बीबीसी । दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक दुर्घटनामा पर्दा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु पुष्टि भएको छ।
संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रबार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको अधिकारीहरूले बताएका छन्। विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए।
उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन्। दक्षिण भारतको केरलामा दुबईबाट आएको यात्रुवाहक विमान दुर्घटना
भारतीय समाचारसंस्था पीटीआईका शनिबार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो। स्थानीय अधिकारीहरूका अनुसार सबै मृतको सनाखत भइसकेको छ।
दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो। वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९ः४० मा दुर्घटना भएको थियो।
भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएकोू उल्लेख गरेका छन्।
उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए।
विमानमा को थिए ?
कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमान चढेर स्वदेश फर्किँदै थिए। विमानमा सवार यात्रुमध्ये १० जना शिशु थिए।
दुर्घटनास्थलमा उद्धार कार्य सकिएको र घाइतेहरूलाई क्यालिकट तथा मलापुरमस्थित अस्पतालहरूमा पुर्याइएको केरलाका मुख्यमन्त्री पिनारयी विजयनले बताए।
एक वरिष्ठ प्रहरी अधिकारीले दर्जनौँ मानिस घाइते भएको र तीमध्ये १५ जना गम्भीर रहेको बताए। एअर इन्डिया एक्सप्रेसले ज्यान गुमाउनेमध्ये दुई जना आफ्ना दुई विमानचालक भएको पुष्टि गरेको छ।