काठमाडौं । नेपाल टेलिकमले १८ सय ब्यान्डबाट १५ मेगाहर्ज फ्रिक्वेन्सी मार्फत फोरजी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गत शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमलाई थप ५ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय गरेसँगै अब १५ मेगाहर्जबाट फोरजी सेवा दिने गर्ने भएको हो । हालसम्म १८०० ब्यान्डमा १० मेगाहर्जबाट सेवा दिँदै आएको छ ।
टेलिकमसँग १८ सय ब्यान्डमा २० मेगाहर्ज हुँदै छ । हाल १५ मेगाहर्ज छ । १० बाट फोरजी र ५ मेगाहर्ज टु जी मार्फत सेवा दिँदै आएको छ । अब टेलिकमले १५ मेगाहर्ज फ्रिक्वेन्सीबाट फोरजी सेवा दिने जनाएको छ । हाल नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गरिरहेको छ ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले सेवाको स्पिड बढाउन र सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन फोरजी सञ्चालनका लागि थप ५ मेगाहर्ज फ्रिक्वेन्सी थप्ने तयारी भएको जानकारी दिए । ‘मैले फ्रिक्वेन्सी दिने निर्णय भएको भन्ने सुनेको छु, तर, औपचारीकरुपमा मन्त्रालयबाट पत्र आइनसकेकाले प्रक्रिया अघि बढाउन सकिँदैन’ अधिकारीले भने ‘अहिले हामीले १८ सय ब्यान्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी उपभोग गरिरहेका छौं । त्यस मध्ये ५ मेगाहर्ज टु जी सेवाको लागी चलिरहेको छ । बाँकी १० मेगाहर्ज फोरजी सेवाको लागी उपभोग भइरहेको छ ।’
अब नेपाल दूरसञ्चार प्राधिकरणमार्फत उक्त ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध भएपछि फोरजीको स्पिड क्षमतामा सुधार आउनुको साथै सेवाग्राहीले गुणस्तरी सेवा पाउनेमा कुनै दुविधा नभएको उनको भनाई छ । गत केही हप्ता अगाडी विकास तथा प्रविधि समितिमा फोरजीको गुणस्तर तथा सेवा प्रभावकारी नभएको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।
त्यस लगतै टेलिकमले सञ्चार मन्त्रालयलाई फ्रिक्वेन्सी आक्सनमा माग गरेको ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको थियो । गत पुसमा भएको १८ सय व्यान्डको ७५ मेगाहर्जमा बाँकी १६ फ्रिक्वेन्सीमा अक्सनमा एन्सेलले प्रति मेगाहर्ज ५ करोड ८० लाख कबोल गर्दै ९ मेगाहर्ज फ्रिक्वेन्सी आफ्नो हातमा पारेको थियो ।
सोही अक्सनमा टेलिकम आफुले ५ मेगाहर्ज फ्रिक्वेसी पाउनुपर्ने दाबी गर्दै आएको थियो । अब नेपाल टेलिकमले पाएको ५ मेगाहर्ज फ्रिक्वेन्सी पनि अक्सनले तोकेको आधार मूल्य अनुसारनै दूरसञ्चार प्राधिकरणबाट फ्रिक्वेन्सी लिने छ । रेडियो फ्रिक्वेन्सी नीति अनुसार एउटा व्यान्डमा प्रत्यक सेवाप्रदायकले २० मेगाहर्ज भन्दा बढी फ्रिक्वेन्सी लिन नपाउने व्यवस्था छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई फ्रिक्वेन्सी दिने निर्णयलाई सहजीकरण गरी टेलिकमलाई उक्त फ्रिक्वेन्सी उपलब्ध गराउने बताए । हाल टेलिकमले १८ सय र आठ सय व्यान्डको फ्रिक्वेन्सी मार्फत फोरजी सेवा दिइरहेको छ । आठसय व्यान्डमा भने १० मेगाहर्ज फ्रिक्वेन्सी मार्फत सेवा दिँदै आएको छ ।