काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गैरकानूनी रुपमा हेलिकप्टर कम्पनीहरुबाट प्रतिउडान ५० डलर उठाउन थालेको छ । प्राधिकरणले त्यसमा पनि थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिने गरेको छ ।
कोरोना भाइरसको कारण हवाई क्षेत्र संकटमा परेको भन्दै विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने सरकारी निर्णय भइरहेको बेला क्यानले भने हेलिकप्टरबाट थप शुल्क असुलिरहेको हो ।
हेलिकप्टर कम्पनीहरु चार्टर्ड उडान गर्ने भनेर दर्ता भएका हुन्छन् । प्राधिकरणले भने अहिले संकट बेला उद्धारमा रहेका हेलिकप्टरलाई चार्टर्ड उडान भन्दै सो रकम उठाउन थालेको हो । यसअघि त्यस्तो शुल्क उठाउने गरिएको थिएन ।
हेलिकप्टरको कुनै नियमित उडान भन्ने हुँदैन । सामान्यतया चार्टर्ड उडाननै गर्ने भएकोले सो रकम उठाउनु गैरकानूनी भएको व्यवसायीहरुको दाबी छ ।
झन,कोरोना भाइरसको प्रभावले अधिकाशं हेलिकप्टरहरु ग्राउण्डेड भएकोले छिटफुट आउने चार्टर्ड उडानमा पनि ५० डलर प्राधिकरणलाई बुझाउँदा राहत पाउनुपर्ने कम्पनीहरुलाई प्राधिकरणले आर्थिक भार पारेको उनीहरुको भनाई छ ।
हेलिकप्टर कम्पनीलाई चार्टर्ड उडान भनेर अनुमति दिने भएकोले त्यसबाट थप शुल्क लिदा व्यवसायीहरु मारमा परेको कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।
‘चार्टर्डमा पनि उद्धार उडानहरु धेरै कम शुल्कमा गरिने भएकाले त्यसबाट पनि प्राधिकरणलाई ५० डलर अतिरिक्त शुल्क दिँदा समस्या पर्न थालेको छ,’ उनले भने ‘प्राधिकरणले यसरी रकम उठाउने काम तत्कालै बन्द गर्नुपर्छ ।’
प्राधिकरणको कुनै पनि नियममा हेलिकप्टर कम्पनीबाट प्रति उडान ५० डलर लिने भन्ने उल्लेख नभएकोले गैरकानूनी रुपमा पैसा उठाउने काम बन्द गर्न व्यवसायीहरुले अनुरोध गरेका छन् । व्यवसायीहरुलाई सहुलियत दिएर हौसला दिनुपर्ने बेला अनावश्यक रुपमा शुल्क उठाएर झन समस्यामा पार्न खोजेको पाण्डेको ठहर छ । एओसी लिदा नै शुल्क बुझाइसकेको हुँदा अहिले फेरी थप शुल्क लिदा व्यवसायनै संकटमा परेको उनको भनाई छ । पहिला पहिला एउटै हेलिकप्टरले दैनिक १० देखी १२ वटासम्म उडान गर्दापनि कुनै शुल्क नतिरेको प्रवन्ध निर्देशक पाण्डेको भनाई छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता एवंम हेलि एभरेष्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ ) योगराज कँडेलले हेलिकप्टर कम्पनीहरुबाट अतिरिक्त शुल्क लिने विषय कही उल्लेख नभएको बताए ।
प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई सहुलियत दिनुपर्ने बेलामा थप शुल्क उठाएर व्यवसाय सञ्चालनमै बाधा पुर्याएको भन्दै संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १५ दिनअघि निवेदन समेत दिइएको उनले जानकारी दिए ।
मन्त्रालयले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए पनि हालसम्म निर्णय भएको छैन । यस विषयमा मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईसँग बुझ्दा कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने पहिलादेखि नै उठाउने गरिएकोले त्यसलाई निरन्तरता मात्र दिइएको जिकिर गरे । ‘यो रकम गैरकानूनी रुपमा उठाएको हैन,’ महानिर्देशक पोखरेलले भने ‘पहिलाकै कामलाई निरन्तरता मात्र दिइएको हो’ ।
तर, महानिर्देशक पोखरेलले भनेझै पहिला प्रति उडानमा ५० डलर उठाउने नगरिएको व्यवसायीहरुले नै बताउँछन् । विगतमा निषेधित क्षेत्रको उडानका लागि भने छुट्टै शुल्क क्यानले उठाउने गरेपनि प्रति फ्लाइट चार्टर्डमा शुल्क नभएको व्यवसायीहरुको दाबी छ ।
हाल १० ओटा कम्पनीको ३७ वटा हेलिकप्टर सञ्चालनमा रहेका छन् । कोरोना भाइरसको कारण अहिले अधिकाशं हेलिकप्टरहरु ग्राउण्डेड भएका छन् ।