डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैँसी वितरण गरेको छ ।
पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूर्ण अनुदानमा उन्नतजातका गाई र भैँसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले जानकारी दिए ।
नगरपालिकाले वडा नं ५, ६ र ७ का १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका पशु सेवा प्राविधिक डिलबहादुर साउदले जानकारी दए । आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रमअनुसार जम्मा २० किसानलाई उन्नत गाई वितरण गर्ने योजना रहेकामा वडा नं ४ का सात किसानलाई केही दिनभित्रै गाई वितरण गरिने जनाइएको छ ।
त्यसैगरी नगरपालिकाको वडा नं १ शिरखोलीसैनका आठ किसानलाई मुर्राक्रस जातका भैँसी पनि वितरण गरिएको पशु सेवा प्राविधिक साउदले बताए । सार्वजनिक सूचनामार्फत किसानबाट फाराम भर्न लगाई ती फारामउपर स्थलगत अनुगमन गरी किसान छनोट गरिएको नगरपालिकाले जनाएको छ ।
ढुवानीसहित १५ लाखमा २० गाई र सात लाख ६० हजारमा भैँसी खरीद गरी किसानलाई वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
आफूले विगत पाँच वर्षदेखि व्यावसायिकरूपमा गाईपालन गर्दै आएको र नगरपालिकाले थप दुई उन्नतजातका गाई उपलब्ध गराएको साम्भवी एग्रो प्रोडक्सन प्रालि दिपायलका सञ्चालक रवि श्रेष्ठ बताए ।
उनले भने,‘मैले विगत पाँच वर्षदेखि उन्नतजातका गाईपालन गर्दै आएका थिएँ, यो पटक नगरपालिकाले थप गाई दिएपछि मेरो फार्ममा सहुलियत भएको छ ।’
यसअघि नगरपालिकाले किसानलाई बाख्रा, बोयर बोका र कुखुरासमेत पूर्ण अनुदानमा वितरण गरिसकेको छ । रासस