काठमाडौं । सवारीसाधनको कुम्भमेला मानिने नाडा अटो सो २०७७ नहुने भएको छ । दशैंअघि अर्थात प्रायः भदौमा हुँदै आएको नाडा अटो शो कोरोना भाइरस संक्रमण जोखिमको कारण यो पटक रोकिएको हो ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको सङ्ख्या ह्वात्तै बढेपछि अटो शो गर्न नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनपछि हटेको छ । बर्षैपिच्छे काठमाडौको भृकुटीमण्डपमा करिब एक साता सवारी साधन प्रदर्शन र बिक्रि हुँदै आएको थियो । शो ले अटोको व्यापार बढाउँदै आएको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यसपालिको नाडा अटो शो नहुने बताए । ‘जोखिम बढ्दै छ, यस्तो बेलामा अटो शो आयोजना गर्नु जोखिम झनै बढाउनु मात्र हो’ दुलालले भने । यदि कोरोना भाइरस जोखिम कम हुँदै गए वा सामान्य अवस्था भयो भने माघ –फागुनतिर नाडा अटो शो हुने सक्ने उनले बताए ।
अटो शोमा ५० भन्दा बढी ब्रान्डका चार पाँग्रे गाडी तथा मोटरसाइकल प्रदर्शन हुँदै आएका छन् । बिशेषगरी अटो शो टाटा, फोर्ड, होन्डा, हुन्डाई, महिन्द्रा, निसान, टोयोटा, सुजुकी, लगायतका चर्चित ब्रान्डका चारपाङ्रे गाडी र बजाज, बेला, हिरो, होन्डा, टिभीएस् लगायत ब्रान्डका दुई पाङ्ग्रे सवारी प्रदर्शन र शोकेस हुँदै आएका छन् । त्यस्तै अशोक लेल्यान्ड, एस्कर्टस्, महिन्द्रा लगायत ब्रान्डका हेबी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिदै आएका थिए ।
यसअघि नाडा अटोसोमा ७४ वटा संस्थाका १५० भन्दा बढी स्टल रहेको थियो । नाडा अटो शोमा बिश्व बजारमा नाम चलेका तथा बिशेषगरी भारतीय बजारमा सार्वजनिक भएका नयाँनयाँ ब्रान्डका गाडी तथा बाइक सार्वजनिक हुँने गरेका छन् ।
यदि कोरोना भाइरसको जोखिम हूँदैनथ्यो भने यतिवेला नाडाले आटो शोका लागि पूर्वतयारी थालिसक्थो । तर, कारोना भाइरस जोखिमकै कारण सवारीसाधनको बृहत मेला रोक्नुपर्ने बाध्यता रहेको नाडाका अधिकारीहरुको भनाई छ ।