काठमाडौं । हुन त, अहिले कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबढेपछि गरिएको लकडाउनका कारण सबै ‘बार’ शनिबार जस्तै भएको छ । लकडाउनभरि घरमा बस्दा त झन क्यालेन्डर नहेरि कुन बार हो भन्ने भन्न पनि गाराे थियो । अझै पनि धेरै मानिसहरु घरमै बसिरहेका छन् ।
भाइरसको संक्रमणबाट बच्न भन्दै धेरै मानिसहरु घरमै बस्दै आएका छन् । कामको चाप हुँदा जति शनिबारको महत्व हुन्थ्यो, अहिले त्यो महत्व केही कम भएको छ ।
तर, लकडाउनका बीचमा पनि केही कार्यालयहरुका प्रमुखहरुको व्यस्तता भने घटेको छैन । त्यहि व्यस्ततामा पर्छन्, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनन्जय रेग्मी ।
लकडाउनका बीचमा पनि दैनिकजसो कार्यालय र पर्यटन मन्त्रालयको काममा व्यस्त भएका सीईओ रेग्मीलाई भने शनिबार विषेश नै लाग्ने गरेको छ । साताभरीको थकाई र तनावलाई भुलाउन उनि त्यो दिन ४ घण्टा जति वाकिङमा निस्कने गर्छन् । अरु बेला विहान ७÷८ बजेनै अफिसको काममा घरबाट निस्कनुपर्ने भएकोले पनि शनिबार अलि बढीनै हिड्ने गरेको उनी बताउँछन् । उनी भैसेपाटीबाट चोभारको डाडा हँुँदै किर्तिपुरसम्म पुगेर फर्किन्छन् ।
डाडाकाँडाको हरियालीसँगै रम्दैं र रमाउदैं ४ घण्टाजति यात्रा गरेपछि उनि आफ्नो घरमा आइपुग्छन् । शनिबार उनको लागि मात्र हैन, परिवारको लागि पनि खास हुन्छ । किन की उनी खसिको मासु पकाउन खप्पिस छन् । त्यहि भएर शनिबार प्राय रेग्मी आफैले मासु पकाउँछन् ।
‘विद्यार्थी हुँदा आफैले खाना पकाएर खाने भएकोले अहिले पनि मलाई खाना पकाउन रहर लाग्छ,’ सीईओ रेग्मीले भने । ‘अरु बेला नभ्याउने भएकोले शनिबार त्यो रहरलाई पूरा गर्छु’ ।
परिवारका सदस्यहरु पनि मैले पकाएको मासु खाँदा खुशी हुन्छन् । त्यहि भएर पनि मलाई हैन, मेरो परिवारलाई शनिबार झन विषेश हुन्छ । शनिबार प्राय : म घरमै रहन्छु । अरु दिन घरका मान्छेहरुलाई पर्याप्त समय दिन नस्कने भएकोले शनिबार सकेसम्म बाहिर निस्कन्न । त्यो दिन छोरो छोरीको पढाईको बारे जानकारी लिने, आमा बुबासँग कुरा गर्ने, भाइ बुहारीसँग भेट्ने र श्रीमतीको गुनासोहरु सुन्ने गर्छु ।
कहिलेकाही अफिसको काम वा मिटिङहरुमा जानु पर्यो भने पनि दिउँसो २ वजेपछि मात्र निस्कन्छु । दुई बजेसम्म घरमा परिवारसँग भलाकुसारी गरेर समय बिताउँदा आनन्द लाग्छ । नगई नहुने र नगरी नहुने काम बाहेक अन्य कामका लागि शनिबार सकेसम्म बाहिर निस्कन्न ।
अरु दिन बिहानै अफिस र बेलुका अबेरमात्र घर पुग्ने भएकोले परिवारलाई पर्याप्त समय दिन नपाइरहेको हुँदा पनि शनिबार एक दिनलाई परिवारको लागि दिने प्रयास गरेको उनी बताउँछन् ।
‘अहिले लकडाउन भएका कारण घरभित्रै बस्ने गरिएको छ, नत्र कही नयाँ ठाउँमा परिवारसहित घुम्न निस्कने योजना हुन्थ्यो,’ उनले भने । यसो हुँदा आफु त विभिन्न बहानामा घुमिएकै हुन्छ, परिवारलाई पनि घुमाउदा उनीहरु पनि खुसी हुन्छन् । लकडाउन नहुँदासम्म कहिलेकाहीको शनिबार भने साथीभाइहरुसँग रमाईलो गरेर समेत बिताउने गरेको उनी सम्झ्न । तर, अहिले समय बदलिएको छ, केही समयका लागी साथीभाई र आफन्तहरुसँगको भेटघाटलाई टाढा बनाएको छु ।