टोकियो (जापान) । जापानी बहुराष्ट्रिय व्यापारिक घराना सफ्ट बैंक ग्रूप कर्पोरेशनले एमाजन डट कम, टेस्ला, नेटफ्लिक्स र अल्फाबेटलगायत विश्वका २५ ओटा ठूला प्रविधि कम्पनीमा करीब ४ अर्ब डलर लगानी गरेको छ ।
अमेरिकी शेयर नियामक ‘यूएस सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन’ (सेक) मा कम्पनीले बुझाएको फाइलिङले यस्तो देखाएको हो । फाइलिंगअनुसार यी कम्पनीहरुमा सफ्ट बैंकको लगानी ३ अर्ब ९० करोड डलर बराबर रहेको छ ।
पछिल्लो समय कम्पनीले निजी स्टार्ट–अप कम्पनीहरुबाट लगानी गतिविधि विस्तारै सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनीतर्फ बढाइरहेको छ । कम्पनीले सार्वजनिक रुपमा किनबेच हुने शेयरमा १० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना बनाइरहेको यस मामिलाबारे जानकार स्रोतले बताएको छ । सफ्टबैंकसँग एमाजनको १ अर्ब ४ करोड डलर बराबरको शेयर छ ।
त्यस्तैगरी, अल्फाबेटमा ४७ करोड ५० लाख डलर, एडोब इंकमा २४ करोड ८६ लाख डलर र नेटफ्लिक्समा १८ करोड ८० लाख डलर बराबरको शेयर रहेको फाइलिङले देखाएको छ ।
फाइलिङका अनुसार जुन ३० सम्म टेस्लामा कम्पनीको हिस्सा १२ करोड २९ लाख डलर बराबरको रहेको छ । माइक्रोसफ्ट कर्पोरेशन, पेपल होल्डिंस र जूम भिडियो कम्युनिकेशनस इंकमा समेत सफ्टबैंकको क्रमशः १८ करोड ३० लाख डलर, ११ करोड १५ लाख डलर र १० करोड ८८ लाख डलर बराबरको स्वामित्व रहेको छ ।
कम्पनीले बिलिबिलि इंक, आईक्युई इंकलगायत कयौं चिनियाँको कम्पनीको शेयर पनि किनेको छ । सफ्टबैंकले फेसबुक र एप्पल इंकमा पनि लगानी गरेको छ तर यसबारे फाइलिङमा भने केही पनि बताइएको छैन । एजेन्सी