काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण मुलुक बन्दाबन्दी (लकडाउन) भएकै बेलामा सार्वजनिक चालू आर्थिक वर्षको बजेटले चालू वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउन हावादारी योजना अघि सारेको छ । गत जेठ १५ गते सार्वजनिक बजेटले चालू वर्ष २० पर्यटक नेपाल आउने आंकलन गरेको हो ।
विश्वव्यापी कोराना कहका कारण मुलुक चैत ११ गते देखी साउन ९ गतेसम्मै लकडाउनको अवस्थामा थियो । तर, कोरोना संक्रमण्को असर नहेरीकन किन २० लाख पर्यटक भित्रिने योजना हालियो सरोकारवालाहरु वेखबर छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले २० लाख पर्यटक भित्र्याउने कुरा सुरुवाती लक्ष्य भएपनि संशोधित अनुमान साढे ८ लाख हो । ‘वार्षिक विकास कार्यक्रममा कसरी २० लाख पर्यटक भित्र्याउने योजना अघि आयो मलाई पनि जानकारी छैन’ अधिकारीले भने ।
आयोगले सार्वजनिक गरेको विकास कार्यक्रममा आर्थिक वर्ष २०७६÷७७ मा १५ लाख ५० हजार विदेशी पर्यटकहरु भित्रिएको उल्लेख छ । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, कोभिड १९ को प्रभावले विश्वबजार नै शिथिल भएपछि सरकारले औपचारिक रुपमा २०७७ बैशाख १ गतेबाट भ्रमण वर्ष २०२० स्थगित गरेको थियो ।
सन् २०२० को जनवरी १ बाट उद्घाटन गरिएको भ्रमण वर्ष २०२० तीन महिना नवित्दै स्थगित गरिँदा पनि पर्यटन मन्त्रालयले भने २० लाख पर्यटक भित्र्याउन सकिने महत्वकांक्षी लक्ष्य राखेको छ । यद्यपी, चालू वर्षको बजेटमा पनि भ्रमण वर्ष २०२० स्थगित गरिएको कुरा समावेश छ । बजेटमा नै कोभिडले पर्यटन क्षेत्रमा ठूलो असर गरेको भन्दै आर्थिक पुर्नउत्थानको योजना समेत सार्वजनिक गरेको छ ।
नेपालमा चैत ९ गतेबाट अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको थियो भने विदेशका अन्य मुलुकले त्यो भन्दा अघिबाटै उडान बन्द गरिसकेका थिए । यस्तो अवस्थामा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्नु हास्यपद भएको पर्यटन व्यवसायीहरुको भनाई छ । अहिले पनि आन्तरिक तथा वाह्य उडानहरु सबै बन्द छ । मुलुकमा पछिल्लो समय कोभिड–१९ को महामारी झनै बढ्दै गएको छ । संक्रमितहरुको ग्राफ उकालो लागिरहेकाले हवाई उडानहरु कहिले खुल्छन् भन्ने अझै टुङ्गो छैन ।
पर्यटन व्यवसायी तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस(नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईंले कोभिडको महामारी भइरहेको बेलामा पर्यटन मन्त्रालयले दिएको तथ्यांक गलत आउनु गम्भिर लापरबाही भएको बताए । ‘कोभिडका समयमा मन्त्रालयका निर्णयहरु जसरी गलत देखिएका छन्, त्यसैगरि २० लाख पर्यटकको संख्या राख्ने कुरा पनि गम्भिर लापरवाही हो’ गुरागाईंले भने ।
यस्तै ०७७÷०७८ मा पर्यटकको औषत बसाई १३ दिनबाट बढाएर १३.५ दिन पुर्याउने लक्ष्य राखिएको छ भने प्रति पर्यटक खर्च प्रति दिन ५६ अमेरिकी डलरबाट बढाएर ६१ पुर्याउने लक्ष्य समावेश छ ।
पर्यटन क्षेत्रमा थप प्रत्यक्ष रोजगारी सिर्जना कुरा पनि बजेटमा समेटिएको छ । हाल ५८ हजार रोजगारी पर्यटन क्षेत्रमा रहेकोमा चालू वर्ष बढाएर ७५ हजार पुर्याउने लक्ष्य लिइएको छ । तर, कोभिडका कारण पर्यटन क्षेत्रले कहिले राहतको सास फेर्ने हो भन्ने टुङ्गो छैन । गत वर्ष पर्यटन क्षेत्रको क्षेत्रगत वृद्धिदर ५ प्रतिशत रहेकोमा चालू वर्ष ६ प्रतिशतको बृद्धि हासिल गर्ने उल्लेख छ ।
योसँगै आन्तरिक हवाई यातायात प्रयोग गर्ने यात्रुको संख्या ३१ लाख ३३ हजार रहेकोमा ०७८ मा ३४ लाख ६४ हजार पुर्याउने र अन्तर्राष्ट्रिय तर्फ ४७ लाख ८९ हजारबाट बढाएर ५२ लाख ६८ हजार पु¥याउने लक्ष्य राखिएको छ ।