(स्वीटजरल्याण्ड) । विश्वको वस्तु व्यापारमा ऐतिहासिक कमी आएको छ । कोरोना भाइरसको महामारीबीच व्यापार प्रभावित भएको हो ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले बुधवार बताएअनुसार संगठनको वस्तु व्यापार ब्यारोमिटर यस वर्षको दोस्रो त्रैमासमा अहिलेसम्मकै न्यूनस्तरमा झरेको हो । यसको अर्थ अप्रिल–जुन त्रैमासमा विश्वभर वस्तुको व्यापारमा ऐतिहासिक कमी आएको छ भन्ने हुन्छ ।
‘अतिरिक्त सूचकांकहरुले विश्व व्यापार र उत्पादनमा तेस्रो त्रैमासमा आंशिक वृद्धि भएको देखाएको छ, तर पुनर्बहाली कतिको बलियो हुन्छ भन्ने चाँहि अनिश्चत रहेको छ : भी आकारकोभन्दा एल आकारको पुनर्बहाली हुनेछ,’ आफ्नो वेबसाइटमा डब्ल्यूटीओले भनेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा जुन त्रैमासमा विश्व व्यापार ब्यारोमिटर १८ दशमलव ६ अंकले घटेर ८४ दशमलव ५ अंकमा आएको छ । यो ब्यारोमिटरले केही महीनाको अवधिमा व्यापारमा आएको परिवर्तनबारे प्रक्षेपण गर्दछ ।
तर महामारीका कारण उत्पन्न अस्थीरताले गर्दा सूचकको प्रक्षेपणात्मक मूल्य घटेको छ । यो सन् २००७ यताकै न्यून भएको बताइएको छ । सूचकमा आएको कमी डब्ल्युटीओको तथ्यांकशास्त्रीहरुले अनुमान गरेकै बराबरको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा वस्तु व्यापार १८ दशमलव ५ प्रतिशतले घट्ने अनुमान उनीहरुको थियो । समीक्षा अवधिमा व्यापारमा आएको कमी अप्रिलदेखि जुनको अवधिको आधिकारिक व्यापार तथ्यांक उपलब्ध भएपछि थाहा हुनेछ ।
यस वर्ष विश्वमा वस्तुको व्यापार १३ प्रतिशतदेखि ३२ प्रतिशतसम्म घट्ने र आगामी वर्ष भने यसमा २१ प्रतिशतदेखि २४ प्रतिशतसम्मको वृद्धि देखिने अप्रिलमा डब्ल्यूटीओले प्रक्षेपण गरेको थियो । तर सरकारहरुले कोरोना भाइरस नियन्त्रण गर्न ल्याएको उपायहरुका कारण यस वर्षको अवस्था यस अघि अनुमान गरिए जस्तो निराशाजनक नहुने संगठनले जुनमा बताएको थियो । एजेन्सी