काठमाडौं । पछिल्लो ७ वर्षको अवधिमा सर्वसाधारणका लागि झन्डै ३९ अर्ब बराबरको प्रारम्भिक सार्वजनिक सेयर(आईपीओ) निष्कासनका लागि अनुमति दिइएको छ । नेपाल धितोपत्र बोर्ड अनुसार, आर्थिक वर्ष २०७०/०७१ देखि आव २०७६/०७७ सम्म विभिन्न जलविद्युत् कम्पनीले सर्वसाधारणका सो रकम बराबरको सेयर निष्कासन अनुमति पाएका हुन् ।
बोर्डले आव २०७०/०७१ मा विभिन्न चारओटा जलविद्युत् कम्पनीले ३८ करोड २३ लाख बराबरकोे पव्लिक सेयर निष्कासन अनुमति दिएको छ । २०७१/०७२ मा पनि चारओटै जलविद्युत् कम्पनीले ४ अर्ब ४ करोड ९२ लाख बराबरको सार्वजनिक सेयर निष्कासनको स्वीकृती पाएका छन् ।
त्यस्तै, २०७२/०७३ मा २ अर्ब ५७ करोड १७ लाख, २०७३/०७४ मा १ अर्ब ३९ करोड ६९ लाख, आव २०७४/०७५ मा ६ अर्ब ८ करोड १० लाख, आव २०७५/०७६ मा १५ अर्ब ४२ करोड ३२ लाख र आव २०७६/०७७ मा ९ अर्ब ७ करोड १५ लाख बराबरको आइपीओ निष्कासनका लागि बोर्डले स्वीकृति दिएको हो ।
जलविद्युत् उत्पादक कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बोर्डको स्वीकृती अनिवार्य लिनुपर्छ । बोर्डले जलविद्युत् कम्पनीको वित्तिय विवरण हेरेर जलविद्युत् आयोजनाको ५० प्रतिशत भौतिक प्रगति पूरा भएपछि आईपीओ निष्कासन गर्न स्वीकृती दिने गर्छ । धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, अनुसार, जलविद्युत् आयोजनामा १० प्रतिशत सर्वसाधारणका लागि अनिवार्य सेयर निष्कासन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
हेर्नुहाेस, ७ वर्षमा बाेर्डले विभिन्न जलविद्युत कम्पनीलाइ स्वीकृत गरेकाे आईपीओ निष्कासनकाे विवरणः
सरकारले पनि दश वर्षमा १० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । ऊर्जा विज्ञका अनुसार, प्रतिमेगावाट बिजुली उत्पादन गर्न २० करोड लागत लाग्ने अनुमान गर्दा सरकारले दश वर्षमा २० खर्ब रुपैयाँ पूँजी जुटाउनुपर्छ । सरकार र निजीक्षेत्रको गर्ने लगानी लक्ष्य प्राप्तीका लागि चुनौतीपूर्ण छ । त्यस कारण सरकारले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणको समेत लगानी र सहभागीता सुनिश्चित गरेको छ ।
वि.सं १९६८ मा पहिलो पटक फर्पिङ जलविद्युत् आयोजनाले ५०० किलोवाट विद्युत् उत्पादन पश्चात नेपालमा जलविद्युत् आयोजना निर्माण लगानीको वातावरण बन्दै गयो । जलविद्युत् उत्पादनको इतिहास हेर्ने हो भने विद्युत् प्राधिकरण र निजी क्षेत्र गरी हालसम्म साढे १ हजार ३०० मेगावाट उत्पादन छ । तर, हिउँदमा भने एकतिहाई ४५० मेगावाटसम्म मात्र विद्युत उत्पादन हुन्छ । अहिले भारतबाट ३५० मेगावाटभन्दा बढि विद्युत् आयात भइरहेको छ ।
सरकारी योजना र लक्ष्यअनुसार विद्युत उत्पादन भएको भए अहिले सम्म राष्ट्रिय प्रणालीमा यो अवधिमा १० हजार मेगावाट बिजुली जोडिसक्थ्यो । । तर, राजनीतिक र नीतिगत अस्थिरता सँगै समयमै आयोजना सम्पन्न हुन नसक्नु, प्रसारण लाइन नबन्नु, जग्गा, बनको उपयोगमा समस्या लगायतका मुख्य कारणले ऊर्जा क्षेत्रले फड्को मार्न सकेको छैन् ।
सरकारले जलविद्युत् आयोजना निर्माणमा स–साना पूँजी जुटाउने भनेर सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने नीति लिएपनि त्यसमा शेयर लगानीकर्ता र जनता उत्साहित छैनन् । जलविद्युत् कम्पनीबाट सेयर किनेको सर्वसाधारणले निश्चित प्रतिफलको आसा गरेका हुन्छ । तर, अधिकांश जलविद्युत् कम्पनीले सर्वसाधारणलाई प्रतिफल दिन सकेका छैनन् ।
