वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलले अष्ट्रेलियामा निःशुल्क सर्च सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
त्यहाँको सरकारले बहुराष्ट्रिय डिजिटल कम्पनीहरुलाई न्यूज कन्टेन्टका लागि भुक्तानी गर्न लगाउने योजना ल्याएपछि कम्पनीले यस्तो चेतावनी दिएको हो । प्रस्तावित कानून अनुसार व्यवसायीक सञ्चार कम्पनीहरुको समाचार प्रयोग गरेबापत गुगल र सामाजिक सञ्जाल फेसबुकले उनीहरुलाई भुक्तानी गर्नु पर्नेछ ।
सो कानूनबारे सार्वजनिक परामर्श शुरु हुन एक हप्ता अघि कम्पनीले सोमवार अष्ट्रेलियाली नागरिकहरुको नाममा खुला पत्र प्रेषित गरेको छ ।
‘प्रस्तावित कानूनले तपाईसामु नाटकीय रुपमा खराब गुगल सर्च र युट्यूब उपलब्ध गराउन हामीलाई बाध्य बनाउनेछ, यसले तपाईहरुको डेटा ठूला समाचार व्यवसायलाई दिने स्थिति आउनेछ र अष्ट्रेलियामा तपाईहरुले प्रयोग गरिरहनु भएको निःशुल्क सेवालाई पनि जोखिममा राख्नेछ,’ गुगल अष्ट्रेलिया तथा न्यूजील्याण्डका प्रवन्ध निर्देशक मेल सिल्भाले पत्रमा लेखेका छन् । सो कानूनको गुगल र फेसबुक दुवैले आलोचना गरेका छन् ।
अन्य देशहरुले पनि व्यवसायीक सञ्चार व्यवसायहरुको समाचार सामग्री प्रयोग गरेबापत ठूला प्रविधि कम्पनीहरुलाई शुल्क तिराउने प्रयास गरेका थिए । तर ती प्रयासहरु अहिलेसम्म असफल भएका छन् । तर सो कानून पारित भयो भने अष्ट्रेलियाको सो प्रयास भने सफल हुनेछ ।
गुगलको पत्रको गलत सूचनाहरु भएको आरोप अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (एसीसीसी)का अध्यक्ष रड सिम्सको भनाइ छ ।
पछिल्लो समय अष्ट्रेलियाको उपभोक्ता मामिला नियामकसँग गुगलको लडाई चलिरहेको छ । व्यक्तिगत डेटा प्रयोगबारे खातावालहरुलाई भ्रमित गरेको आरोपमा नियामकले गत महीना गुगल विरुद्ध सामुहिक मुद्दा हालेको छ । रासस/एपी