काठमाडौं । पछिल्लो समय मल्टीमिडिया म्यासेजिङ् एप टेलिग्राम लोकप्रिय बन्दै गएको छ । टेलिग्राम एक क्लाउडमा आधारित इन्स्ट्यान्ट सन्देश र भ्वाइस ओभर आइपी सेवाको रुपमा चिनिन्छ ।
टेलिग्राम एन्ड्रोइड, आइओएस, विन्डोज फोन, विन्डोज एनटी, म्याक ओएस र लिनक्सको लागि उपलब्ध छ । प्रयोगकर्ताहरूले सन्देशहरू पठाउन र फोटोहरू, भिडियोहरू, स्टिकरहरू, अडियो र कुनै पनि प्रकारको फाईलहरू आदानप्रदान गर्न पछिल्लो समय ह्वाट्एपको विकल्पमा यो एप लोकप्रिय बन्दै गएको हो ।
यति मात्र होइन यो एपमा आफुलाई मन परेका फ्ल्मि समेत डाउनलोड समेत गर्न सकिन्छ । विभिन्न फिल्मसम्बन्धी ग्रुपमा जोडिएपछि आउने नयाँ तथा पुराना फिल्मका लागि पनि युवापुस्तामा यसमा आकर्षित भएका छन् । नेपालका फिल्म पारखीहरु मुभी लबरहरुको समेत टेलिग्रामका ग्रुप छ । नेपालको आइटी, अटो, पर्यटनलगायतका विषयमासमेत ग्रुप बढ्दै जाँदा नेपालमा समेत यसको लोकप्रियता बढ्दै गएको छ ।
करिब ७ बर्ष अगाडी अर्थात सन २०१३ मा रुसी नागरिक पावेल दूरोवले टेलिग्राम स्थापना गरेका थिए । फोब्र्सको धनाढ्यको सूचीमा ५६५ नम्बरमा रहेका दूरोवलाई रसियाको जुकरबर्ग पनि भनिन्छ । उनले रसियामा सबैभन्द धेरै नेटवर्क भएको सामाजिक सञ्जाल भीकोनटेटी सञ्चालन गरिरहेका छन् । फोब्र्सका अनुसार उनको सम्पत्ती ३ अर्ब ४० करोड अमेरिकी डलर छ ।
टेलिग्राम संसारभरका प्रयोगकर्ताको रोजाइमा पर्दै आएको छ । टेलिग्रामको ग्राहक साइड कोड खुला स्रोत सफ्टवेयर हो । सुरक्षाको विषयमा इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप टेलिग्राम र धेरै प्रयोगकर्ता भएको ह्वाट्सएपको बीचमा धेरै अगाडिदेखि प्रतिस्पर्धा चलिरहेको छ । ह्वाट्सएप जस्तै तर सिस्टम फरक भएको यो एप प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका छन् ।
गुगल प्लेस्टोरका अनुसार टेलिग्राम ५० करोड भन्दा बढी पटक डाउनलोड भएको छ । कम्पनीले भिडियो एडिटिङ, च्याट फोल्डर र फास्ट मिडिया भ्यू जस्ता धेरै फिचरहरु थप्दै आएको छ । टेलिग्रामको नयाँ अपडेटमा एनिमेटेड स्टिकर्स र ट्रेण्डिङ जि फाइल पनि पाउन सकिन्छ । नयाँ अपडेटमा पाइने सबैभन्दा ठूलो फाइदा भनेको अब प्रयोगकर्ताहरुले भिडियोको बेसिक एडिटिङ पनि गर्न सक्नेछन् ।
नयाँ अपडेटपछि भिडियो क्वालिटीलाई पनि मिलाउन सकिन्छ । यसबाहेक प्रयोगकर्ताले फोटो एडिटिङको समयमा पनि एनिमेटेड स्टिकर्सको प्रयोग गर्न सक्छन् । टेलिग्राम ६.० भर्सनमा च्याट फोल्डर पाउन सकिन्छ । टेलिग्राममा फोल्डर, क्लाउड स्टोरेज तथा डेक्स्टप सपोर्ट लगायतका सुविधा रहेका छन् । यसअघि मासिक ४० करोड सक्रिय प्रयोगकर्ता पुगेपछि गु्रप भिडियो कलको फिचर ल्याउने घोषणा गरेको थियो ।