काठमाडौं । विदेशबाट आउने नेपालीहरुलाई राख्न होटलको क्वारेन्टाइनका लागि कोठाहरु सुनिश्चितता नभएको भन्दै १ गते साँझ चार्टर्ड उडानमा रोक लगायो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)का सहसचिव विष्णुराज ढकालको पत्रको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर्ड उडान रोकेको हो । यद्यपि, सरकारले मंगलबार युरोपबाट टर्कीस एयरमार्फत २ सय ९० जना नेपाली भित्र्याएको छ । तर, नेपाल एअरलाईन्समार्फत दुबईबाट ३ सय जना नेपाली ल्याउन भने अनुमति दिएन । सरकारले अनुमति नदिएपछि नेपाल आउने आशामा दुबई एअरपोर्ट पुगेका ३ सय नेपालीहरु निराश भएर फर्किएका छन् ।
सहसचिव ढकालद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढ्दो र क्वारेन्टाइनका लागि होटल व्यवस्थापन भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकाले होटल क्वारेन्टाइन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गरिदिने व्यवस्थाका लागि अनुरोध गरिएको छ ।’
त्यसलगत्तै मन्त्रालयले भदौ २ गतेदेखि लागू हुने गरी सम्पूर्ण चार्टर्ड उडानहरु स्थगन गर्यो । दैनिक ५ सय नेपालीहरु उद्धार गर्ने गरी यसअघि तय भएको चार्टर्ड उडान एक्कासी स्थगन गरिँदा स्वदेश फर्कने तयारीमा रहेका हजारौं नेपाली कामदार अलपत्र मात्रै परेनन्, यता क्वारेन्टाईनका लागि तयारी अवस्थामा बसेका होटलका सञ्चालकहरु पनि अन्यौलमा परे । सम्पूर्ण तयारी गरे बसे पनि उल्टो सरकारले होटलहरुले नै तयारी नगरेर बन्द गर्नुपरेको भन्ने आरोप लगाएपछि होटल व्यवसायीहरुले सरकारी निर्णयप्रति असन्तुस्टि जनाएका छन् ।
क्वारेन्टाइनका लागि होटल प्रयोग गर्ने सहमतिअनुसार व्यवसायीहरुले विदामा रहेका आफ्ना कर्मचारीहरुलाई बोलाएर आवश्यक स्वास्थ्य प्रोटोकलहरु पूरा गर्नुका साथै त्यसअनुरुपको सेवा दिन सम्पूर्ण तयारी गरेका थिए ।
तर, अन्तिममा सरकारले चार्टर्ड उडान स्थगन गरेपछि व्यवसायीहरु थप मारमा परेको होटल एशोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । विदामा बसेका कर्मचारी कार्यालय बोलाईसकेको अवस्थामा सरकारले पुर्ववत् कार्यक्रम रद्ध गरेपछि न कर्मचारीलाई घर जाउ भन्ने अवस्था न होटलमै राख्ने अवस्था सिर्जना भएको छ ।
‘सरकारकै अधिकारीहरुको अनुरोधमा ३ हजार ५ सय कोठाहरु क्वारेन्टाइनका लागि तयार पारेका थियौं’, प्रथम उपाध्यक्ष शाहले भने, ‘अन्तिममा होटलको सुनिश्चितता नभएको बाहना बनाएर चार्टर्ड उडान स्थगन गर्यो ।’ विदेशमा रहेका नेपाली उद्धार गर्ने योजनाअनुसार सरकारले पहिलो चरणमा साउन ३१ गतेसम्म ५१ हजार ४ सय ४१ जना नेपाली स्वदेश फर्किएका थिए ।
त्यतिबेला करीव १० प्रतिसत मात्रै होटल क्वारेन्टिनमा बसेका थिए भने बाँकी सबै ‘होम क्वारेन्टिन’मा बस्ने भन्दै आ–आफ्नो घरमा गएका थिए । होटल क्वारेन्टाइनमा बस्दा मजदुर आफैँले खर्च व्यहोर्नुपर्ने भएपछि सरकारी निर्णयको व्यापक विरोध भएको थियो ।
विदेशबाट फर्किएका नेपालीहरुले अनिवार्य रुपमा सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान बनाइएको थियो । त्यहि अनुरुप काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा रहेका होटल व्यवसायीहरुले क्वारेन्टाइनका लागि ३ हजार ५ सय वटा कोठा तयारी अवस्थामा राखेका थिए । क्वारेन्टाईन बनाउनका लागि होटल सञ्चालक र सरोकारवा पक्षहरुसँग सहमति समेत भएको थियो ।
दोस्रो चरणको उद्धारअन्तर्गत सोमबार ४ सय जना नेपालीहरु विदेशबाट फर्किएका थिए । ती मध्ये १७ जना मात्र होटलमा बसेका थिए भने बाँकी सरकारले क्वारेन्टाइनमा बस्न गएका थिए । स्वदेश फर्कने सूचीमा धेरै मजदुरहरु रहेको र उनीहरुले होटलको लागत व्यहोर्न नसक्ने अनुमानपछि सरकारले हतारमा आफ्नो पूर्व निर्णयबाट पछि हटेको हो । मजदुरहरु होटलमा बस्न जान नमानेको र सरकारले होटलबाहेकको क्वारेन्टाईन ब्यवस्थापन गर्न नसक्दा होटलको तयारी नभएको आरोप लगाएर सरकारले मजदुरहरु उद्धार गर्ने चार्टर्ड उडान स्थगन गरेको हो ।