काठमाडौं । टर्किस एयरलाइन्सका नेपालका महाप्रबन्धक अब्दुल्ला टुयुन्सर क्यासीसीले सरकारको १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियमको उल्लघंन गरेका छन् ।
विदेशबाट आएपछि अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले नियम बनाए पनि महाप्रबन्धक अब्दुल्लाले नेपाल आएकै भोलिपल्टबाट भेटघाटलाई तिब्र बनाएका छन् । उनी साउन २४ गते (बिहीबार) काठमाडौं आइपुगेका थिए ।
उनी आएलगत्तै नेपालस्थित टर्किस एयरलाइन्सका सबै कर्मचारीलाई भेटेका थिए । त्यसलगत्तै विभिन्न ट्राभल कम्पनीका सञ्चालकलाई भेटेका उनले आएको भोलीपल्ट एक होटलमा आफ्नो जन्मदिन मनाएका थिए ।
सरकारले यसअघि विदेशबाट आउने नेपाली नागरिकहरुलाई पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्दै आएको छ । क्वारेन्टाइनका लागि होटल वा आफ्नै घरमा बस्न सक्ने व्यवस्था गरेको थियो । टर्किसका नेपालका महाप्रबन्धक अब्दुल्लाले भने खुलेआम रुपमा नेपालको ऐन कानुनलाई नमानेको देखिन्छ ।
पर्यटन मन्त्रालयका एक सहसचिवले सरकारको नियम नमान्ने जोकोहीलाई पनि कारवाही हुने बताए । ‘हामीलेलाई पनि विदेशबाट आएलगत्तै क्वारेन्टाइनमा नबसी सार्वजनिक रुपमा घुमफिर गरेको तस्विर आएको छ,’ यस विषयमा हामीलाई सम्बन्धितलाई बुझ्छौं, ती सहसचिवले क्यापिटल नेपाललाई भने । उहाँले पिसिआर परीक्षण गरेर आएको हो, होइन ? आएपछि किन क्वारेनटाइनमा नबसेको विषयमा सोधपुछ हुने उनले बताए ।
सार्वजनिक भएको एक तस्बिरमा उनले भौतिक दुरी कायम गरि मास्क प्रयोग गरेर केक काटेको देखिन्छ । एयरलाइन्सका महाप्रबन्धक क्यासीसीले आफुले कडाईका साथ नियम मानेको बताए । ‘म होटलकै सेल्फ आइशोलेशनमा रहेको छु, मैले पिसिआर परिक्षण पनि गरे मेरो नतिजा नेगेटिभ आएको छ,’ उनले भने ।