काठमाडौं । प्रस्तावित ४१७ मेगावाटको नलगाड जलासय आयोजना नयाँ लगानी मोडलमा बनाउने सरकारको तयारी छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नलगाडमा लगानी गर्न नयाँ मोडल प्रस्ताव गरेको छ । जाइकाको प्रस्ताव कार्यान्वयन गर्न नयाँ विद्युत ऐन आवश्यक पर्ने भएको छ ।
जाइकाले नलगाडमा बाँध र विद्युत उत्पादन गरी दुईओटा लगानी मोडलमा बनाउने प्रस्ताव गरेको छ । यसका लागि दुईओटा अनुमतिपत्र (लाइसेन्स) आवश्यक पर्छ ।
जाइकाले प्रस्ताव गरेको सो मोडेलमा जान हालको विद्युत ऐनमा प्रावधान नभएको र प्रस्तावित नयाँ एनेमा व्यवस्था गरिएको ऊर्जासचिव दिनेशकुमार घिमिरे बताउँछन । उनले नलगाडमा जग्गा अधिग्रहण, वातावरणीय प्रभावको अध्ययन र जलासयका लागि बाँध निर्माण गर्न एउटालाई र विद्युतगृह संरचना निर्माण तथा उत्पादनका लागि अर्को लाइसेन्स दिने प्रस्ताव गरेको जानकारी दिए ।
एउटै आयोजनामा दुईओटा लाइसेन्स जारी गर्नुपर्ने देखिएको उनले बताए । “प्रस्तावित नयाँ ऐनले एउटा आयोजनामा दुईओटा लाइसेन्स जारी गर्न पाउने व्यवस्था गरेको छ” सचिव घिमिरेले भने “नयाँ ऐन संघीय संसदबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । मन्त्रालयले नयाँ ऐन पारित गर्न संसदमा दर्ता गरेको छ ।”
नलगाड बनाउन जाइकाले प्रस्ताव गरेको लगानी मोडेल आकर्षक रहेको उनले सुनाए । जग्गा अधिकग्रहण र बाँध संरचनालाई अलग गर्दा आयोजना आर्थिक रुपमा संभाव्य देखिएको सचिव घिमिरेको भनाई छ । बाँध संरचना बनाउन जाइकाले सहुलियत कर्जा दिने भएको छ । यस्तै एसियाली विकास बैंक (एडीबी) बाट पनि सहुलियत कर्जा पाउने छ ।
प्रदेशगत सन्तुलन कायम गर्न सरकारले सो आयोजना निर्माण गर्न लागेको हो । सुरुमा ४१० मेगावाट क्षमतामा निर्माण गर्ने भनिएको आयोजनाको क्षमता ७ मेगावाटले वृद्धि भई ४१७ पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा सहयोग उपलब्ध गराउन जाइकालाई आग्रह गरिसकेको छ ।
हाल आयोजनाको विस्तृत परियोजनना प्रतिवेदन (डीपीआर) तयारीको क्रममा रहेको छ । आयोजनाको जलाशयले माथिल्लो तटीय क्षेत्र ५६९ वर्ग किलोमिटरमा फैलिएको छ भने जम्मा तटीय क्षेत्र तल्लो क्षेत्रसहित ६७७ वर्ग किलोमिटर रहेको छ ।
आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बन डाइअक्साइडको उत्सर्जन हुनबाट ७ लाख १७ हजार टन बचत हुनेछ ।
आयोजना निर्माणका लागि ६ वर्ष ६ महिना लाग्ने अनुमान छ । वातावरणीय प्रभाव मूल्याँकनअनुसार आयोजनामा २१० मिटर अग्लो र ५४५ मिटर चौडाइको जलाशय हुनेछ ।
पानी पूर्णरुपमा भरिँदा ४ अर्ब ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आयोजनाले नलगाड नगरपालिका–५ र ७, बारेकोट गाँउपालिका–१, २,५, ६, ७ र ८ प्रभावित हुनेछ । आयोजना बनाउन डेढ खर्ब रुपैयाँ लाग्ने अनुमन गरिएको छ ।