काठमाडौं । क्वारेन्टाइनका लागि आवश्यक होटलहरु तयार नभहेको भन्दै अनिश्चितकालका लागि उद्धार चार्टर्ड उडानमा रोक लगाएको सरकारले युरोपबाट २०१ जना यात्रुहरु ल्याउन भने अनुमति दिएको छ । त्यसअनुसार सोमबार दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज समेत अवतरण गरिसकेको छ ।
तर, ठीक त्यही सोमबार(आज) नेपाल फर्कन दुबईको विमानस्थलमा आइपुगेका ३ सय नेपाली श्रमिकहरु भने त्यहाँ नै अलपत्र परेका छन् । सरकारको निर्णय अनुसार तय भएको चार्टर्ड उडान अन्तिममा स्थगन भएपछि दुबईमा पुगेको नेपाल एयरलाइन्स(एनएसी)को वाइडबडी जहाज रित्तै बिहान ९ बजे काठमाडौं आइपुगेको छ ।
विमानस्थलमा आइपुगेका ३ सय जना नेपालीहरुलाई ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले अनुमति नदिएपछि जहाज रित्तै फर्किएको हो । आफुहरुलाई लिन आएको जहाज रित्तै नेपाल फर्किएपछि विमानस्थलमा आइपुगेका नेपालीहरु अलपत्र परेका छन् ।
सरकारले निर्धारण गरेको समय अनुसार नै टिकट काटेर विमानस्थलमा आइपुगेका नेपालीहरु अहिले विमास्थलमै बसिरहेका छन् । उनीहरुलाई अब के गर्ने भन्ने विषयमा कुनै निकायबाट जवाफ दिइएको छैन । त्यहाँको नियम अनुसार सोमबारबाट ती श्रमिकहरुको भिषाको म्याद सकिएको छ ।
भिषाको म्याद सकिएपछि उनिहरुले त्यहाँको सरकारलाई जरिवाना तिरेर बस्नुपर्छ । त्यहाँको नियम अनुसार दैनिक १० देखि १२ दिरामसम्म तिर्नुपर्छ ।
नेपाल फर्कनका लागि ९९ प्रतिशत कम्पनीहरुले श्रमिकको टिकट काटेर पठाइसकेको बेलामा उडान रद्ध भएपछि नेपाली यात्रु अलपत्र परेका हुन् । अब उनीहरुलाई कसले जिम्मेवारी लिने भन्ने विषय नै अन्योलमा पारेरसरकारले गम्भीर गल्ती गरेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठको भनाई छ ।
उनीहरु फर्केर कम्पनीमा जाने अवस्था नरहेको र बस्ने ठाउँको समेत उचित व्यवस्थापन नहुँदा श्रमिकहरुलाई थप समस्यामा परेको उनको भनाई छ । यस विषयमा सरकारले गम्भीर रुपमा ध्यान दिएर तत्कालै उद्धार गरी ल्याउन सरकारसँग माग गरेका छन् ।
यता प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने सरकारी निर्णय अनुसार नै चार्टर्ड उडानमा रोक लगाएको बताए । टर्किस एयरलाइन्सको विषयमा भने विभिन्न ट्रान्जिटमार्फत यात्रुहरु आइसकेकोले युरोपको उडानलाई अनुमति दिएको उनको भनाई छ ।