काठमाडौं । ‘झुर इन्टरनेट’ दिएर बारम्बार सेवाग्राहीलाई अन्याय गर्दै आएका सेवा प्रदायकमाथि नियामक निकायले कुनै कारबाही गरेको छैन् ।
इन्टरनेट सेवा प्रदायकले ‘कामै नगर्ने’ इन्टरनेट दिएपछि पटक–पटक नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमाथि लिखित रुपमै उजुरी दिँदा पनि उनीहरुमाथि कारबाही नभएको पाइएको हो ।
सेवा प्रदायकले गुणस्तरहीन सेवा दिएर झुक्याएको प्रमाणसहित उजुरी गर्दा समेत नियामक मुखदर्शक बनेर बसेको छ । इन्टरनेट सेवामा एकछत्र राज गरेको वल्र्डलिंक, भायानेट, क्लासिकटेक, सुबिसु विरुद्ध नै सेवाग्राहीले झुर सेवा दिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणमा लिखित रुपमा दर्ता गराएका हुन् । तर, उनीहरुमाथि अहिलेसम्म कुनै कारबाही गरेको छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणको विवरण अनुसार ३३ ओटा इन्टरनेट सम्बन्धी गुनासो मध्ये वल्डलिङ्क कम्युनिकेशन विरुद्ध मात्रै १५ ओटा लिखित उजुरी परेका छन् । त्यसैगरी भायानेट कम्युनिकेशनको विरुद्ध ६ ओटा, क्लासिकटेक विरुद्ध ५ र सुविसु केबल नेटको विरुद्ध ४ ओटा र अन्य उजरी दर्ता भएका छन् । पछिल्लो समय सेवा गुणस्तर प्रभावकारी नभएको भन्दै सुविसु पनि विवादमा पर्दै आएको छ ।
नेपालको फाइबर टु दि होम (एफटीटीएच) इन्टरनेट सेवामा आधा भन्दा बढी हिस्सा ओगटेको र विदेशी लगानीमार्फत सञ्चालित कम्पनी विरुद्ध नियमित रुपमा सेवा गुणस्तर र इन्टरनेट व्यान्डवीथको बिषयमा प्रश्न उठ्ने गरेका छन् । तोकिए अनुसारको व्यान्डवीथ नदिएको गुनासो बारम्बार आइरहँदा पनि उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छैन् । उल्टै सेवाप्रदायकको सेवा गुणस्तरमा उठेका प्रश्नलाई ढाकछोप गर्ने गरेको छ ।
उपभोक्ताले नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता गराएका उजुरी मध्य अघिकांश गुणस्तरहीन इन्टरनेट, भने बमोजिमको इन्टरनेट व्यान्डबीथ नदिएको र पटक पटक इन्टरनेट सेवा गइरहने समस्या देखाएका छन् ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले उपभोक्ताले दिनेको उजुरी अनुसार थप मूल्याङ्कन र अनुगमन गरि कारवाही प्रक्रिया अगाडी बढाउने जानकारी दिए । लकडाउनपछि इन्टरनेट सेवा गुणस्तर खस्किेको स्वीकार्दै इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले ४ महिनादेखि इन्टरनेट सेवा सञ्चालनका लागी आवश्यक प्राविधिकहरु काठमाडौं बाहिरै रहेकाले समस्या परेको बताए ।
‘सकेसम्म इन्टरनेट सेवाप्रदायक कम्पनीले आफ्नो क्षमता अनुसारको सेवा दिएका छन । तर उपभोक्तालाई ठगेको भन्ने आरोप लगाउन नमिल्ने बताए । हाल सीमित प्रविधिकले मात्र इन्टरनेट सेवासम्बन्धी प्राविधिक काम धानिरहेको उनको भनाई छ ।
प्राधिकरणमा मात्र होइन उपभोक्ताले सामाजिक सञ्जालमा पनि सेवा गुणस्तर फितलो भएको भन्दै आक्रोश व्यक्त गर्ने गरेका छन् । बिशेषगरी वल्र्डलिंक कम्युनिकेशनको इन्टरनेट सेवामा ठगी भएको आरोपमा सामाजिक सञ्चाल फेसबुक, ट्वीटरमा व्यापक चर्चा हुने गरेको छ । सेवाप्रदायक कम्पनी भने प्राविधिको अभावका कारण इन्टरनेट गुणस्तरमा सुधार हुन नसकेको बताउँदै आएका छन् ।