हजारौ ग्राहकको दिनहुँ चहलपहल हुने विराटनगर वितरण केन्द्र आजभोलि पुरा सुनसान छ । कार्यालयमा प्रवेश गर्दा लाग्छ, के यो विराटनगर वितरण केन्द्र नै हो त ? प्रदेश नं १ को सवैभन्दा ठुलो वितरण केन्द्र कोरोना कहरले थला परेको छ ।
अधिकांश कर्मचारीहरु होम क्वारेन्टाईनमा छन् भने अत्यावश्यक सेवाहरु नो लाइट,मर्मत सम्भार ,मिटर सिकायत तथा सवस्टेशनका सेवा भने अटुट रुपमा सञ्चालन गरिएको छ । कार्यालयमा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण हुनुका साथै एक जना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भएपछि अधिकांश कर्मचारीहरु मनोवैज्ञानिक त्रासमा रहेका छन् ।
त्रासका विचमा पनि अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले तोकिएको जिम्मेवारी पुरा गरिरहेका छन् ।
कोरोना कहरका विचमा कार्यालयवाट सेवा प्रवाह गर्दा सुरक्षा सतर्कता नअपनाइएको पनि होईन । तर, पनि हजारौ ग्राहकले सेवा लिने र करिव २०० कर्मचारी कार्यरत कार्यालयमा यो माहामारीमा कोरोना संक्रमणवाट कर्मचारीलाई बचाउन भने सकिएन जुन नेपाल विद्युत् प्राधिकरणको लागि अत्यन्तै महंगो सावित भएको छ ।
एकातिर निरन्तर विद्युत सेवा प्रवाह गर्नुपर्ने दायित्व विद्युत प्राधिकरण समक्ष छ भने अर्कोतिर कोरोनावाट कर्मचारीहरुलाई सुरक्षित राख्नु पनि उत्तिकै चुनौतीपूर्ण छ । कोरोना कहरका बिचमा अत्यावश्यकसहित अन्य सेवा कसरी सञ्चालन गर्ने भन्ने बारेमा अवको ध्यान केन्द्रीत हुनु आवश्यक छ । नेपाल विद्युत प्राधिकरणको मुटुको रुपमा रहेका वितरण केन्द्र कोरोनावाट थलिएमा नेविप्राको आर्थिक स्वास्थ्य धराशायी हुन धेरै समय कुर्नुपर्ने छैन ।
समय छँदै कोरोना कहरवाट जनशक्ति बचाउदै कार्यालयको सेवा सहज वनाउन नेविप्राले आवश्यक रणनितीक सोच अघि बढाउनु अत्यावश्यक छ ।कोरोना कहर छिटै सकिने कुनै संकेत छैन । त्यसैले निम्न उपाय अवलम्वन गर्दै कार्यालय सुचारु गर्न उपयुक्त हुन्छ ः
१. कार्यालयमा कार्यरत दिर्घरोगी कर्मचारीहरुको पहिचान गरि उनीहरुलाई भिडभाड नहुने ठाँउमा काम दिने वा कोरोना कहरसम्मलाई तलबी बिदा दिने ।
२. कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना परिक्षण गरि नेगेटिभ आएका कर्मचारीलाई काममा लगाउने र पोजेटिभ आएका कर्मचारीलाई नेविप्राले आफ्नै आइसोलेशनमा राख्ने ।
३. न्युनतम संख्याका कर्मचारीको प्रयोग गर्ने र कर्मचारीलाई आलोपालो काममा लगाउने ।
४. फ्युज सेवाको सन्चालनमा एउटा ग्रुपलाई एक हप्ता कार्यालयमै आवाशिय सुविधासहितको ड्युटि तोक्ने र एक हप्ते ड्युटि सकिएपछि अनिवार्य कोरोना परिक्षण गराउने र अर्को ग्रुपलाई काममा लगाउने
५. कार्यालयमा प्रवेश गर्ने कर्मचारी र ग्राहक दुवैले अनिवार्य रुपमा मास्क र सेनिटाईजरको प्रयोग गर्ने, मास्क प्रयोग नगर्नेलाई कार्यालय प्रवेश निषेध गर्ने,अग्रपंतिमा काम गर्नेले अनिवार्य रुपमा फेस सिल्डको प्रयोग गर्ने ।
६. प्रत्येक कार्यालयले कर्मचारीहरुको नियमित रुपमा स्वास्थ्य अवस्थाको जानकारी लिने ।
७. सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गरि सेवाग्राहिको कार्यालयमा हुने भौतिक उपस्थिति घटाउने ।
८. कर्मचारीको आत्मवल वढाउन नेतृत्वमा रहनेहरु सधै चनाखो रहने ।
कुनै पनि संगठनलाई चलायमान गराउने अमुल्य निधिको रुपमा रहेको मानव संसाधन सुरक्षित रहन सके मात्र संगठन गतिशिल हुनसक्छ । त्यसैले मानव संसाधनलाई बचाउने हरेक उपाय अवलम्व गरौं । मानव संसाधनको स्वास्थ्यको सुरक्षामा लगानी गरी स्वस्थ्य कर्मचारीमार्फत कोरोना कहरको बिचमा प्रभावकारी सेवा प्रवाह गरौं ।
(लेखक नेपाल विद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्र प्रशासकीय अधिकृत तथा सुचना अधिकारी हुन् ।)