काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक ल्याएको छ। उक्त अफरअन्तर्गत ’एसइइ स्टुडेन्ट सिम’ नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने बताइएको छ।
कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ।
नयाँ लिइएका सिमकार्ड एक्टिभ भएपछि उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा दिनेछ।
नयाँ सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ।
यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमले बताएको छ। हरेकपटक रिचार्ज गरेपछि प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ। विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याकहरु उपलब्ध गराइने बताइएको छ।
यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ। त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ।
यसरी रजिष्टर भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक सहजै प्राप्त गर्न सकिनेछ।
यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्।
यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ। यी अफर सहितका सिम हाललाई तीन महिनासम्म उपलब्ध गराइने टेलिकमको भनाइ छ।