बीबीसी । भारतमा बिहीवार दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक धेरै रेकर्ड गरिएको छ। युरोपका देशहरूमा दैनिक कोरोना भाइरस सङ्क्रमणका सङ्ख्या महिनौँपछि सबैभन्दा धेरै हुन थालेका छन्। स्पेन, इटली र जर्मनीमा अत्यधिक वृद्धि देखिएका छन्। साथै एसियाको दक्षिण कोरियामा पाँच महिनायता सर्वाधिक वृद्धि देखिएको छ।
भारतमा बिहीवार सर्वाधिक दैनिक वृद्धि देखिएको छ। त्यहाँ एकै दिनमा थप ६९ हजार ६७२ कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्। योसँगै त्यहाँ कुल २८ लाख भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छन्।बिहीवार थप ९९७ सहित भारतमा कुल ५३,८८६ जनाको ज्यान गइसकेको छ। अमेरिका र ब्राजिलपछि भारत सबभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित भेटिएको मुलुक हो।
युरोपमा पनि बढ्न थाल्यो
बुधवार स्पेनमा ३ हजार ७१५ नयाँ सङ्क्रमित फेला परेका छन । जुनको अन्त्यताका स्पेनमा कडा लकडाउन हटाएपछि यो सबभन्दा धेरै सङ्ख्या हो। इटलीमा बुधवार ६४२ नयाँ सङ्क्रमित फेला परे जुन मेको अन्त्ययता त्यहाँ दैनिक देखिएको सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो।
जर्मनीमा १ हजार ७०७ जना सङ्क्रमित पाइएका छन् जुन अप्रिलयता कै धेरै हो। फ्रान्समा पनि मे महिनामा जत्तिकै परिमाणमा सङ्क्रमणहरू बढ्न थालेका छन्। बुधवार त्यहाँ थप ३ हजार ८०० सङ्क्रमित भेटिएका छन्। कैयन् युरोपेली देशहरूले यात्रामा नियन्त्रण गर्ने उपाय तथा सामाजिक दूरी तथा मास्क लगाउने नियम लगाएका छन्।
एसियामा पनि बढ्यो
दक्षिण कोरियाली अधिकारीहरूले सोलमा १० जनाभन्दा धेरै मानिस भेला हुन नपाउने नियम ल्याएका छन्। त्यहाँ पाँच महिना यताकै धेरै सङ्क्रमित फेला परेपछि यो महिनाको अन्तसम्म उक्त नियम लागु गरिने बताइएको छ।
पछिल्लो समय त्यहाँ एउटा चर्चमा देखा परेको कोरोना भाइरस सङ्क्रमण सोलका एक सयभन्दा धेरै ठाउँमा फैलिएको छ। साराङ्ग जेइल चर्चले दक्षिण कोरियाली सरकारको चर्को आलोचना गर्दै आएको छ। आफूहरूलाई अन्यायपूर्ण ढङ्गले निशानामा पारिएको भन्दै चर्चका कतिपय सदस्यले भाइरस परीक्षण गराउन पनि अटेर गरेका छन्।