काठमाडौं । उपभोक्ताको ढाड नै सेक्ने गरी पानीको मूल्य बढाएको वाणिज्य विभाग खुलेआम पानी व्यापारीको बचाउमा उत्रिएको छ । पानीको मूल्य बढाएर व्यापारीलाई पोसेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उनीहरुको बचाउमा उत्रिएको हो ।
३० रुपैयाँमा पाइने पानीको जारको मूल्य बढाएर विभागले ५० रुपैयाँ पुर्याएको छ । तैपनि विभाग व्यापारीकै पक्षमा उभिएर उपभोक्तमाथि गम्भीर खेलवाड गरेको हो ।
यसअघिसम्म २० लिटरको प्रतिजारको मूल्य ३० रुपैयाँ थियो । विभागका उच्च अधिकारी र केही उपभोक्ताकर्मीलाई व्यापारीले प्रलोभनमा परेर जारको मूल्य ५० रुपैयाँ पुर्याइएको हो । विभाग आफूले गरेको निर्णय सही भएको, यसअघि जारको मूल्य ७२ रुपैयाँ भएको र त्यसलाई अहिले ५० मा झारिएको भन्दै व्यापारीकै पक्षमा उभिएको हो ।
उपभोक्ताको दैनिक जीवनसँग जोडिएको पानीमा समेत सरकारले नै मूल्य बढाइदिएर व्यापारीलाई सजिलो बनाएको छ । ३० रुपैयाँमा पाइने जारको मूल्य ५० रुपैयाँ पुर्याएको हो । ३० रुपैयाँमा पाइने पानीको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न मिल्छ भन्ने क्यापिटलको प्रश्नमा विभागमा महानिर्देशक नेत्र सुवेदीले भने, ‘पत्रकारको बुझाइमा कमी भयो । तपाईहरुसँग बुझ्ने क्षमता भनेर उल्टै झोकिए ।’
व्यापारीले उपभोक्ताकर्मी प्रेमलाल महर्जन, वाणिज्य विभागका उच्च पदाधिकारीलाई प्रलोभन पारेर आफ्नो पक्षमा निर्णय गराएका हुन् । विभाग एक्लैले पानीको मूल्य बढाउँदा उपभोक्तकर्मीहरुले विरोध गर्ने भएपछि प्रेमलाललाई समेत समावेश थिए ।
विभागमा महानिर्देशक सुवेदीले यस अघि ७० रुपैयाँ रहेको प्रतिजारको मूल्य ५० झार्दा कसरी मूल्य बढेको भयो भन्दै प्रश्न गरे । तर, उनले भनेजस्तो यसअघि पानीको मूल्य ७० रुपैयाँ नभइ ३० रुपैयाँ मात्रै थियो । तर, सुवेदीकै अग्रसरमा अहिले ३० रुपैयाँको मूल्यलाई बढाएर ५० रुपैयाँ पुर्याइएको छ ।
विगतमा पनि व्यापारीले विभागका कर्मचारीलाई प्रलोभनमा पारेर पानीको मूल्य बढाएका थिए । तर, त्यो बेला उपभोक्ताकर्मी र संसदको उपभोक्ता समितिले निरन्तर दबाब दिएपछि पानीको बढेको मूल्य घटेको थियो । तर, अहिले उपभोक्ताकर्मी महर्जनसहित विभागका कर्मचारीले मिलेर पानीको मूल्य बढाएका हुन् ।
सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार पत्रकार सम्मेलन गरेर पानीको जारको अधिकतम खुद्रा मूल्य (एमआरपी) ५० र प्रति बोतलको मूल्य १६ रुपैयाँ तोकिदियो । यसले, पानी व्यापारीलाई फाइदा गर्यो । तर, आम उपभोक्ताले भने महँगो पिउने पानी किन्ने पर्ने अवस्था आएको छ ।
यतिमात्र होइन्, विभागले मंगलबार एउटा विज्ञप्तीमार्फत भदौ १० गतेदेखि लागू हुनेगरी जार तथा बोतलबन्द पानीको मूल्य क्रमशः ५० र १६ निर्धारण गरेको जानकारी गरायो । अझ पानी व्यापारीको बचाउँ गर्दै पहिला जारको मूल्य ७० र बोटलको मूल्य २० रुपैयाँ रहेको समेत स्पष्ट पार्यो । तर, खुद्रा मूल्यमै अहिले प्रतिजार ४० रुपैयाँ भन्दा बढिमा कुनै पनि उपभोक्ताले किनेका छैनन् ।
तर, सरकारले जारको अहिलेको मूल्य ५० रुपैयाँसम्म लिन सक्ने गरी निर्णय गरेपछि उपभोक्ता मारमा परेका छन् । विभागले गठन गरेको कार्यदलका सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष पनि प्रतिजारको एमआरपी नबढेको दाबी गरे । ३० रुपैयाँ पर्ने जारको मूल्य ५० रुपैयाँ पुर्याउँदा पनि महर्जनलाई पानीको मूल्य बढेको लाग्न छाडेको छ ।
अहिले उपभोक्ता पाएको जारको मूल्य सरकारले नै बढाएर पानी व्यापारीलाई पोस्न खोजेको राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनको तर्क छ । प्रतिजारको एमआरपी ५० रुपैयाँ सरकारले नै तोकेपछि व्यापारीले स्वतः जारको मूल्य बढाउने र उपभोक्ता ठगिने अवस्था आएको उनको भनाइ छ ।