कोइराला युरोपमा अध्ययन गरेर फर्केका युवाहरु हुन् ।
पूर्ण अर्गानिक तरकारी पाउन मुस्किल
बजारमा अर्गानिक तरकारी र फलपूलको माग अत्याधिक रहेपनि त्यो किसिमको सामान पाउन मुस्किल परेको सञ्चालकहरुको भनाई छ । नेपालमा अर्गानिक बस्तुको माग धेरै रहेपनि उत्पादन नै कम भएको र उत्पादन भएका सामाग्रीहरुले पनि बजार पाउन समस्या भएको उनिहरुको ठहर छ ।
अहिले काठमाडौं फ्रेसमा पनि सोचे जस्तो र माग अनुसारको अर्गानिक तरकारी र फलफूलहरु पाउन समस्या भएको बताउँछन् । हामीले प्रयास गरिरहेका छौं तर, माग अनुसारको पाउन सकिएका छैन उनीहरुले भने ।
शाखा विस्तार गर्दै
गैह्रीधाराबाट सुरु गरिएको काठमाडौं फ्रेसलाई उपत्यकासहित देशका विभिन्न भागमा विस्तार गर्ने लक्ष्य सञ्चालकहरुले राखेका छन् । ट्राभल एण्ड टुरिजमलाई साथमै लिएर तरकारी पसललाई पनि नयाँ ढंगबाट शाखा विस्तार गर्ने सोच रहेको उनीहरु बताउँछन् ।
यसबाट नयाँ नयाँ युवाहरुलाई पनि आकर्षण गराउन सकिन्छ भने कृषकहरुलाई पनि उत्पादनका लागि हौसला मिल्ने छ । ‘आखिरमा सबैभन्दा राम्रो र भरपर्दो व्यवसाय भनेको तरकारी र फलफुल पसल नै देखियो,’ शर्माले भने ।
सिधै किसानबाट खरिद गर्ने
अहिले सबैभन्दा बढी गुनासो आउने गरेको भनेकै किसानबाट उठाएको तरकारी र फलपूmलको मुल्य आकाशपतालको फरक छ भन्ने हो । किसानबाट सस्तो मुल्यमा उठाएर तीन/ चार चरणमा विचौलियाहरुले नाफा राखेर बजारमा तरकारी पठाउँदा अचाक्ली महंगो हुने भएकोले काठमाडौं फ्रेसले भने सिधै किसानहरुसँग सम्पर्क राखेर तरकारी र फलपूmलहरु ल्याउन थालेको छ ।
यसबाट किसानले पनि आफ्नो उत्पादन अनुसारको मूल्य पाउने छन् भने उपभोक्ताहरुले पनि केही सस्तो दरमा उपभोग गर्ने पाउने छन् । बिचौलियाहरुले लिने नाफा नराखेर आफुहरुले बिक्री गर्न लागिएको उनिहरुको भनाई छ ।
अहिले पनि दुई तीन जना किसानहरुसँग सम्पर्क राखेर सिधै तरकारी,फलफूलल र लोकल कुखुराको अण्डा राखिएको छ । लकडाउन खुलेपछि त्यसलाई ब्यापकता दिएर लैजाने सोच रहेको शर्माले बताए ।