प्रतिफल पाउन लामो समय पर्खनुपर्ने, सेयर घटबढ हुने, जलविद्युत् आयोजना निर्माणमा हुने ढिलाईका लगायतका कारणले जलविद्युत् आयोजनामा जनताको सेयर आकर्षण घट्दै गएको स्वंयम लगानीकर्ताहरु बताउँछन् । सेयर खरिद गरेका लगानीकर्ता तथा सर्वसाधारणले पनि जसरी पनि सेयर बेच्ने मनस्थितिमा छन् । अहिले नेपाल सेयर एक्सचेन्ज कम्पनी(नेप्से) बजारमा ३३ ओटा जलविद्युत् कम्पनी सुचीकृत भइ सेयर कारोबार गरिरहेका छन् । त्यसमध्ये १८ ओटा जलविद्युत् कम्पनीको सेयर मुल्य अंकित मुल्य(प्रतिकित्ता एक सय) भन्दा कम छन् ।
नेप्सेमा सेयर कारोबार भएकामध्ये आँखुखोला जलविद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी, पन्चकन्या माइ पावर कम्पनी, माउन्टेन हाइड्रोपावर कम्पनी, रिदी हाइड्रोपावर कम्पनी लिमिटेड, सिनर्जी पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, युनिभर्सले पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीको सेयर मुल्य सय रुपैयाँ प्रतिकित्ताभन्दा कम छ ।
क्र.सं जलविद्युत् कम्पनीको नाम प्रतिकित्ता सेयर मुल्य(रु.मा)
१. आँखुखोला जलविद्युत् कम्पनी ५१
२. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९३
३. बरुण हाइड्रोपावर कम्पनी ८२
४. छ्याङ्दी हाइड्रोपावर कम्पनी ८३
५. दिव्यश्वरी हाइड्रोपावर कम्पनी ५०
६. घलेम्दी हाइड्रोपावर कम्पनी ५९
७. हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड ९१
८. हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड ९३
९. जोशी हाइड्रोपावर कम्पनी ५६
१०. खानीखोला हाइड्रोपावर कम्पनी ४९
११. नेसनल हाइड्रोपावर कम्पनी ५३
१२. पन्चकन्या माइ पावर कम्पनी ७२
१३ माउन्टेन हाइड्रोपावर कम्पनी ८२
१४ रिदी हाइड्रोपावर कम्पनी लिमिटेड ८४
१५ सिनर्जी पावर कम्पनी ९७
१६ युनियन हाइड्रोपावर कम्पनी ५८
१७ युनिभर्सले पावर कम्पनी ७०
१८ रैराङ हाइड्रोपावर कम्पनी ९५
चिलिमे हाइड्रो पावर कम्पनी, बुटवल पावर कम्पनी, अपर तामाकोशी जलविद्युत् कम्पनी लगायतका केही जलविद्युत् कम्पनीको मात्रै सेयर मुल्य सयभन्दा बढि छ । सेयर प्रतिकित्ता सयभन्दा कम हुने जलविद्युत् कम्पनीको वित्तीय क्षमता निकै कमजोर हुने गर्छ । त्यस्ता जलविद्युत् कम्पनीले विद्युत् विक्रि गरेको आम्दानीले पनि ऋणको व्याज तिर्न र सञ्चालन खर्च समेत जुटाउन सक्दैन् । अहिले अधिकांश जलविद्युत् कम्पनीको वित्तीय क्षमता कमजोर छ ।
कम्पनीका सेयरधनीले राम्रो प्रतिफल नपाएपछि लगानीकर्ता तथा सर्वसाधारण निराश हुनुपर्ने अवस्था छ । यसरी, दोस्रो सेयर बजारमा अधिकांश जलविद्युत् आयोजनामा लगानीकर्ताको आकर्षण हुन नसक्दा कम्पनीका प्रवद्र्धकहरु निराश छन् ।
जलविद्युत सँग सम्वन्धीत जलविद्युत् कम्पनीहरुको वित्तिय विवरण जे जस्तो भएपनि सर्वसाधारणले १० कित्ताका लागि १००० रुपैयाँ जलविद्युत् विकासका त हो नी भन्ने ढंगले लगानी गर्दा पनि सेयरबाट प्रतिफल पाउन नसक्ने अवस्था छ ।
सरकाले ‘स्किम’ परियोजनाका रुपमा जनताको जलविद्य्ुत कार्यक्रम अन्र्तगत २१ ओटा जलविद्युत् आयोजनालाई आकर्षण आयोजनाको सुचीमा राखेको छ । ‘नेपालको पानी जनताको लगानी, हरेक घरधुरी विद्युत् सेयरको धनी’ भन्ने नारा लिएर सरकार ती आयोजनामा सर्वसाधारणलाई सेयरधनी बनाउने योजना लिएको छ ।
यसबीचमा ३७ मेगावाटको त्रिशूली थ्री बीको प्राथमिक निष्कासन गरी प्रतिकित्ता १० रुपैयाँका दरले पैसा उठाउनेबाहेक अरु काम अघि बढ्न सकेको छैन । त्यसको केही समयपछि सर्वसाधारणमा सेयर निष्कासनको अन्तिम तयारीमा रहेको १ सय ११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनालाई पनि आकर्षक आयोजनाका रुपमा छनौट गरिएको छ ।
