काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकासहित केही जिल्लाहरुमा निषेधाज्ञा जारी भएपछि नेपाल विद्युत् प्राधिकरणले कार्य सञ्चालनमा खटिने कर्मचारीको संख्यामा भारी कटौती गरेको छ ।
कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि प्राधिकरणले आकस्मिक सेवाबाहेक अन्य वितरण केन्द्रमा कर्मचारी कटौती गरेको हो । देशभरका वितरण केन्द्रमा कार्यरत कर्मचारीमध्ये ७५ प्रतिशत (झन्डै ६ हजार) कर्मचारी कटौती गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण वितरण निर्देशानलयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले देशभरका विद्युत् वितरण केन्द्रमा करिव २ हजार कर्मचारी मात्रै खटिएको बताए । देशभरका वितरण केन्द्रमा गरी झन्डै ८ हजार कर्मचारी कार्यरत छन् । तीमध्ये २५ प्रतिशत अर्थात देशभर झन्डै २००० हजार कर्मचारी मात्रै आज (भदौ ४) गतेदेखि खटिएको न्यौपानेले जानकारी दिए ।
‘देशभर आजदेखि झन्डै २५ प्रतिशत कै हाराहारीमा कर्मचारी कार्यरत छौं । त्यो भनेको विभिन्न वितरण केन्द्र र कार्यालयमा झन्डै २ हजार कर्मचारी खटिनुभएको छ ।’ उनले भने, ‘न्युनतम कर्मचारीबाट कार्यालय सञ्चालन गरेको छौं ।’
उनले हिजो (बुधबार) सम्म ५० प्रतिशत कै हाराहारीमा कार्यरत भएपनि बिहीबारदेखि अन्य जिल्ला र काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा भएपछि कर्मचारी कटौती भएको बताए ।
यता, आकस्मिक सेवामा खटिने कर्मचारी भने कटौती गरिएको छैन् । आकस्मिक सेवाका कार्यालय भने २४ घण्टा नै सञ्चालन हुने छन् । तर, विभिन्न कार्यालय र वितरण केन्द्रमा भने न्युनतम कर्मचारी राखेर नै कार्यालय सञ्चालन भइरहेको उपकार्यकारी निर्देशक न्यौपानेले जानकारी गराए । आकस्मिक सेवाअन्र्तगत मिटर सिकायत, नो लाइट र आकस्मिक मर्मत गर्ने कार्यालयहरु बन्द हुने छैनन् ।
त्यस्तै, कोरोनाबाट बढी प्रभावित वितरण केन्द्रहरू विराटनगर, दमक, जनकपुर, रंगेली लगायतका क्षेत्रमा कर्मचारीको ड्युटी ३/५ दिनमा एक पटक हुने गरी सिफ्टमा मात्रै खटाइएको उनले बताए । विराटनगर वितरण केन्द्रमा भने कर्मचारीलाई कार्यालयमै खाना र बस्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, कुनै—कुनै वितरण केन्द्रमा २४ घण्टे सिफ्टमा कर्मचारी ड्युटी गर्छन् । कम प्रभावित विरतण केन्द्रमा पनि सिफ्टमार्फत कर्मचारी व्यवस्थापन भएको उनले बताए ।
न्युन कर्मचारी राखेर कार्यालय सञ्चालन भएको छ । आकस्मिक सेवा यथावत राखिएको छ । विद्युत् प्राधिकरण अन्र्तगतका देशभर १२९ वितरण केन्द्र र ९ ओटा प्रदेश डिभिजन कार्यालय छन् ।