काठमाडौं । छिमेकी भारत र अमेरिकालगायत अन्य मुलुकहरुमा ‘टिकटक’ बन्द गर्ने होड चलिरहेका बेला नेपालमा भने यसका कारण इन्टरनेट सुस्त हुँदै गएको छ । टिकटकका कारण समस्यामा पर्न थालेको सेवाप्रदायकहरुले बताउन थालेका छन् ।
नेपालमा बन्दाबन्दी (लकडाउन) सुरु भएसँगै बढेका टिकटक प्रयोगकर्ताले कुल आयातित व्यान्डवीथमध्ये २५ प्रतिशत हिस्सा खपत गरेकाले इन्टरनेट सेवामै ठूलो समस्यामा आएको जिकिर गर्न थालिएको छ । सरकारले चैत ११ देखि देशव्यापी लकडाउन गरेसँगै नेपालमा टिकटक प्रयोगकर्ता ह्वातै बढेका छन् ।
इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का अध्यक्ष भोजराज भट्टले यहाँ नेपाल र भारतकै कन्टेन्टहरु बढी हेरिने गरेकाले सेवामा समस्या आएको दावी गरे । ‘लोकल क्यास सर्भिसमा स्टोरेज भइरहे पनि भारतले प्रतिवन्ध लगाएसँगै टिकटकले पनि केही प्राविधिक बिषय परिवर्तन गरेपछि नेपालमा पनि यसको प्रभाव परेको हो’ उनले क्यापिटल नेपालसंग भने ।
ठूला इन्टरनेट सेवा प्रदायकहरुले टिकटकको प्रयोग र ब्याण्डविथको खपत बढेसँगै त्यसको व्यवस्थापनमा सेवाप्रदायकहरु लागि परेको बताउँदै आएका छन् । हाल इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट ५०० गीगाबीट प्रतिसेकेन्ट (जीवीपिएस) भन्दा बढी व्यान्डवीथ आयात गर्दै आएका छन् । नेपालमा १२० जीवीपीएस भन्दा बढी व्यान्डवीथ मासिक रुपमा खपत हुँदै आएको छ ।
याे पनि पढ्नुहाेस, झुर इन्टरनेट भन्दै सेवाप्रदायकमाथि उपभोक्ताको आक्रोश
भारतमा लागेको प्रतिबन्धसँगै नेपालमा टिकटक प्रयोग र व्याण्डविथ खपत अचाक्ली बढीरहेको संघको भनाई छ । टिकटकमा व्यान्डवीथ खपतले तत्काल ठूलो असर नगरे पनि भविष्यमा समग्र इन्टरनेट सेवा नै प्रभावित हुने सेवाप्रदायकहरुले बताउन थालेका छन् । यतिबेला सेवाप्रदायकहरु टिकटक प्रयोग कसरी कम गराउन सकिन्छ भन्ने बारेमा केन्द्रित भएका छन् ।
इन्टरनेट सेवाका नेपालमा हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल (एचटिटिपि)मा आकामाईको सर्भरमा टिकटकको स्थानीय सर्भर (क्यास) राखिने गरेकोमा हाल टिकटकले एचटिटिपिएसमा डाटा राख्न थालेपछि समग्र इन्टरनेट सेवा प्रभावित भएको आईस्पानसम्वद्ध अधिकारीहरुले बताउने गरेका छन् ।
यतिबेला सेवाप्रदायकहरु थप व्यान्डवीथ खपत बढाउने अथवा टिकटक प्रयोगमा कम गराउने बारे दुईओटा विकल्पबारे छलफल र बहस चलाइरहेका छन् । इन्टरनेटको गुणस्तरमा पहिलेदेखि नै समस्या भोगेका उपभोक्ताहरुले लकडाउनपछि झनै भोगिरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणमा इन्टरनेटको गुणस्तर खस्किएको र सेवा भनेजस्तो नभएको भन्दै गुनासाका चाङ् छन् । प्राधिकरणले उजुरीहरुको यथेष्ठ अध्ययन गर्न चाहेको छैन । प्राधिकरणले पनि इन्टरनेटमा किन समस्या आएको छ ? त्यसको समाधान के हो ? र, आइस्पानहरुले के के काम गर्नुपर्ने आवश्यकता छ ? भन्ने बारे कुनै सपष्ट निर्देशन दिन सकेको छैन । प्राधिकरणले सेवा प्रदायकहरको कमजोरीमाथि प्रश्न नउठाएपछि लापरवाहीको हद पार गरिसकेका छन् । जसको मार उपभोक्तालाई परेको छ ।
यसरी बढ्यो टिकटकमा क्रेज
सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेबाट देशैभर लकडाउन गर्यो । प्राय सबै मानिसहरु घरभित्र बस्नुपर्ने अवस्था सिर्जना भयो । भित्रै बस्नुपर्ने बाध्यतासँगै मानिसले दिन कटाउने उपाएबारे सोच्न थाले । लकडाउनमा घरभित्रको साथी टिभि र फेसबुकको विकल्पमा टिकटक धेरैको रोजाईमा पर्यो ।
फेसबुक, युट्युुब, ट्वीटरबाट दिक्क भएकाहरु टिकटकतर्फ आकर्षित भए । नियमित इन्टरनेट प्रयोगकर्तासँगै टिकटकमा थप व्यक्तिहरु पनि आकर्षित भएपछि नेपालमा भित्रने अन्तर्राष्ट्रिय व्यान्डवीथमा समस्या आयो । नेपालमा टिकटक प्रयोगकर्ता कति छन भन्ने एकिन तथ्याङ्क नभएपनि करीव ५० लाख भन्दा बढीले टिकटक चलाउने अनुमान छ ।
टिकटककै कारण इन्टरनेट सेवामा समस्या आएको हो ?
विगतमा नेपालमा आयात हुने व्याडवीथको बढी हिस्सा फेसबुक, युट्युब, ट्विटर, गुगल लगाएतमै खपत हुने गरेकोमा अहिले टिकटक पनि थपिएको छ । सेवा प्रदायहरुलाई टिकटकलाई देखाएर गुणस्तरीय सेवाबाट पन्छिन खोजिरहेका छन् ।
टिकटकले हाइपर टेक्सट् ट्रान्सफर प्रोटोकल (एसटीटीपीबाट) हाइपर टेक्सट् ट्रान्सफर प्रोटोकल सेक्युर (एसटीटीपीएस) सर्भर परिवर्तन गरेपछि नेपालमा पनि लोकल सर्भरमा संग्रहित हुने सम्भावना कम भएकाले सिधै टिकटक चलाउँदा अन्तर्राष्ट्रिय व्यान्डवीथ बढी खपत भएको अध्यक्ष भट्टको भनाई छ । लकडाउनको समयमा २५ प्रतिशत व्यान्डवीथ बढ्यो, अहिले फेरी ३० प्रतिशत व्यान्डवीथ खपत बढेका कारण इन्टरनेट सेवा प्रदायकले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको उनले दावी गरे ।
सेवाप्रदायकले थप व्यान्डवीथ खरिद गर्दा पनि अहिलेकै अवस्थामा इन्टरनेट सेवाप्रदायकले धान्न नसक्ने स्थिति सिर्जना भएको सेवा प्रदायकको भनाई छ । नेपालमा गुगल प्लेस्टोरबाट टिकटक सबैभन्दा बढी डाउनलोड हुने गरेको छ । हाल विश्वमा टिकटक प्रयोगकर्ता १ अर्ब भन्दा बढी रहेको अनुमान छ ।