काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी काबेली करिडोर प्रसारण लाइन दुई हप्ताभित्र सञ्चालनमा आउने भएको छ । विश्व बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको प्रसारण लाइनको तेस्रो चरणअन्तर्गत १ किलोमिटर तार तान्ने काम बाँकी छ ।
आयोजना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । १ किमि तार तान्ने काम दुई हप्ताभित्र सम्पन्न गरी लाइन चार्ज गर्ने योजना रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले क्यापिटल नेपाललाई बताए । ‘तेस्रो फेजअन्तर्गत १ किमि तार तान्ने काम बाँकी छ, काम भइरहेको छ,’ उनले भने, ‘वर्षाले अवरुद्ध नगरे २ हप्ताभित्र लाइन चार्ज गर्छौं ।’
प्रसारण लाइन निर्माण भएपछि त्यस क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट २०० मेगावाटसम्म बिजुली प्रवाह हुनेछ ।
तेस्रो चरणमा इलामको गोदकदेखि पाँचथरको फिदिमसम्म १३.३ किमिमध्ये अधिकांश काम सम्पन्न भएको छ । बाँकी १ किमि वनक्षेत्र पर्छ । तर, ठेकेदारले निरन्तर काम गरिरहेको आयोजनाले जनाएको छ । ४० ओटामध्ये ३९ ओटा टावर गाडिसकिएको र १२ किमि तार तान्ने काम सकिएको छ ।
त्यस खण्डमा करिब १० किमि वनक्षेत्र पर्छ । रुख कटान गर्न स्वीकृति र ठेकेदारको ढिलाइका कारण आयोजना समयमै बनाउन नसकिएको द्विवेदीले बताए ।
दोस्रो फेजअन्तर्गत झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुरसम्म पर्छ, जुन यसअघि नै चार्ज भइसकेको छ । ४२.८८ किलोमिटरको उक्त खण्डमा १२५ ओटा टावर निर्माण भएका छन् ।
आयोजना निर्माणका लागि वनक्षेत्र प्रयोग गर्नसरकारले स्वीकृति दिइसकेको छ । झापाको पाराजुँगीदेखि पाँचथरको अमरपुसम्म तीन फेजमा छुट्याई काम अघि बढाइएको थियो । यसमध्ये पहिलो फेज (गोदक—दमक)को काम दुई वर्षअघि नै सम्पन्न भएको थियो । हालसम्म प्रसारण लाइनको ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।
त्यसक्षेत्रमा १० मेगावाटको इवाखोला र २५ मेगावाटको काबेली ‘बी’ जलविद्युत् आयोजनाबाट यसै लाइनमा जोडिनेछन् । गत आर्थिक वर्षको असार मसान्तसम्म प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहे पनि ठेकेदारको ढिलाइले आयोजना पूरा हुन सकेन ।
ठेकेदार कम्पनीले आयोजनामा ढिलाइ गरेपछि आयोजनाले प्रवद्र्धकलाई जरिवाना लगाउने जनाएको छ । ज्यागुवार ओभरसिज जेभीले आयोजना निर्माण गरिरहेको छ ।
१० वर्षअघि सुरु गरिएको आयोजना लामो समय स्थानीयको अवरोध, जग्गा र वन समस्यामा फस्यो । पछि विसं २०६९ देखि आयोजना निर्माणले गति लिन थाल्यो ।
आयोजनाको कुल लागत २ अर्ब ७५ करोड रुपैयाँ छ । हालसम्म झन्डै २ अर्ब ४६ करोड रुपैयाँ आयोजना निर्माणमा खर्च भइसकेको द्विवेदीले जानकारी दिए ।