काठमाडौं । नेपाल वायुसेवा निगमको सेफ्टी अडिट गर्न चिनियाँ टोली आउने भनिएपनि यसको मिति टुङ्गो लाग्न सकेको छैन । निगमले सेफ्टी अडिटको राजबहादुर केसीको नेतृत्वमा समन्वय समिति समेत गठन गरेका थिए ।
साउनअघि नै चिनियाँ टोली नेपालमा आउने मौखिक जानकारी दिएपनि हालसम्म कुन दिन आउने भन्ने विषयमा टुङ्गो नलागेको निगमका अधिकारीहरुको भनाइ छ । चीनले अन्तिम समयमा युरोपिन युनियन(ईयु)को कालोसूचीको विषयलाई लिएर सेफ्टि अडिटको वखेडा झिकेको थियो ।
नेपालका उच्च अधिकारीहरुको चीन भ्रमणको बेला र चीनिया टोलिको नेपाल भ्रमणको बेला निगमलाई उडान अनुमति दिन तयार रहेको बताउदै आएका थिए । तर निगमले औपचारीक रुपमा उडान अनुमति मागेपछि भने चीनले ईयुको कालोसूचीलाई बाधकको रुपमा अगाडी सारेको छ । चीनले आफुहरु ईयुको नियमलाई मान्ने भएको कारण सेफ्टी अडिटपछि मात्र अनुमति दिने बताएका थिए ।
चीनले राखेको प्रस्तावमा निगम अडिटको लागि तयार भएपनि चिनियाँ टोलि कहिले आउने भन्ने विषयनै टुङ्गिन नसकेको हो । यता संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने चीनसंग हवाई सम्झौताको पुनरावलोकन गर्न थालेको छ ।
साउन ७ र ८ गते चीनको बेइजिङमा हुने सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना र नेपालका प्रतिनिधिबीच हुने वार्ताले उडान तालिका र सहरको टुङ्गो लगाउने छ । निगमका अधिकारीहरुले भने मन्त्रालय सँगको दुईपक्षिय सम्झौताले केहि सहज हुने बताएका छन् ।
निगमलाई उडान अनुमति दिनका लागि दक्षिण कोरियाले पनि अडिटको प्रस्ताव धेरै अगाडि राखेको थियो । तर कोरियाको पनि नेपालमा आउने मिति टुङ्गो लागेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का उच्च अधिकारीका अनुसार चीनको अडिटपछि मात्र कोरियाले निर्णय लिने देखिएका छन् । कोरियालाई पटक पटक अडिटको लागि नेपाल आउन भनिए पनि उस्ले विभिन्न बाहना देखाउँदै आएका छन् ।
१ बर्षअघि खरिद गरेको २ ओटा वाइडबडी जहाज खरिदको बेला तत्कालीन महाप्रवन्धक सुगतरत्न कंसाँकारले चीन, कोरिया, जापान,अस्ट्रेलिया, साउदीअरबलगायतका मुलुकमा तत्कालै जहाज उडाउने गरी व्यवसायिक योजना (बिजनेश प्लान) बनाएका थिए ।
तर मुलुकहरुले भने ईयुले कालोसूचीमा राखेको विषयलाई लिएर उडान अनुमति दिएका छैनन् भने जापानमा भदौबाट उडान गर्ने तयारी निगमको रहेको छ ।