काठमाडौं । भारतीय ह्स्विकी ब्रान्ड रोयल स्ट्याग पुनः नेपालमा उत्पादन हुने भएको छ । रोयल्टीसम्बन्धी नयाँ कानुनका कारण ४ वर्षअगाडि नेपालबाट बाहिरिएको रोयल स्ट्यागको नेपालमा वीनर लिक्कर्सले उत्पादन थाल्ने भएको हो ।
रोयल स्ट्यागका उत्पादनका लागि व्यवसायी रोहित कोहलीले २ वर्षअघि वीनर लिक्कर्स कम्पनीलाई खरिद गरेका थिए । उद्योग खरिदसँगै रोयल स्ट्याग ह्स्विकी उत्पादनका लागि कम्पनीले ४० करोड लगानी थप गरेको छ ।
कोहली वीनर लिक्कर्स खरिद गर्नुअघि पेप्सीका लागि नेपालका कन्ट्रि हेड थिए । उनले सन् २०१२ देखि २०१६ सम्म पेप्सीमा कन्ट्री हेड भएर काम गरेका थिए ।
वीनर लिक्कर्स प्रालिका प्रबन्ध निर्देशक रोहित कोहलीले नेपालमा रोयल स्ट्यागको उत्पादनका लागि अन्तिम तयारी भएको बताए । ‘कोभिड र लकडाउन नभएको भए अहिले बजारमा उत्पादन आइसक्ने थियो,’ उनले भने । सिग्राम्सको रोयल स्ट्यागसहित अन्य ब्रान्ड पनि वीनर लिक्कर्सले नेपालमा उत्पादन गर्ने कोहलीले जानकारी दिए ।
कोहलीले २ वर्षअघि झापामा रहेको वीनर लिक्कर्सलाई खरिद गरेका थिए । उनीसँगको साझेदारीमा क्याप्टेन रामेश्वर थापा पनि रहेका छन् । तर, उनी अगाडि नदेखिने गरि साझेदारमा रहेको स्रोतले बतायो ।
४ वर्षअघिसम्म हिमालयन डिस्ट्रिलरीले रोयल स्ट्यागको उत्पादन गर्दै आइरहेको थियो ।
सरकारले विदेशी मदिरा ब्रान्ड नेपालमा उत्पादन गरेर नाफा गरेपछि त्यसको ६ प्रतिशत रोयल्टी लैजान पाउने प्रावधान ल्याएपछि रोयल स्ट्याग नेपालबाट बाहिरिएको थियो । हिमालयन डिस्ट्रिलरीसँग सम्झौता गरेर १६ वर्षसम्म नेपालमा उत्पादन थालेको रोयल स्ट्याग नेपालको मदिरा बजारमा राम्रो बजार हिस्सा लिएको थियो ।
सरकारले २०७२ को असोजमा मदिरा तथा वियरसम्बन्धी मापदण्ड २०७२ लागू गरेर विदेशी ट्रेडमार्क प्रयोग गरि नेपालमा विदेशी ब्रान्डको वा स्वदेशी ट्रेडमार्क नै भएपनि प्रयोग गरि मदिरा एवं बियर उत्पादन गर्न सामान्यता उद्योगको खुद नाफाको १० प्रतिशतसम्म वा बिक्री मूल्यको ६ प्रतिशतसम्म रोयल्टीका रुपमा लैजान सकिने व्यवस्था गरेको थियो । वीनर लिक्कर्सले पनि रोयल्टी सम्झौता गरेर नेपालमा रोयल स्ट्याग उत्पादन गर्न थालेको हो ।