काठमाडौं । सरकारले पूँजीगत खर्च हुन नसकेको वचत रकम विद्युत्तीय बस खरिद गर्न साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैयाँ निकासा गरेको छ । सरकारले थप लगानी गरेपछि साझा यातायातलाई ३०० ओटा विद्युत्तीय बस खरिद गर्न बाटो खुलेको हो ।
आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते सरकारले वचत भएको बजेटबाट सरकारले ३०० ओटा विद्युत्तीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ सिधैं साझा यातायातको खातामा रकमान्तर गरेको हो । साझा यातायातमार्फत विद्युत्तीय बस खरिद गरी आगामी असोजसम्म सञ्चालन गर्ने सरकारको योजना छ ।
गत आर्थिक बर्षमा ३ अर्ब १३ करोड ९९ लाख ८२ हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन भएको थियो । ३ अर्ब रुपैयाँ पूँजीगत बजेटको करिव १ प्रतिशत रकम हो । यो खर्चले सरकारको पूँजीगत खर्चमा १ प्रतिशत वृद्धि हुन्छ ।
सरकारले संशोधित बजेट अनुसार गत आवमा २ खर्ब ७२ अर्ब ७६ करोड ८५ लाख खर्च गर्ने अनुमान गरेको थियो । त्यस आधारमा १.१ प्रतिशत पूँजीगत खर्च हुन आउँछ ।
यातायाततर्फ घाटाको सहकारीमा सरकारको सेयर लगानी
साझा यातायात आव २०७४/०७५ को वासलात अनुसार २० करोड २० लाख रुपैयाँ संचित नाफामा छ । तर, सो अवधिको नाफा नोक्सान हिसावअनुसार आयकरपछि १ करोड ७८ लाख ८७ हजार रुपैयाँ घाटामा छ । त्यसकारण संस्थाको वित्तीय क्षमतामा सुधार हुन सकेको छैन् ।
कमजोर वित्तीय अवस्था भएको संस्थालाई सरकारले मोटो रकम विकास बजेटबाट रकमान्तर गरी साझालाई निकासा गरेको हो । नाफा नोक्सान हिसावमा २०७३/०७४ मा १ करोड ८२ लाख ६५ हजार रुपैयाँले संस्था घाटामा छ । जुन, उक्त वासलातको एक बर्षमा ४ लाख रुपैयाँ हाराहारीमा मात्रै वित्तीय सुधार भएको देखिन्छ ।
यातायात सञ्चालनतर्फ कमजोर वित्तीय अवस्था रहेकाले पनि साझालाई ३०० विद्युत्तीय बस खरिदपछि सञ्चालनमा चुनौती हुने देखिन्छ । केही घाटा रहेपनि संस्थाले ३०० विद्युत्तीय बस खरिद र सञ्चालनमा कुनै बाधा नहुने संस्थाका अध्यक्ष कनकमणि दिक्षितले बताए ।
‘संस्था त्यति ठूलो घाटामा छैन्’ उनले भने, ‘हामी सार्वजनिक यातायातको निर्देशन पालना गर्नुपर्छ । केही हदसम्म व्यवस्थापन पक्षको कमजोरी होला । त्यो बाहेक बढी उमेरका यात्रुलाई पूर्ण छुट, ५ बर्ष मुनिका बालबालिका, क र ख वर्गका अशक्तलाइ पूर्ण छुट । विद्यार्थी र ६० बर्ष पुरा भएका जेष्ठ नागरिकलाई १० रुपैयाँ मात्र टिकट लिन्छौं ।’
अहिल साझा यातायातका ७१ ओटा बस सञ्चालनमा छन् । दैनिक २० हजार यात्रुहरु साझामै यात्रा गर्ने गरेको संस्थाले जनाएको छ ।
साझा यातायात सरकारको ९९ प्रतिशत सेयर लगानी भएको संस्था हो ।
संस्थाको नाममा सरकारको २५ करोड ३ लाख २४ हजार ४०० रुपैयाँ सेयरमा परिणत गरी ६३ ओटा सरकारी निकायमार्फत ६१ प्रतिशत, काठमाडौं महानगरपालिका ३५ प्रतिशत, ललितपुर महानगरपालिका २.३३ प्रतिशत, गोदावरी नगरपालिका ०.२३ प्रतिशत, महालक्ष्मी नगरपालिका ०.२६ प्रतिशत र १५४ सर्वसाधारण व्यक्तिको ०.७६ प्रतिशत सेयर लगानी छ । प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै साझा यातायात अघि बढ्ने योजनामा छ ।