रसुवागढी र सान्जेनले सर्वसाधारणमा सेयर बिक्री गरीकन दोस्रो बजारमा व्यापारिक कारोबार सुरु भइसकेको छ । तर, सुरु गर्ने भनिएका लक्षित आयोजनाको अहिलेसम्म कुनै प्रगति भएको छैन । यद्यपी, तामाकोसी ‘पाँचौं’, होङ्सा र भेरी बबई जलविद्युत् आयोजनाको सेयर चालू आर्थिक वर्षभित्रै निष्कासन गर्ने सरकारले बताइरहे पनि अझै त्यसको तयारी गरिएको छैन ।
तर, सरकारी अधिकारीहरु भने छोटो समयमै उपलव्धि प्राप्त नहुने भन्दै दिर्घकालीन रुपमा कार्यक्रम सफल हुने दाबी गर्छन् । ‘अहिलेसम्म तीनवटा ठूला आयोजनामा सेयर निष्कासन भइसक्यो । यस वर्ष तीनवटा आयोजनाको सेयर निष्कासन हुन्छ,’ ऊर्जा सचिव दिनेशकुमार घिमिरेले भने, ‘तयारी भइरहँदा ‘आउटपुट’ नदेखिएको होला । जनता उत्साहित नै छन् ।’
केही आयोजनाको अध्ययन पूरा भएको र केही अध्ययन भइरहेकाले ५ वर्षभित्र जनताको लगानी हुने आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा हुने दाबी गर्न भने उनी चुकेनन् । सरकारले आकर्षक प्रतिफल दिने जलविद्युत् आयोजना भनेर घोषणा गरेका आयोजनामा मात्रै होइन्, अहिले निजी जलविद्युत् कम्पनीको लगानीमा निर्माण हुने र निर्माणधीन जलविद्युत् आयोजनाको हालत पनि उस्तै छ ।
बैंकको बढ्दो व्याजदर, प्रसारण लाइन नबन्नु, बनेका जलविद्युत् आयोजनाको विद्युत् विद्युत् खरिद विक्रि मुल्य(पीपीए) दर निश्चित हुनु लगायतका नीतिगत तथा पूर्वाधारका समस्याले पनि सर्वसाधारण लगानीकर्ता जलविद्युत् कम्पनीको सेयरप्रति आकर्षित हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) का उपाध्यक्ष कुमार पाण्डे बताउँछन् ।
जलविद्युत् कम्पनीले सेयर लगानीकर्तालाई प्रतिफल दिन सक्षम नहुँदा सर्वसाधारणको सेयर खरिदप्रति आकर्षण बढ्न नसकेको उनको भनाइ छ । ‘आयोजना प्रभावितका स्थानीयलाई स्थानीय स्रोतमाथिको अधिकार दिनुपर्छ भन्ने हिसावले सेयर निष्कासन पहिला देखि सुरु भएको हो । झट्ट सुन्दाखेरी यो आकर्षक पनि छ । र, थियो पनि । तर, सेयर किन्नुपर्छ भनेर उक्साइयो पनि । उनीहरुले सेयरबारे त्यति बुझेनन् । तर, जलविद्युत् आयोजना समय र लागतमा नसकिने, लगानी गर्ने जनताको नियन्त्रणमा नहुने र आयोजनाले लाभांश नै दिन नसक्ने कारणले यसको लक्ष्य प्राप्त हुन सकेको देखिँदैन् ।’ उनले भने ।
जनताले आफ्नो सेयर लगानीबाट केही न केही फाइदा गरुन भन्ने उद्धेश्यले सेयर दिन थालेपनि त्यो उद्धेश्यण पूरा हुन नसकेको उनको भनाई छ । त्यस्तै, दोस्रो बजार नेप्सेबाट भने छरिएको पूँजीलाई संकलन गरी जलविद्युतमा लगानी गर्ने लक्ष्य केही हदसम्म सफल भएको उनी बताउँछन् ।
जलविद्युत् कम्पनीमा लगानी गर्ने सर्वसाधारण तथा जुनसुकै लगानीकर्ता पनि सम्वन्धीत कम्पनीको वित्तिय अवस्था, निरन्तर ‘अपडेट’ र लगानी गरिसकेपछि प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने विचार गरेर सेयर खरिद गर्नुपर्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीको तर्क छ ।
बोर्डले तोकेको मापदण्ड अनुसार निवेदन प्राप्त जलविद्युत् कम्पनी आईपीओ निष्कासनका लागि अनुमति पाउने भएकाले कुन जलविद्युत्मा कम्पनीमा सेयर हाल्ने वा नहाल्ने भन्ने विचार पु¥याएर सेयर खरिद गर्नुपर्ने उनको भनाइ छ । अहिले नेप्सेमा झन्डै ३३ ओटा जलविद्युत् कम्पनी सुचीकृत भइ सेयर कारोबार गरिरहेका छन् । ती जलविद्युत् कम्पनीमार्फत सेयर कारोबार गर्ने झन्डै साढे ८ लाख सर्वसाधारण लगानीकर्ता रहेको इपान स्रोतले जनाएको छ ।